अब ट्रायल पास गरेपछि लाइसेन्स कार्ड बोक्नु नपर्ने, तत्काल ट्राफिक जरिवाना तिर्न सकिने

लोकपथ
805
Shares

काठमाडौं । अब सवारी चालक अनुमतिको लागि ट्रायल पास गरेपछि लाइसेन्स कार्ड आवश्यक नपर्ने भएको छ ।

नागरिक एपमार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा नै लाइसेन्स उपलब्ध हुनेछ ।

ट्राफिक प्रहरीले तयार पारेको एक भिडियो सामग्री सेयर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सो कुरा जानकारी दिएका हुन् ।

त्यस्तै सवारी नियम उल्लंघनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै डिजिटल पेमेन्ट गर्ने व्यवस्था समेत गरिएको छ ।

जसले गर्दा सवारी लाइसेन्स छपाइ नहुँदा परेको समस्या अन्त्य भएको छ भने सवारी नियम उल्लंघनमा जरिवाना तिर्दा हुने झन्झट हटेको प्रधानमन्त्री ओलीले बताएका छन् ।

प्रधानमन्त्री ओलीका अनुसार अब भोलिदेखि नै बागमती प्रदेश यातायात व्यवस्था कार्यलयबाट परीक्षणका रूपमा यो व्यवस्था सुरु हुने छ ।

ओलीले सामाजिक सञ्जालमा भनेका छन् :

सवारी चालक अनुमतिको लागि ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था गरिएको छ। नागरिक एप मार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने छ। सवारी नियम उल्लंघनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै डिजिटल पेमेन्ट गर्ने व्यवस्था गरिएको छ। यसले सवारी लाइसेन्स छपाइ नहुँदा परेको समस्या अन्त्य भएको छ भने सवारी नियम उल्लंघनमा जरिवाना तिर्दा हुने झन्झट हटेको छ। भोलिदेखि बागमती प्रदेश यातायात व्यवस्था कार्यलयबाट परीक्षणका रूपमा यो व्यवस्था सुरु हुने छ । नागरिक एपमा अरु सेवा पनि थप्ने तयारी गरिएको छ। कुनै पनि कामको लागि लाइन बस्नु पर्ने समस्याबाट मुक्त गर्ने तयारीमा हामी लागेका छौं। राज्यले नागरिकलाई छिटो सेवा प्रवाहमा यसले सहयोग पुग्नेछ भन्ने हामीले आशा राखेका छौँ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?