काठमाडौं । हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले पशुपति क्षेत्रमा भइरहेको विकृतिबारे संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको ध्यानाकर्षण गराएको छ ।
अभियानले आज विज्ञप्ति जारी गर्दै हिन्दूहरुको आस्थाको केन्द्र पशुपतिमा विकृती र धर्म विरोधी क्रियाकलाप गरेर पशुपति गौशाला धर्मशालालाई विघटन गराउने प्रयास सनातन धर्मलाई कमजोर बनाउने योजना रहेका भन्दै सरकारको ध्यानाकर्षण गराएको हो ।
अभियानले पर्यटनमन्त्री पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाउँदै अदालतमा प्रवेश गरेको विवादलाई अदालतबाट अन्तिम निर्णय नपर्खि काठमाडौं महानगरपालिकासँग सम्झौता गर्नु हिन्दू धर्म, संस्कृति र परम्परामाथि प्रहार भएको समेत ठहर गरेको छ ।
‘पशुपति क्षेत्र विकास कोषका विकृति र धर्म विरोधी क्रियाकलापका बीचमा पशुपति गौशाला धर्मशालालाई विघटन गराउने प्रयास सनातन धर्मलाई कमजोर गराउने योजना कै निरन्तरता देखिन्छ । वि सं १९९७ बाट गौ–सेवा सञ्चालन गर्दै सनातन धर्मको सेवा गर्ने गौशाला पशुपतिनाथ कै अभिन्न अंग झैँ हुन पुगेको देखिन्छ । अदालतमा प्रवेश गरेको विवादलाई सम्मानित अदालतबाट अन्तिम निर्णय नपर्खि काठमाडौं महानगरपालिकासँग सम्झौता गर्नु हिन्दू धर्म, संस्कृति र परम्परामाथि प्रहार हो भन्न सकिन्छ । अप्राकृतिक ढङ्गबाट महानगरपालिका र कोष बीचको सम्झौताले कानुनको उल्लंघनका साथै पशुपति क्षेत्रका भक्तजनहरूमा त्रासपूर्ण वातावरण उत्पन्न हुन गइ शान्ति सुरक्षालाई आघात पुग्न गएको छ,’ ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
विश्वभरीबाट आउने हिन्दू श्रद्धालुहरूको बसोबास र भोजनको व्यवस्थापन सँगै गौशालामा गौपालन हुँदै गरेको र झण्डै एकसय जना मृगौला रोगीको निःशुल्क डायलाइसिस भइरहेको अवस्थामा उक्त भवनलाई प्रचलित कानून तथा विभिन्न समयमा भएको सम्झौता विपरीत महानगरपालिकालाई संचालनको जिम्मा दिएकोप्रति अभियानले चिन्ता र चासो व्यक्त गरेको छ ।
पशुपति क्षेत्र विकास कोषले पशुपति गौशाला धर्मशालाको संचालनमा मारवाडी सेवा समितिबाट खोसिएकोप्रति विभिन्न संघसंस्थाले विरोध जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया