रोटरीले सातै प्रदेशमा पोलियोविरुद्धको अभियान चलाउने

लोकपथ
28
Shares

काठमाडौं । रोटरीले अक्टोबर २४ का दिन उपत्यकासहित सातै प्रदेशमा ‘इन्ड् पोलियो नाउ’ विशेष अभियान सञ्चालन गर्ने भएको छ । 

सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै रोटरीले वार्षिक रूपमा अक्टोबर २४ लाई पोलियो दिवसका रूपमा मनाउँदै विश्वव्यापी रूपमा जनचेतना फैलाउन विभिन्न गतिविधिहरू गर्दै आइरहेको र यसवर्ष पनि गर्ने जानकारी गराएका छन् । 

सोही दिन बिहान साढे ६ बजे ललितपुरको जावलाखेनबाट बृहत् साइकल र्‍याली पनि हुने छ । र्‍यालीको उद्घाटन स्वास्थ्य तथा जनसंख्यामन्त्रीले गर्नेछन् । 

यसैगरी, देशका विभिन्न सहरहरूमा समेत जनचेतनामूलक कार्यक्रम आयोजना गरिने र साँझ धरहरा लगायत अन्य सहरका टावर तथा व्यापारिक भवन मा ‘इन्ड् पोलियो नाउ’ (END POLIO NOW) लेखिएको आकर्षक सन्देश प्रदर्शनी गर्ने कार्यक्रम तय भएको पनि रोटरीले जानकारी दिएको छ । 

पोलियो भाइरसबाट बच्नको लागि पाँच वर्ष मुनीका सबै बालबालिकालाई नछुटाई पोलियो विरुद्धको खोप लगाउन अति जरुरी रहेको भन्दै यस कार्यका लागि रोटरी नेपालले नेपाल सरकारसँग नजिक रहेर काम गर्दै आइरहेको र आगामी दिनमा समेतसँगै काम गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ । 

रोटरी इन्टरनेशनल संसारको सबैभन्दा पुरानो सेवामूलक सामाजिक संस्था हो । सन् १९०५ मा अमेरिकाको सिकागो सहरबाट सुरु भएको यो संस्थामा संसारभरका २०८ मुलुकहरूमा ४६ हजार भन्दा बढी रोटरी क्लबहरू ५३८ वटा डिष्ट्रिक्ट अन्तरगत आबद्ध छन् भने १२ लाख भन्दा बढी सदस्यहरू रोटरी सेवामा सक्रिय रहेका छन् ।

नेपालमा रोटरीको अभियान सन् १९५९ मा सुरु भएको हो र सन् २००८ जुलाई महिनादेखि नेपालमा छुट्टै रोटरी डिष्ट्रिक्ट ३२९२ को स्थापना भएको हो । हाल नेपालमा १६१ वटा रोटरी क्लबहरूले स्थानीय स्तरसँगै राष्ट्रिय स्तरमा समेत विभिन्न सेवामूलक कार्यहरू गर्दै आएका छन् ।

रोटरीले पोलियो उन्मुलन अभियानसहित सात वटा क्षेत्रमा आफ्ना सामाजिक सेवालाई केन्द्रित गर्दै आइरहेको छ । त्यसमध्ये एक महत्त्वपूर्ण क्षेत्र स्वास्थ्य क्षेत्रमा पनि पोलियो एक विशेष क्षेत्र हो । रोटरी भन्ने बित्तिकै पोलियो सँग यसको नाम जोडिन्छ । विश्वबाट नै पोलियो भाइरस उन्मुलन गर्न रोटरीले सुरुवाती समयदेखि नै प्रभावकारी रूपमा काम गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?