बागलुङमा ५० प्रतिशतभन्दा बढी स्वास्थ्य बीमामा आबद्ध

लोकपथ
35
Shares

काठमाडौं ।  स्वास्थ्य बीमा कार्यक्रममा बागलुङका एक लाख २६ हजार तीन सय ९९ जना आबद्ध भएका छन् । 

दुई लाख ४९ हजार दुई सय ११ जनसंख्या रहेको बागलुङमा ५० प्रतिशतभन्दा बढी स्वास्थ्य बीमा आबद्ध भएका हुन् ।

विसं २०७३ आसरदेखि जिल्लामा लागू भएको स्वास्थ्य बीमा कार्यक्रममा क्रमशः आबद्ध हुनेको संख्या वृद्धि भएको हो ।

स्वास्थ्य बीमा बोर्ड बागलुङका संयोजक नारायणप्रसाद पौडेलकाअनुसार यहाँको धौलागिरि अस्पताल, बागलुङ नगर अस्पताल, गलकोट नगर अस्पताल, जैमिनी नगर अस्पताल र ढोरपाटन नगर अस्पतालबाट स्वास्थ्य बीमा सेवा लागु भएकाले बीमामा आबद्ध हुनेको संख्यामा वृद्धि भइरहेको छ । 

स्वास्थ्यबीमामा आबद्धमध्ये ६६ हजार आठ सय ३९ महिला र ५९ हजार पाँच सय ६० पुरुष रहेका उनले बताए ।

‘स्वास्थ्य बीमामा आबद्ध भएपछि एक लाख सम्मको स्वास्थ्य उपचार निःशुल्क पाइने भएकाले नागरिक बीमामा आकर्षित भएका छन्’, पौडेलले भने, ’क्रमशः स्वास्थ्य बीमा गराउनेको संख्या बढिरहेको छ, यो वर्ष मात्रै १६ हजारले स्वास्थ्य बीमा गराएका छन्, एक पटक प्रमियिम तिरेपछि वर्षभरी सरकारी अस्पतालमा उपचार पाइने भएकाले अधिकांशले स्वास्थ्य बीमा गर्न थालेका हुन् ।’

स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि धौलागिरि अञ्चल अस्पतालमा बिरामीको संख्यामा तेब्बरले वृद्धि भएको छ । पाँच जनासम्मको परिवारका सदस्यले वार्षिक तीन हजार पाँच सय तिर्नुपर्ने र पाँचभन्दा बढी परिवारका सदस्यको हकमा प्रति सदस्य सात सयका दरले शुल्क बुझाइ बीमा गरेपछि एक वर्षका लागि बीमा गरेका परिवारका सदस्यको वार्षिक एक लाखसम्म उपचार खर्च निःशुल्क हुने व्यवस्था छ । बीमा गरेपछि प्राइभेट क्लिनिक जाने बिरामी सरकारी अस्पताल तथा स्वास्थ्यचौकी जाने प्रचलनसमेत बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?