काठमाडौं । पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानको बयान सुरु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकृत र सरकारी वकिलले उनीसँग बयान सुरु गरेका हुन् ।
गत कार्तिक २ गते शुक्रबार काठमाडौंको बनस्थलीबाट पक्राउ परेका लामिछानेलाई आइतबार जिल्ला अदालत कास्कीले ६ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।
त्यसो त ३ दिन पहिले नै हिरासतमै रहेका कारण ३ दिनमात्रै उनीमाथि अनुसन्धान हुनेछ भने थप अनुसन्धानका लागि अदालतले थप अनुमति दिनुपर्नेछ ।
सहकारी ठगी प्रकरणमा लामिछाने पक्राउ परेसँगै त्यसको विरोधमा रास्वपाका नेता कार्यकर्ताहरुले पोखरा केन्द्रित आन्दोलन गरिरहेका छन् ।
शनिबारदेखि सुरु भएको आन्दोलन आज पनि जारी रहेको छ । लामिछानेको बयान चलिरहँदा पोखराको पृथ्वीचोकमा रास्वपा समर्थकहरुले आन्दोलन गरिरहेका हुन् ।
पोखराको सूर्यदर्शन सहकारीको करोडौँ रकम गोरखा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेर पोखरा पुर्याएको हो । उनीमाथि सहकारी ठगी र संगठित अपराधमा मुद्दा चलाउने तयारी समेत गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया