काठमाडौं । फ्लोरिकल्चर एशोसिएशन नेपालले १७औँ संस्करणको गोदावरी फूलको प्रदर्शनीको आयोजना गर्ने भएको छ ।
सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै फ्यानले ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराको साथ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक ८ देखि ११ गतेसम्म जावलाखेलको खेल मैदान, ललितपुरमा सञ्चालन गर्न लागेका हो ।
प्रदर्शनीमा व्यावसायिक स्टल ६८, प्रतियोगितात्मक स्टल २, अफिसियल स्टल ४ र फोटो पारखीहरूका लागि सेल्फी स्टल एकगरी जम्मा ७५ वटा प्रदर्शनी कक्षहरू रहने छन् ।
प्रदर्शनी गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी समेत रहेकोले गोदावरी फूलको विविध विधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिने कार्यक्रमलाई पनि निरन्तरता दिइने छ ।
प्रदर्शनीमा सहभागी नर्सरी/फर्महरूले उत्पादन गरेको गोदावरी फूलको पाँच वटा प्रजातिमा प्रतिस्पर्धा गराइने छ । प्रतिस्पर्धा हुने गोदावरीको प्रजातिहरूमा मिनियचर, स्पाईडर, रिफ्लेक्स, ईन्कर्भ र गोदावरीको कट फ्लावर प्रजाति रहने छ ।
साथै मेलामा सहभागी भएको नर्सरी व्यवसायीहरूलाई उत्साह थप्नका लागि उत्कृष्ट स्टलतर्फ पनि प्रतिस्पर्धा गराइने छ । प्रतिस्पर्धामा प्रथम, दोस्रो, तेस्रो तथा विधागत उत्कृष्ट हुने नर्सरी/फर्मलाई सिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने छ ।
यस मेलामा नेपालमा व्यावसायिक रूपमा उत्पादन हुँदै आएको विविध जातका गोदावरी फूल बिरुवाहरूको साथै यस वर्ष भित्रिएका गोदावरी फूलको केही नयाँ प्रजातिका फूल बिरुवाहरूको समेत प्रदर्शनी तथा बिक्री वितरण हुनेछन् ।
साथै यस सिजनमा फूल्ने सयपत्री, मखमली तथा अन्य सिजनल फूल बिरुवाहरूको समेत प्रदर्शनीमा समावेश हुने छन् । पुष्प व्यवसायका क्षेत्रमा भए गरेका नयाँ नयाँ प्रविधि र उपलब्धि सहितका जानकारी पनि मेला स्थलमा नै प्रदान गरिने छ ।
चारदिने प्रदर्शनीमा ४० हजार बढिले प्रत्यक्ष अवलोकन गर्नुका साथै एक करोड भन्दा बढिको व्यावसायिक कारोबार हुने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया