क्रिप्टो कारोबारीसँग ५० लाख रकम असुल्ने रुम पार्टनरसहित दुई प्रहरीविरुद्ध मुद्दा दायर

१० वर्षसम्मको कैद सजायको माग दाबी

काठमाडौं । क्यानडामा बसेर क्रिप्टोकरेन्सीको कारोबार गर्ने एक युवकलाई पक्राउ गरी ५० लाख रुपैयाँ रकम लिई छाडेको विषयमा प्रहरी कर्मचारी समेतलाई अभियुक्त बनाइ मुद्दा दायर भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले मङ्गलवार काठमाडौं जिल्ला अदालतमा ठगी तथा आपराधिक विश्वासघातको कसुरमा दुई प्रहरी कर्मचारीसहित तीन जनालाई मुद्दा चलाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका जिल्ला सहायक न्यायधिवक्ता चन्द्रप्रसाद सञ्जेलले मङ्गलवार काठमाडौं जिल्ला अदालतमा तीन जनाविरुद्ध ठगी तथा आपराधिक विश्वासघातको कसुरमा मुद्दा दायर गरेका हुन् । मुद्दा दायर हुनेहरूमा खोटाङको साबिक चिसापानी गाविस वडा नम्बर ३ घर भई हाल भक्तपुर बस्ने ३५ वर्षीय तेजबहादुर तामाङ तथा जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी सहायक हवलदार ३२ वर्षीय गणेश खड्का र प्रहरी जवान २७ वर्षीय साजन शर्मा चपाई रहेका छन् ।

विद्यार्थी भिसामा क्यानडा पुगेका रसुवाका एक युवकलाई क्यानडामा उनकै रुम पार्टनर रहेका खोटाङ स्थायी ठेगाना भएका तेजबहादुर तामाङले नै प्रहरीसँग मिलेमतो गरी पक्राउ गर्न लगाइ छुटाउनका लागि भन्दै युवकका दिदीसँग ५० लाख रुपैयाँ असुल गरेका थिए । क्यानडामा वैधानिक रूपमा क्रिप्टोकरेन्सीको कारोबार गरेको भए पनि नेपालमा कारोबार नगरेको र नेपाल आएको बेलामा पक्राउ गरिएको कारण प्रहरीले ती युवकविरुद्ध मुद्दा चलाएको थिएन । तर प्रहरी कर्मचारीसँग मिलेर युवककै रुम पार्टनरको सूचनाका आधारमा पक्राउ परेका ती युवकलाई हिरासतबाट छुटाउन भन्दै युवकका दिदी मार्फत ५० लाख रुपैयाँ लिएको पाइएको थियो ।

युवक हिरासतबाट छुटी क्यानडा उडिसकेपछि युवककी दिदीले प्रहरीमा दिएको उजुरीको आधारमा छानबिन हुँदा पक्राउ गर्न लगाउनेदेखि रकम असुल गर्ने कार्यमा क्यानडामै रुम पार्टनर रहेका खोटाङका मौसम भन्ने तेजबहादुर तामाङको प्रत्यक्ष संलग्नता देखिएको र त्यस कार्यमा जिल्ला प्रहरी परिसर काठमाडौंको साइबर शाखामा कार्यरत प्रहरी सहायक हवलदार गणेश खड्का र प्रहरी जवान साजन शर्माको संलग्नता रहेको पाइएको थियो । ठगी तथा आपराधिक विश्वासघातमा संलग्नता देखिएपछि फरार रहेका तेजबहादुर तामाङ र पक्राउ परेका दुई प्रहरीविरुद्ध मुद्दा दायर भएको हो ।

के हो घटना ?
रसुवा स्थायी ठेगाना भई एक वर्ष अगाडि क्यानडामा विद्यार्थी भिसामा अध्ययनका लागि पुगेका अशोक शर्मा (नाम परिवर्तन) गत साउन महिनामा नेपाल फर्किएका थिए । आफ्नी आमा बिरामी भएको कारण आमालाई भेट्न नेपाल आएका अशोक भदौको १७ गते क्यानडा फर्किँदै थिए ।

अशोक नेपाल आउँदा क्यानडामा सँगै बस्ने रुम पार्टनर खोटाङका तेजबहादुर तामाङ पनि नेपालमै थिए । नेपाल आएपछि पनि कहिलेकाहीँ भेटघाट र कुराकानी भइरहने भएकाले अशोकले क्यानडा फर्कनु अगाडि रुम पार्टनरसँगै खाना खाने योजना बनाए । योजनाअनुसार नै रुम पार्टनर तेजलाई भदौ १४ गते अनामनगरमा खाना खान बोलाए ।

प्रतिवादी तेज बहादुर तामाङ

मध्यान्ह १२ बजेतिर अनामनगरको एक रेस्टुरेन्टमा खाना खाइरहेको समयमा सादा पोसाकमा आएका केही प्रहरीले अशोक र तेजबहादुर तामाङलाई नियन्त्रणमा लिए । सुरुमा किन नियन्त्रणमा लिइएको हो भन्ने समेत जानकारी नदिई उनीहरूलाई सोझै जिल्ला प्रहरी परिसर, काठमाडौंको भद्रकालीमा रहेको कार्यालयमा लगियो । त्यसपछि अशोकको मोबाइलको लक खोल्न लगाएर अनुसन्धान सुरु गर्‍यो ।

प्रहरीले आफूहरूलाई अशोकले क्रिप्टोकरेन्सीको कारोबार गर्छ भन्ने सूचना आएको भन्दै मोबाइलको खानतलासी गर्‍यो। तर मोबाइलमा क्रिप्टोकरेन्सी कारोबारको कुनै प्रमाण नभेटेपछि प्रहरीले अशोकसँग थप केरकार गर्दा क्रिप्टोकरेन्सीको कारोबार गर्ने गरेको मोबाइल दिदीसँग रहेको बतायो ।

त्यसपछि प्रहरी टोली अशोकको दिदी बस्ने नेपालटारको कोठामा पुग्यो । प्रहरीले अशोकसहितलाई घरको खानतलासी गर्न लिएर गए पनि अशोकले आमा बिरामी भएको भएको कारण उक्त मोबाइल मगाउने भन्दै दिदीलाई फोन गरेर मोबाइल मगाए ।
मोबाइल लिएर फर्किएको प्रहरीले अनुसन्धानको क्रममा अशोकको मोबाइलमा बाइनान्सको अकाउण्ट रहेको पत्ता लगायो भने अकाउन्टमा ८ हजार ३८ यूएसडीटी अर्थात् क्रिप्टो रकमसमेत फेला प¥यो । मोबाइलको विश्लेषण गर्दा अशोकले क्रिप्टोकरेन्सीको कारोबार गरेको खुले पनि उनले आफ्नै नामबाट क्रिप्टोकरेन्सीको कारोबार गरेका थिएनन् । क्रिप्टोकरेन्सीको कारोबार गर्न अशोकले सन्ध्या सापकोटा नाम गरेकी भारतीय नागरिकको प्रमाणपत्र पेस गरेका थिए ।

तर आश्माको प्रतिक्रियापछि तेजले पक्राउ गर्न जाने प्रहरी सहायक हवलदार गणेश खड्कालाई नै प्रयोग गरेर ५ वर्ष जेल जाने र छुटाउन नसक्ने त्रास देखाए ।

अशोकसँगै पक्राउ परेका तेजबहादुर तामाङलाई पनि सामान्य केरकार गरेर प्रहरीले सोही साँझ छाड्यो । तर अशोकलाई भने प्रहरीले उक्त दिन हिरासतमै राख्यो । अशोकसँगै पक्राउ परेका तेजबहादुर तामाङको सूचनाकै आधारमा पक्राउ परेका कारण तेज इन्फर्मर रहेकाले प्रहरीले तेजलाई सोही दिन छाडेको थियो ।

रुम पार्टनर तेज छुटेपछि सुरु भयो अशोकलाई छुटाउने खेल
अशोकसँगै पक्राउ परेका तेजबहादुर तामाङ मुक्त भए लगत्तै तेजले नै अशोकको दिदी आश्मा शर्मासँग कुरा गरे । भाइको क्यानडा जाने दिन टाढा नभएको र समयमै कुरा मिलाएर छुटाउन नसकिए ५ वर्षसम्म जेल जान सक्ने कुरा भयो ।
त्यसपछि सुरु भयो पैसाको मोलमोलाइ ।

सुरुमा क्यानडामा अशोककै रुम पार्टनर रहेका तेजले प्रहरी कर्मचारी गणेश खड्कासँग कुरा गरी ३५ लाख रुपैयाँ दिए छुटाइदिने कुरा भएको भन्दै ३५ लाखको बार्गेनिङ गरे । आश्माले सुरुमै त्यति धेरै रकम जुटाउन नसक्ने र भाइले क्यानडामा पनि त्यति रकम नकमाएको बताइन् ।

तर आश्माको प्रतिक्रियापछि तेजले पक्राउ गर्न जाने प्रहरी सहायक हवलदार गणेश खड्कालाई नै प्रयोग गरेर ५ वर्ष जेल जाने र छुटाउन नसक्ने त्रास देखाए । भाइ समयमै क्यानडा नगए फेरि जान नपाउने र भविष्य अन्धकार हुने डरले आश्मा ३५ लाख तिर्न तयार भइन् र रकम खोज्नतिर लागिन् ।

शनिवार कुरा गर्दा ३५ लाख दिए छुटाइदिने भनिएकामा आइतबार ३५ लाख रुपैयाँबाट बढेर ५० लाख पुग्यो ।

तर भोलिपल्ट पुनः कुरा बिग्रियो । शुक्रवार पक्राउ परेका अशोकको सम्बन्धमा शनिवार कुरा गर्दा ३५ लाख दिए छुटाइदिने भनिएकामा आइतबार ३५ लाख रुपैयाँबाट बढेर ५० लाख पुग्यो । अशोक पक्राउको कुरा माथिल्लो निकायसम्म थाहा भएको र छुटाउनका लागि कम्तीमा ५० लाख रुपैयाँ लाग्ने भनियो । अनि आइतबारसम्म कुरा नमिलाएमा अदालतबाट म्याद थप हुने र भदौ १७ गतेको फ्लाइट क्यान्सिल हुने र जान नपाइने भनियो ।

त्यसपछि अत्तालिएकी आश्माले ५० लाख रुपैयाँ तिरेर भाइलाई छुटाउने तयारी गरिन् । त्यसपछि आफन्त साथीभाइ आदिसँग रकम माग गरेर भदौ १६ गते आइतबार करिब ४ बजेको समयमा भाइकै रुम पार्टनर तेजबहादुर तामाङमार्फत प्रहरीलाई दिन भन्दै ५० लाख रुपैयाँ पठाइन् ।

प्रतिवादी तेज बहादुर तामाङ

रकम पठाएको करिब २ घण्टापछि आश्माको भाइ प्रहरी हिरासतबाट मुक्त भए । भाइ मुक्त भए पनि भाइको मोबाइल भने फिर्ता दिइएन । तर अशोकको क्यानडा जाने कागजात लगायतका धेरै कुरा मोबाइलमै रहेको कारण भदौ १७ गते बिहान पुनः आश्मा भाइसहित जिल्ला प्रहरी परिसर, भद्रकाली पुगिन् । अन्य अनुसन्धानमा सहयोग गर्ने वाचासहित प्रहरीले अशोकको मोबाइल दियो र आवश्यक पर्दा आश्मा प्रहरी कार्यालयमा उपस्थित हुने भनियो ।

त्यहीबिचमा आश्माले आफ्नो भाइलाई छुटाउन ठुलो रकम घुस खुवाएको भन्दै एक जुनियर प्रहरी अधिकृतलाई जानकारी गराइन् । त्यसपछि झस्किएका प्रहरी कर्मचारीले कसलाई रकम दिएको हो भनेर केरकार गरे पनि आश्माले उक्त दिन केही बताइनन् । पैसा खुवाएको कुरा गरे पनि भाइ उडेपछि मात्रै बाँकी कुरा बताउने भन्दै प्रहरी निरीक्षक प्रतीक सिंहको मोबाइल नम्बर लिएर गइन् ।

भोलिपल्ट प्रहरी निरीक्षक प्रतीक सिंहलाई फोन सम्पर्क गरी आश्मा शर्मा प्रहरी परिसरमै आइपुगिन् र घटनाको सम्पूर्ण बेलिबिस्तार लगाइन् । आफूले भाइलाई छुटाउन भाइकै रुम पार्टनर तेजबहादुर तामाङ मार्फत ५० लाख रुपैयाँ बुझाएको र त्यस कार्यमा प्रहरी सहायक हवलदार गणेश खड्काको समेत प्रत्यक्ष संलग्नता रहेको बताइन् । प्रहरीले सो सम्बन्धमा लिखित जाहेरी दिन आग्रह गरेपछि आश्माले ठाडो जाहेरी दिइन् ।

आश्माको जाहेरी लगत्तै प्रहरीले प्रहरी सहायक हवलदार गणेश खड्कालाई नियन्त्रणमा लियो । तर खड्काको मोबाइलमा तेजबहादुर तामाङसँग भएको कुनै कुराकानी देखिएन । तर प्रहरीले ह्वाट्सएपको ब्याक अप रिकभर गरेर खोली हेर्दा तेजसँग ६५ पटक कुराकानी भएको पाइयो । तर त्यो भन्दा पहिले नै खड्काले तेजसँगको सबै कुराकानीको रेकर्ड डिलिट गरिसकेका थिए ।

प्रहरी हवलदार खड्कासँग इन्स्पेक्टर सिंहले केरकार गर्दा आर्थिक लेनदेनमा आफ्नो कुनै संलग्नता नरहेको बताए पनि प्रहरीले हवलदारलाई नै तेजलाई खोजेर ल्याउने जिम्मा दिई मोबाइल भने जफत गरेर राख्यो ।

प्रहरी सहायक हवलदार खड्का र अर्का शङ्कित तेजबहादुर तामाङसँग अत्यधिक कुराकानी भएको पाइएपछि साइबर शाखामै कार्यरत प्रहरी जवान साजन शर्मा चपाइलाई पनि प्रहरीले नियन्त्रणमा लियो । जवान चपाइलाई केरकार गर्दा उनले तेजबहादुर तामाङसँग कुराकानी भएको, प्रहरी हवलदारसँग पनि कुरा भएको तर के भइरहेको छ भन्ने विषयमा जानकारी दिएको भए पनि आर्थिक लेनदेन नगरेको बयान दिए ।

पहिलो दिन मोबाइल जफत गरी छाडिएका प्रहरी सहायक हवलदार गणेश खड्काले भोलिपल्ट प्रहरी अधिकृतसँग आश्माबाट लिएको पैसा फिर्ता गर्न लगाउने भन्दै त्यसबापत आफूमाथि कुनै कारबाही हुन नहुने बताए । प्रहरी कर्मचारीले ‘हुन्छ रकम फिर्ता गर्न लगाऊ हामी कारबाही गर्दैनौँ’ भनी फकाए ।

तर यहीबिचमा रकम लिने तेजबहादुर तामाङ भने फरार भइसकेका थिए । तेजको खोजीमा निस्किएको प्रहरीले तेज नेपाल छाडेर भागिसकेको जानकारी पाए । त्यसपछि तेजको बारेमा थप खोजिबिन गर्दा तेजको नाममा कृषि विकास बैंकमा रहेको खाता नम्बर ११२५२०११०१५१२०१२ मा आश्मासँग रकम बुझेको दिन अर्थात् २०८१ भदौ १६ गते ३५ लाख रुपैयाँ नगद डिपोजिट गरेको देखियो । बाँकी १५ लाख रकम भने कहीँ देखिएन ।

यता ५० लाख रकम लिएको हल्लाखल्ला भएपछि फरार भएका तेजले प्रहरी निरीक्षक प्रीतम सिंहलाई सम्पर्क गरी आफूले आश्मासँग ४९ लाख २० हजार रुपैयाँ बुझेको र दुई दिनभित्र रकम बैंक खातामा पठाइदिने बताए भने आश्माको मोबाइलमा ‘सेन्ड मि योर अकाउन्ट नम्बर’ भन्दै रकम पठाइदिने बताए ।

यता ५० लाख रकम लिएको हल्लाखल्ला भएपछि फरार भएका तेजले प्रहरी निरीक्षक प्रीतम सिंहलाई सम्पर्क गरी आफूले आश्मासँग ४९ लाख २० हजार रुपैयाँ बुझेको र दुई दिनभित्र रकम बैंक खातामा पठाइदिने बताए भने आश्माको मोबाइलमा ‘सेन्ड मि योर अकाउन्ट नम्बर’ भन्दै रकम पठाइदिने बताए । तर त्यसपछि भने उनी सम्पर्कविहीन भए ।

प्रहरी अनुसन्धानका क्रममा विभिन्न व्यक्तिहरूसँग सापटी लिएर आश्माले तेजलाई रकम दिएको पुष्टि भयो । आश्मासँग रकम लिनका लागि प्रहरी सहायक हवलदार गणेश खड्काको प्रत्यक्ष संलग्नता रहेको र तेजले गणेशसँग कुरा गर्दा लाउड स्पिकरमा सुनाउने गरेको, गणेश र तेजको बारम्बार कुराकानी भएको, तेजले दिएको सूचनाकै आधारमा गणेशले आफ्ना कमान्डरलाई क्रिप्टोकरेन्सीको कारोबारको सम्बन्धमा सूचना दिएको लगायतका कारणबाट गणेश खड्का पनि यो ठगी र आपराधिक लाभमा प्रत्यक्ष संलग्न रहेको पाइयो । गणेशसँगै प्रहरी जवान साजन शर्मा चपाईंले समेत अशोकबारे जानकारी दिने गरेको र छुटाउन सबैले भूमिका खेलेको पाइएबाट दुई प्रहरी कर्मचारीको पनि प्रत्यक्ष संलग्नता रहेको ठहर गरी उनीहरूलाई पक्राउ गरी बयान लिई मुद्दा चलाइएको छ ।

दुई प्रहरीले इन्कार गरे आर्थिक लेनदेनको विषय
पक्राउ परेका दुई प्रहरी कर्मचारीले भने आफूहरूले रकम लिएको सम्बन्धमा इन्कारी बयान दिएका छन् । तर प्रहरी प्रतिवेदनमा भने ३५ लाख रुपैयाँ तेजबहादुर तामाङ एक्लैले र बाँकी १५ लाख रुपैयाँ दुई प्रहरी कर्मचारीसहित तेजले बाँडेर लिएको आरोप लगाएका छन् । प्रहरीले भने नेपालमा कारोबार नभएको, आफ्नै नामबाट खाता नखोलिएको कारण मुद्दा चलाउन सकिने अवस्था नभएकाले छाडिएको दाबी गर्दै पैसाको लेनदेनमा आफ्नो कुनै संलग्नता नभएको बयान दिएका छन् ।
मुख्य प्रतिवादी अशोकका क्यानडाका रुम पार्टनर तेजबहादुर तामाङ फरार रहेको भए पनि अन्य तथ्य र प्रमाणबाट अभियोग पुष्टि भएको भन्दै प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका सहायक जिल्ला न्यायधिवक्ता चन्द्रप्रसाद सञ्जेलले काठमाडौं जिल्ला अदालतमा तीनै जनाविरुद्ध ठगी तथा आपराधिक लाभको कसुरमा मुद्दा दायर गरेका छन् ।

प्रहरी हिरासतबाट छुटाउन तेजबहादुर तामाङले ५० लाख रुपैयाँ लिएको र त्यसमध्ये ३५ लाख रुपैयाँ तेज आफूले राखी बाँकी १५ लाख रुपैयाँ दुई प्रहरी कर्मचारीसमेतलाई बाँडेको

सञ्जेलबाट दायर अभियोग पत्रमा आश्मा शर्मासँग उनका भाइ अशोक शर्मालाई प्रहरी हिरासतबाट छुटाउन तेजबहादुर तामाङले ५० लाख रुपैयाँ लिएको र त्यसमध्ये ३५ लाख रुपैयाँ तेज आफूले राखी बाँकी १५ लाख रुपैयाँ दुई प्रहरी कर्मचारीसमेतलाई बाँडेको उल्लेख छ ।

प्रतिवादीमध्ये प्रहरी सहायक हवलदार गणेश खड्का र प्रहरी जवान साजन शर्मा राष्ट्रसेवक प्रहरी कर्मचारी रही निजहरूले आफ्नो पदको दुरुपयोग गरी प्रतिवादी तेजबहादुर तामाङसँगै आफू वा अन्य कसैलाई गैर कानुनी फाइदा पुर्‍याउनका लागि पदको दुरुपयोग गरी रकम लिने मुख्य प्रतिवादी तेजबहादुर तामाङलाई रकम लिन तारतम्य मिलाइदिएको अभियोगमा उल्लेख छ । यसरी आफ्नो पद तथा कर्तव्य विपरीतको काम गरी आपराधिक विश्वासघात गरेको भन्दै गणेश खड्का र साजन शर्मा चपाइलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २५२ को उपदफा १ विपरीत र उपदफा २ को ख बमोजिम परिभाषित कसुर वारदात गरेकोसमेत उल्लेख छ ।

यसरी प्रहरी कर्मचारीसँग मिलेमतो गरी तेजबहादुर तामाङलगायतले ठगी तथा आपराधिक विश्वासघात गरेको भन्दै मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा १ र उपदफा २ को कसुरमा सोही संहिताको दफा २४९ को उपदफा ३ को खण्ड ग बमोजिमको सजाय हुन माग गरिएको छ ।

मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ मा ‘ठगी गर्न नहुने’ सम्बन्धी कानुनी व्यवस्था छ । उक्त दफाको उपदफा १ मा ‘कसैले ठगी गर्न वा गराउन हुँदैन’ भन्ने उल्लेख गरिएको छ भने उपदफा २ मा ‘उपदफा १ को प्रयोजनको लागि कसैले कसैलाई कुनै कुराको विश्वास दिलाएकोमा सो बमोजिम नगरी वा फकाई, झुक्क्याई वा अन्य कुनै किसिमले धोका दिई कुनै काम गरी वा गर्नबाट रोकी त्यस्तो व्यक्ति वा अन्य कसैलाई बेइमानीपूर्वक कुनै किसिमको हानी, नोक्सानी वा क्षति पुर्‍याएमा वा आफ्नो वा अरू कसैको लागि कुनै लाभ प्राप्त गरेमा निजले ठगी गरेको मानिनेछ’ भनी उल्लेख छ । सोही दफाको उपदफा ३ मा सो कसुर गर्ने व्यक्तिलाई सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

त्यस्तै आपराधिक विश्वासघाततर्फ छुट्टै सजायको समेत व्यवस्था गरिएको छ । मुलुकी अपराध संहिता, २०७४ को दफा २५२ मा ‘आपराधिक विश्वासघात गर्न नहुने’ सम्बन्धी व्यवस्था छ । सो दफाको उपदफा १ मा ‘ कसैले आपराधिक विश्वासघात गर्न वा गराउन हुँदैन’ भनिएको छ । सोही दफाको उपदफा २ मा ‘उपदफा १ को प्रयोजनको लागि कसैले देहायको कुनै काम गरेमा निजले आपराधिक विश्वासघात गरे वा गराएको मानिनेछ’ भनी उल्लेख गरिएको छ । जसको उपदफा २ को ख मा ‘अर्काको कुनै काम कारोबार गर्ने जिम्मा लिएको वा कानुनी कर्तव्य पालना गर्नुपर्ने जिम्मेवारी भएको व्यक्तिले वा कुनै काम कारोबार सम्बन्धमा अर्काको प्रतिनिधिको रूपमा काम गर्ने व्यक्तिले आफू वा अरू कसैलाई फाइदा पुर्‍याउनको लागि आफ्नो कर्तव्यको विपरीत कुनै काम गरी त्यस्तो व्यक्तिलाई कुनै हानी, नोक्सानी वा क्षति पुर्‍याएमा’ आपराधिक विश्वासघात गरेको मानिने कानुनी व्यवस्था छ ।

त्यस्तो कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
यी सबै कसुर अदालतबाट ठहर भएमा हुने सजायमा सरकारी कर्मचारीको हकमा डेढी अर्थात् कैद र जरिवाना भएको समय र रकमको थप आधा सजाय हुने कानुनी व्यवस्था रहेको छ ।

प्रहरी कर्मचारी करिब साँढे ७ वर्षसम्म जेल जान सक्ने
ठगी तथा आपराधिक विश्वासघातमा संलग्न रहेको भनी अभियुक्त बनाइएका प्रहरी सहायक हवलदार र प्रहरी जवानमाथिको अभियोग पुष्टि भएमा उनीहरूलाई करिब १० वर्षसम्मको जेल सजाय हुनसक्ने सम्भावना रहेको छ ।

सामान्यतः ७ वर्षसम्म भनिने ठगीको कसुरको कैद सजायमा त्यसको आधा अर्थात् साँढे तीन वर्ष कैद, आपराधिक विश्वासघातको कसुरमा ३ वर्षसम्मको आधा अर्थात् डेढ वर्ष गरी करिब ५ वर्ष कैदको सम्भावना रहन्छ । सरकारी कर्मचारीको हकमा त्यसको डेढी कैद सजाय हुँदा दुई प्रहरी कर्मचारी भने करिब साँढे ७ वर्षसम्म कैदमै बस्नुपर्ने हुन सक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?