ट्रु कलरमा सिआइबी प्रमुखकै नाम र फोटो प्रयोग गरी व्यवसायीलाई धम्की दिएपछि …

लोकपथ
161
Shares

काठमाडौं । आफू सिआइबीको प्रमुख रहेको भन्दै धम्की दिई विभिन्न वित्तीय संस्थाका अध्यक्ष र कर्मचारीसँग रकम असुलीमा संलग्न एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका वडा नम्बर १ ठुलो मिल चोकका ३० वर्षीय हेम कुमार खड्का रहेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले खड्कालाई बुधवार मोरङबाट पक्राउ गरेको सिआइबीका प्रवक्ता होबिन्द्र बोगटीले बताए ।

पक्राउ परेका खड्काले आफू सिआइबीको प्रमुख दीपक थापा रहेको भन्दै मोबाइल एप्लिकेसन ट्रु कलरमा दीपक थापाकै नामबाट रजिस्टर गरी सिआइबी प्रमुख थापाकै फोटोसमेत समावेश गरी विभिन्न व्यक्तिहरूलाई धम्की दिने गरेको पाइएको छ । विभिन्न वित्तीय संस्थाका अध्यक्ष, सञ्चालक तथा कर्मचारीलाई फोन गरी आफू सिआइबी प्रमुख बोलेको भन्दै आर्थिक लाभ लिन खोजेको पाइएको छ । खड्काले के कति व्यक्तिसँग आर्थिक लाभ लिइसकेका छन्, सो सम्बन्धमा समेत अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ ।

खड्कालाई जिल्ला प्रहरी कार्यालय मोरङकै हिरासतमा राखी निजमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
यस्तो आपराधिक कार्यमा अन्य व्यक्ति पनि संलग्न रहेको हुन सक्ने भन्दै ब्युरोले यदि कोही कसैले आफू सिआइबीको कर्मचारी हँ भनी कसैलाई डर त्रास देखाएको, धाक धम्की दिएको भए तत्काल प्रहरीलाई खबर गर्न समेत आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?