गगनलाई मनिषको चुनौती– ‘तपाईँको दलमा कुनै ठग छैन भन्ने आँट छ ?

लोकपथ
287
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाविरुद्ध आक्रोशित बनेका छन् ।

पोखरामा रास्वपाले आयोजना गरेको विरोध प्रदर्शनमा सम्बोधन गर्दै रास्वपा सहप्रवक्ता समेत रहेका झाले आफ्नो दलमा कुनै पनि व्यक्ति ठग नभएको दाबी गरे । साथै आफूहरुले आफ्नो दलमा कुनै पनि ठग नरहेको दाबी गर्दैगर्दा कांग्रेस महामन्त्री थापालाई कांग्रेसमा कुनै ठग छैन भनेर भन्न सक्ने आँट छ भन्दै प्रश्न गरे ।

‘यो देशमा कोही राजनीतिक दल छ जसले छाती ठोकेर भन्न सक्छ, मेरो दलमा, मेरो पार्टीमा यो राज्यको सम्पत्ति, करदाताको पैसा दोहन नगरेको एकजना पनि छ भनेर भन्न सक्छ ? नेपाली कांग्रेसको महामन्त्री गगन थापाले छाती ठोकेर भन्न सक्छ ? कि त्यो पार्टीमा, नेपाली कांग्रेसमा यो देशको सम्पत्ति दोहन नगरेको यो देशको करदाताको पैसा नखाएको कोही पनि छैन भनेर छाती ठोक्न सक्छ ? म ठोक्न सक्छु, मेरो पार्टीमा एक जना पनि छैन,’ उनले भने ।

सहकारी ठगी प्रकरणमा प्रहरीले पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरेसँगै रास्वपाले आज पोखरामा विरोध प्रदर्शन गरेको हो ।

विरोध प्रदर्शनलाई सम्बोधन गर्दै उनले बल्ल आफूहरुले राजनीति गर्ने बाटोमा आएको बताए । त्यस्तै अन्य दलहरुले जस्तै आफूहरुले पनि मन्त्री पदसँग विभिन्न काण्डहरु साट्न सक्ने तर आफूहरुले त्यसो नगर्दा पार्टी सभापतिमाथि धरपकड गरिएको आरोप लगाए ।

‘अब देखाउँछौँ यो देशमा राजनीतिक कस्तो हुन्छ, उनले थपे, ‘हामीले चाहेको भए उनीहरुसँग सम्झौता गर्न सक्थ्यौँ । उनीहरुले भनेको जस्तो मन्त्रालय लिएर बस्न सक्थ्यौँ, तर हामीले त्यसो गरेनौँ ।’

त्यस्तै गत निर्वाचनमा आफू अबको प्रधानमन्त्री बन्ने भन्दै भोट मागे पनि निर्वाचनपछि शेरबहादुर देउवालाई गगनले बोकेरे हिँडेको भन्दै कटाक्ष गरे ।

‘अस्ति भर्खर शेरबहादुर देउवाको पालो सकियो, भनेर भोट मागेको होइन ? अहिले साढे २ वर्षको प्रधानमन्त्री शेरबहादुर हो भन्ने ? त्यो ठगी होइन?,’ उनले भने ।

त्यस्तै आफूहरु पार्टी सभापति लामिछानेका लागि मर्न समेत तयार रहेको समेत उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?