नेप्से फेरि ओरालो यात्रामा, ट्रेडिङ र फाइनान्सबाहेक सबै समूहका सूचक घटे

लोकपथ
77
Shares

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा पुनः गिरावट आएको छ । बुधवार नेप्से २०.४१ विन्दुले घटेर २६४५.३९ अंकमा आएको हो । आज ६ अर्ब २७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिकको असर शेयर बजारमा देखिएको छ । आज सबैभन्दा धेरै बैंकिङ क्षेत्र घटेको छ । ट्रेडिङ र फाइनान्सबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । ट्रेडिङ ०.२५ प्रतिशत र फाइनान्स समूह २.३२ प्रतिशतले बढे । २ वटा फाइनान्स कम्पनीको कारोबार सकारात्मक सर्किट लेबलमा भयो ।

आईसीएफसी फाइनान्सको मूल्य १० प्रतिशत बढ्यो । यसैगरी, समृद्धि फाइनान्सको मूल्य ९.९३ प्रतिशत, मञ्जुश्री फाइनान्स ६.६७ प्रतिशत र साहस ऊर्जाको ५.८ प्रतिशतले बढेको छ । नेप्से ०.७६ प्रतिशतले घट्दा बैंकिङ सबैभन्दा धेरै १.७० प्रतिशतले घटेको छ । विकास बैंक ०.६५ प्रतिशतले घट्दा होटल तथा पर्यटन ०.७५, हाइड्रोपावर ०.५३, जीवन बीमा ०.७१, उत्पादन ०.३८, माइक्रोफाइनान्स ०.३२, निर्जीवन बीमा ०.४३ र अन्य समूह ०.४५ प्रतिशतले घटे ।

आज ३२४ कम्पनीको १ करोड ५७ लाखभन्दा बढी कित्ता शेयर किनबेच भएको छ । कारोबारका हिसावले आज आईसीएफसी फाइनान्स अग्रस्थानमा रह्यो । यसले ४३ करोड ४४ लाख रुपैयाँभन्दा बढीको कारोबार गर्यो । यसैगरी कुमारी बैंक र साहस उर्जा कारोबारका हिसावले दोस्रो र तेस्रो स्थानमा रहे ।


अघिल्लो दिन अर्थात मंगलबार ४ अर्ब १७ करोडको कारोबार भएकोमा आज बुधबार ६ अर्ब २७ करोडको कारोबार भयो । आज ७६ कम्पनीको मूल्य बढ्दा १५५ कम्पनीको घटेको छ । यसैगरी, १३ कम्पनीको मूल्य स्थिर रहेको छ । यसअघि, आइतबार र सोमबार दोहोरो अंकले घटेको बजार मंगलबार केही सुधारिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?