पक्राउ पुर्जीपछि रवि : ‘तिम्रो हातमा तस्करले दिएको करोडको घडी, मेरो हातमा हतकडी ?’

लोकपथ
231
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू विरुद्ध पक्राउ पुर्जी जारी भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रतिक्रिया दिएका छन् । शुक्रवार लामिछानेले फेसबुकमा स्ट्याटस पोस्ट गर्दै ओलीविरुद्ध आक्रामक प्रतिक्रिया दिएका हुन् ।

रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेले मीन बहादुर गुरुङ जोडिएको भाटभटेनीको विषयलाई मोड्न आफूलाई पक्राउ गर्न खोजिएको प्रतिक्रिया दिएका हुन् ।

त्यसै गरी लामिछानेले आफूले कानुनको पालना गर्ने बताएका छन् भने यही कारण सरकारको दिन गन्ती सुरु भएको बताएका छन् ।

हेर्नुहोस्, रविको प्रतिक्रिया :


तपाईँको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहिँ हतकडी ??


तपाई बिचौलियाको सेवा गरे बापत लाखौँको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपी दिनुपर्ने ?


तपाई प्रमाणित भ्रष्टाचारी बाट करोडौँको जग्गा खुल्लम खुल्ला लिने, मैले ठगीको आरोप खेपी दिनुपर्ने ?


तिमीहरू राज्यका भए भरको शक्ति लगाएर अनुसन्धान गर्दा पनि केही भेट्दैनौ अनि तिम्रो एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चढ्नु पर्ने ?


तिमी र तिम्रा नेता मिलेर सहकारीबाट ८७ अर्ब अपचलन गर्ने, मैले सहकारी ठग भइदिनु पर्ने ?


यति गरेपछि भाटभटेनीको इस्यु मोड्न पनि पाइयो । प्रमाण छ भन्ने युवा नेतालाई पनि भागेर हिँड्न परेन । तर म कहिले भागेर हिँडिन र हिँड्दिन पनि । ओली जी, भ्रष्टाचारी समाउन मैले प्रधानमन्त्रीको अफर लत्त्याए, तिनै भ्रष्टाचारी जोगाउन तपाईँले त्यही अफर रातारात बिचौलियालाई साक्षी राखेर लिनुभयो । वाचा स्वरूप तपाईँले मेरो बली चढाउने सम्झौता त्यसै रात गर्नु भएको थियो । यो मलाई राम्रो सँग थाहा छ । तपाईँको मन्त्रीमण्डल त्यसको साक्षात् प्रमाण हो । तपाईँहरूका दलका नेता/कार्यकर्ता प्रमाणित सहकारी ठग हुन् । कोही जेलमा छन् कोही फरार छन् । तपाईँहरू तिनलाई जोगाउन लागि पर्नु भएको छ । अब तपाईँहरूबाट पीडितले न्याय पाउँदैनन् । त्यसैले अब सहकारी पीडितको आवाजको नेतृत्व हामी गर्छौँ ।


ठिक छ, म तपाईँहरूको दिन गन्ती सुरु भएको खुसीयालीमा कानुनलाई पुरै सघाउने प्रतिबद्धता व्यक्त गर्दछु ।


नयाँ पुस्तालाई एक एक गर्दै सक्काउँदै जाने तिमीहरूको कु नियतले तिमीहरूलाई चाँडै रसातलमा पुर्‍याएको यो देशले चाँडै देख्ने छ । सुरुवात तिमीहरूले गर्‍यौ, अन्त्य हामी गर्नेछौ, नेपाली जनताले गर्नेछन्, छिट्टै गर्नेछन् ।


अहिलेलाई, सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो । तर मलाई न्यायालयप्रति आशा र न्याय प्रेमी जनताप्रति भरोसा छ । प्रिय रास्वपा परिवारका साथीहरू, शिर ठाडो राख्नु होला । तपाईँको सभापतिले कसैलाई ठगेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?