ताप्लेजुङ । ताप्लेजुङको ग्राम्रीण क्षेत्रमा रेड पाण्डा संरक्षण गर्न कुकुर र बिरालोलाई बन्ध्याकरणअभियान थाएिको छ ।
रेडपाण्डा नेटवर्कको सहयोगमा हिमाली संरक्षण मञ्चले विगत ७ वर्षदेखि अभियानलाई निरन्तरता दिँदै आएको हो ।
रेडपाण्डा पाइने विभिन्न बस्तीमा रहेका कुकुर र बिरालोलाई बन्ध्याकरण गर्नुका साथै रेविजविरुद्ध खोप दिएर रेडपाण्डा संरक्षणको अभियान सुरु गरेको हिमाली संरक्षण मञ्चका सचिव विविश केदमले जानकारी दिए।
उनका अनुसार अभियानले रेडपाण्डाका लागि सुरक्षित वातावरण सिर्जना गर्न, सङ्क्रमण र हिंस्रक आक्रमणबाट रेडपाण्डालाई जोगाउन विशेष प्रयास गरिरहेको छ ।
रेडपाण्डा पाइने क्षेत्रका ग्रामीण समुदायमा पशु स्वास्थ्य र जनावर व्यवस्थापनका गतिविधिलाई प्राथमिकता दिइँदै आएको छ ।
फुङलिङ नगरपालिकाको फावाखोला, फुरुम्बू, काफ्लेपाटी, माथिल्लो फेदी, हाङदेवा र पाथीभरा याङवरक गाउँपालिकाको तिरिङगे, सिरिजङ्गाउँपालिकाको सिकैचा क्षेत्रका बस्तीमा बन्धाकरण साथै रेविजभ्याक्सिन कार्यक्रम सञ्चालन गरिएको मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए ।
उनका अनुसार, यस कार्यममा करिब तीन सय ६८ कुकुर र बिरालोलाई रेविजविरुद्ध खोप दिइएको छ । यसका अतिरिक्त, जनावरको स्वास्थ्यका लागि भिटामिन, लुतोको औषधि, र जुम्राको औषधि पनि वितरण गरिएको छ ।कुकुर र बिरालोलाई रेविजविरुद्धको खोप लगाएपछि, रेडपाण्डासँग प्रत्यक्ष सम्पर्कमा आउँदा सम्भावित सङ्क्रमणबाट जोगाउन सकिने भएकाले विगत लामो समयदेखि कार्यक्रमलाई निरन्तरता दिँदै आएको मञ्चले जनाएको छ ।
मञ्चका सदस्य भिङमारे लिम्बूकाअनुसार यही कात्तिक अन्तिम सातादेखि मङसिर पहिलो सातासम्ममा फुरुम्बु क्षेत्रका बस्तीमा रहेका कुकुरका लागि बन्ध्याकरण शिविर सञ्चालन गर्ने योजना पनि बनाएको छ । कुकुरको सङ्ख्या व्यवस्थापन स्वस्थ राख्न कार्यक्रम गर्न लागेको उनले बताए ।
बन्ध्याकरण कार्यक्रममार्फत कुकुरको सङ्ख्यालाई सन्तुलनमा राख्न सम्भव हुनेछ, जसले वातावरणमा थप सुरक्षा प्रदान गर्न मद्दत पु¥याउने मञ्चले जनाएको छ ।
मञ्चकाअनुसार ताप्लेजुङको ग्राम्रीण क्षेत्रमा रेड पाण्डा वासस्थान र चरीचर क्षेत्र पर्दछ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ –९, १० र ११ वडा अर्थ पाथीभरा क्षेत्र रेडपाण्डाको बासस्थान पर्दछ । यस क्षेत्रमा समय समयमा पाथीभरा दर्शन गर्न जाने तीर्थयात्रीले रेडपाण्डा देख्ने गरेका छन् ।
केहीवर्ष अघि पाथीभरा क्षेत्रमा रेडपाण्डा मरेको अवस्थामा फेला परेको थियो । अनुसन्धानका आधारमा प्रारम्भिक निष्कर्षमा रेडपाण्डाको मृत्युपछि सम्भवतःकुनै हिंस्रक जनावर, जस्तै कुकुरको आक्रमणले गर्दा मरेको निष्कर्ष भयो । यसले हिमाली संरक्षण मञ्चलाई झनै सचेत बनाएको कार्यक्रम संयोजक राईले बताए । रेडपाण्डाको प्रत्यक्ष सम्पर्कमा पुग्न सक्ने कुकुर र बिरालोलाई रेविज विरुद्धको भ्याक्सिन दिने अभियानलाई निरन्तरता दिन थालिएको मञ्चले जनाएको छ ।
रेडपाण्डाको आवासीय क्षेत्रमा कुकुर र बिरालोका कारण सुरक्षा चुनौती सिर्जना भएकाले यो समस्या समाधान गर्न मञ्चले स्थानीय समुदायको सहयोगमा काम गरिरहेको छ । समुदायमा जनचेतना फैलाउने कार्यक्रम सञ्चालन गर्दै, स्थानीयलाई रेडपाण्डा संरक्षणको महत्व र यसका चुनौतीबारे अवगत गराउँदै आएको राईले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया