काठमाडौं । मुगुको रारा ताल क्षेत्रमा जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२९) को पूर्वतयारी र जलवायु परिवर्तनले कर्णालीमा पारेको असरका सम्बन्धमा दुईदिने कार्यशाला सम्पन्न भएको छ ।
वन तथा वातावरण मन्त्रालय र जलवायु परिवर्तनका क्षेत्रमा काम गर्दै आएको संस्थाको संयुक्त आयोजनामा भएको कार्यशाला पाँचबुँदे घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको हो ।
कार्यक्रममा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालले केही गल्ती नै नगरी अन्याय भोग्नु परेकाले क्षतिपूर्तिका लागि नेपाल सरकारले अन्तर्राष्ट्रिय मञ्चहरुमा आवाज उठाउने बताए । उनले संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनमा जलवायु कोषको रकम क्षतिपूर्तिस्वरुप पाउनका लागि आवश्यक गृहकार्य भइरहेको जानकारी दिए ।
मन्त्री शाहीले जलवायु न्यायका क्षेत्रमा कम बजेट विनियोजन गरिएकाले आगामी आर्थिक वर्षको बजेट निर्माण गर्दा यस विषयमा ध्यान दिइने बताए । जलवायु परिवर्तनको असरले कर्णालीका जनतालाई परेको असरसहित कर्णालीको अवाजलाई यस पटक कोप–२९ मा पुर्याउने उनले प्रतिबद्धता जनाए ।
साथै अध्यक्ष प्रजिता कार्कीले राराको सुन्दरता, छायाँनाथ हिमाललगायतको हिमालको आकर्षण जलवायु परिवर्तनले घट्दै गएकोप्रति चिन्ता व्यक्त गरे । कर्णालीमा जनजीवन, जलवायु परिवर्तनले पारेको असर बुझ्न र कर्णालीका आवाज विश्वमाझ पुर्याउनका लागि पहल गर्न आएको उनले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया