‘लभ एन्ड हेट’ मा ओली–लामिछाने सम्बन्ध

काठमाडौं । १० पुस २०७९ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चुनावी गठबन्धनका दलहरू नेपाली कांग्रेस, एकीकृत समाजवादी लगायतका दलहरूसँगको सहकार्य तोड्दै एमालेसँग सहकार्य अघि बढाए । कांग्रेससँगको बैठक बिचमै छाडेर खाना खानको लागि भनेर खुमलटारतर्फ हिँडेका उनी केही समयपछि एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा झुल्किए । त्यस बेला प्रधानमन्त्रीको कुर्सीमा विराजमान कांग्रेस सभापति शेरबहादुर देउवासहित कांग्रेस नेताहरू प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डलाई कुरिरहेका बेला उनी भने एमाले, रास्वपा, राप्रपालगायतका दलहरूको समर्थनसहितको प्रतिनिधिसभाको बहुमत सदस्यको हस्ताक्षर बोकेर राष्ट्रपति कार्यालयमा प्रधानमन्त्रीको दाबी गर्न पुगे । त्यसै दिन तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई प्रधानमन्त्री नियुक्त गरिन् । भोलिपल्ट उनले सानो आकारको मन्त्रिपरिषद् गठन गरे ।

मन्त्रिपरिषद् विस्तारमा उपप्रधानमन्त्रीसहितको गृहमन्त्रीमा सञ्चार कर्म छाडेर राजनीतिमा होमिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेको नाम देखेपछि धेरैले अनौठो माने । अनौठो मान्नुको कारण थियो, प्रचण्डलाई प्रधानमन्त्री बनाएर तत्कालीन चुनावी गठबन्धन भत्काउन सफल एमाले अध्यक्ष केपी शर्मा ओलीले गृह जस्तो महत्त्वपूर्ण मन्त्रालय आफूले नलिएर सात महिनाअघि मात्र गठन भएको रास्वपा अध्यक्ष लामिछानेलाई किन दिए ? प्रधानमन्त्री दाहालको दल माओवादी केन्द्रले दाबी गर्दा पनि किन ओलीले गृह मन्त्रालयको जिम्मेवारी लामिछानेलाई नै दिन अड्डी कसे ? ओलीको अगाडि किन दाहाल निरीह बने ? यी र यस्ता प्रश्नले त्यस बेला सबैको मनमा घर गरेको थियो ।

दाहाललाई प्रधानमन्त्री बनाउन सहयोग गरेबापत त्यस बेला रास्वपा अध्यक्ष रवि लामिछानेलाई उनले सोचेको भन्दा राम्रो पुरस्कार दिएका तिनै ओली र लामिछानेको सम्बन्ध अहिले ‘पानी बाराबार’ जस्तो छ । एकले अर्कोलाई सिद्ध्याउन समय खर्च गरिरहेका छन् । दुवै पटक उपप्रधानमन्त्री र गृहमन्त्री बनाउन महत्त्वपूर्ण भूमिका खेलेका तिनै ओलीलाई मुलुककै सबैभन्दा ठुलो भ्रष्टाचारी करार गर्न लामिछाने लागिपरेका छन् । साथै ओली प्रधानमन्त्री रहुन्जेल मुलुकले दुःख पाइरहने भन्दै ओलीलाई प्रधानमन्त्रीको कुर्सीबाट यथाशक्य चाँडो हटाउनु पर्ने धारणा लामिछानेले राखिरहेका छन् ।

खासमा ओली र लामिछानेबिचको सम्बन्धमा देखिने गरी ‘दरार’ आएको १७ असारको मध्यरात सत्ता सञ्चालनका लागि कांग्रेस र एमालेबिच समझदारी भएपछिको नै हो । प्रतिनिधिसभाका दुई ठुला दल मिलेपछि दोस्रो पटक गृहमन्त्रीबाट हट्न बाध्य भएका लामिछाने त्यसयता ओलीप्रति राम्रो सुनिएका छैनन् । बरु ओलीप्रति विष वमन गर्न मै उनी लागि परेका छन् । आफ्नो राजनीतिक आरोहमा साथ दिइरहेका ओली आफूलाई नै पक्राउ गर्ने तहसम्म पुगेपछि लामिछानेको ओलीप्रतिको आक्रोश बढेको बुझिन्छ ।

ओलीसँग लामिछाने यति बिच्किएका छन् कि, दोस्रो पटक सत्ताबाट हटेपछि लामिछानेले एमाले र त्यसमा पनि विशेष गरी ओलीको हरेक गतिविधिको विरोध गर्दै आएका छन् ।

केही समयअघि सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले केपी ओलीले महँगो घडी लगाएको चर्चा गरेका थिए । यो विषयमा केपी ओलीका तर्फबाट कुनै औपचारिक प्रतिक्रिया आएको छैन । तर, लामिछानेले यही विषयमा पनि ओलीलाई निशाना साँधेका छन् । आफूलाई पक्राउ गर्न वनस्थलीस्थित पार्टी कार्यालयमा प्रहरी पुगेपछि लामिछानेले त्यही प्रसङ्गप्रति सङ्केत गर्दै फेसबुकमा गरेको लामो पोस्टको सुरुआतमै लेखेका थिए, ‘तपाईँको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहिँ हतकडी ?’
सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछाने अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । पक्राउपछि पहिलो पटक आइतबार पोखरास्थित जिल्ला अदालतमा उपस्थित भएर प्रहरी हिरासतमा फर्कने क्रममा पत्रकारहरूसँग उनले पुनः ओलीलाई निशाना साँधे । ‘ओली नेतृत्वको सरकार रहेसम्म भ्रष्टाचारीलाई जोगाउने गतिविधि भइरहन्छ, केपी ओलीको सरकार रहेसम्म यो देश कहिल्यै बन्दैन ।’

यति मात्र होइन, लामिछानेको पक्राउको विरोधमा पोखरामा रास्वपा नेता/कार्यकर्ताले दिनहुँ जसो प्रदर्शन गरिरहेका छन् । त्यहाँ पनि रास्वपाका नेता र कार्यकर्ताहरू ओली र उनले नेतृत्व गरिरहेको सरकारकै आलोचना गरिरहेको सुनिन्छ । रविलाई पक्राउ गरेको दिन पनि रास्वपा कार्यकर्ताहरू ओलीमाथि नै बढी खनिएका थिए ।

यसरी लामिछाने र रास्वपा कार्यकर्ताले आफ्नो विरोधलाई निरन्तरता दिएपछि ओली पनि सो दलमाथि खनिएका छन् । लामिछाने पक्राउ परेपछि रास्वपाले जारी राखेको प्रदर्शनलाई उनले अराजकता र अवाञ्छित क्रियाकलाप भएको र यो कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन् ।

सरकार बनेको सय दिन पुगेकै दिन प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री ओलीले सत्ता समीकरणमा रहेका दलहरू लोकतान्त्रिक पद्धति, मूल्य र मान्यताप्रति प्रतिबद्ध रहेको स्पष्ट गर्दै राष्ट्रिय सद्भाव र हितको रक्षाका प्रश्नमा कुनै सम्झौता नहुने बताए । उनले भने, ‘हामी लोकतन्त्रका लागि लडेका हौँ, हामीलाई लोकतन्त्र मात्रै स्वीकार्य छ । अराजकता र अवाञ्छित क्रियाकलाप स्वीकार्य छैन । जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउन लागि आजीवन लागेका छौँ, हाम्रो यो प्रतिबद्धता र दृढतामा कुनै कमी आउँदैन, यसमा हामी स्पष्ट छौँ ।’

लामिछाने र रास्वपा कार्यकर्ताहरूले निरन्तर आफ्नो पार्टी र पार्टी अध्यक्षमाथि निशाना साँधिरहेपछि एमाले नेता/कार्यकर्ता पनि ओलीले लामिछानेमाथि विगतमा देखाएको सदाशयता बिर्सिएको आरोप लगाउँदै खनिन थालेका छन् ।

एमाले नेता एवं प्रतिनिधिसभा सदस्य सूर्य थापा ‘ओलीले उनीप्रति देखाएका सदाशयता लामिछानेले बिर्सिएको’ आरोप लगाउँछन् ।

‘अहिले उहाँले कृतघ्नताका सबै मानक र सीमाहरू पार गरेर एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीमाथि प्रहार गरिरहनु भएको छ र सामाजिक मर्यादाका कुनै सीमा बाँकी राख्नुभएको छैन,’ सहकारी छानबिन समितिका संयोजकसमेत रहेका थापा भन्छन् ।
हुन पनि लामिछानेलाई सञ्चार जगतमा थप चिनाउने र प्रतिनिधिसभामा २० सिट जितेपछि सरकारमा राम्रो ‘स्पेस’ दिने काम ओलीबाट नै भएको हो भन्नुमा कन्जुस्याइँ गरिरहनु पर्ने कारण छैन । केपी ओली पहिलो पटक प्रधानमन्त्री बनेपछि सरकारी टेलिभिजनमा ‘सिधाकुरा प्रधानमन्त्रीसँग’ कार्यक्रम चलाउन रवि लामिछानेलाई अनुमति दिइएको थियो । २०७३ वैशाख ११ गते नेपाल टेलिभिजनमा रवि लामिछानेले ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रम सुरु गरेका थिए । हरेक शनिवार प्रधानमन्त्री ओली टेलिभिजनको स्क्रिनमा लामिछानेको जनताको प्रश्न भन्दै सोधिएका सवालहरूको जवाफ दिइरहेका हुन्थे ।

‘जतिखेर रविजी अमेरिकाबाट नेपाल फर्किनुभयो त्यो बेलादेखि उहाँहरूको सम्बन्ध देखिन्छ । त्यो बेला सिधा कुरा प्रधानमन्त्रीसँग भन्ने कार्यक्रम चलाउने जिम्मा दिएर नै उहाँले स्थापित गर्नुभएको हो भन्ने स्पष्टै छ,’ सांसद सूर्य थापा भन्छन् । ओलीपछि प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भने लामिछानेलाई त्यस्तो कार्यक्रमको प्रस्तोताको रूपमा निरन्तरता दिएन । आफूलाई प्रचण्ड सरकारले कार्यक्रम चलाउन नदिएपछि लामिछानेले त्यस बेला लामो विज्ञप्ति नै निकालेर असन्तुष्टि जनाएका थिए ।

एमाले नेता थापा भन्छन्, ‘लामिछानेलाई उपप्रधान र गृहमन्त्री बनाउने कुरामा उहाँ (ओली)ले नै साथ दिनुभयो र स्थापित गर्नुभयो । फेरि २०८० फागुन २१ को नयाँ समीकरणमा पनि उहाँलाई उपप्रधान र गृहमन्त्री बनाउने कुरामा केपी ओली नै उहाँको मुख्य अभिभावक जस्तो हुनुहुन्थ्यो ।’

तत्कालीन समयमा सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल पनि लामिछानेलाई महत्त्वपूर्ण मन्त्रालय र पद लिन ओलीले ठुलो भूमिका खेलेको बताउँछन् । ‘उहाँ (केपी ओली)ले त्यो बेला लामिछानेजीलाई सहयोग गर्नु भएको कुरा साँचो हो ।’

पहिलो पटक सरकारमा सहभागी भएको केही महिना मै लामिछानेले अमेरिकी नागरिकता त्याग गरेर नेपाली नागरिकता पुनः प्राप्ति नगरेको विषयमा उनको मन्त्री र सांसद पद दुवै गुम्यो । यसले त्यति बेला ओलीलाई पनि निराश बनाएको माओवादी नेताहरू सम्झन्छन् ।

लामिछानेले पुनः नेपाली नागरिकता लिएर रास्वपा अध्यक्षकै जिम्मेवारीमा फर्किएपछि उनलाई पुनः गृहमन्त्री बनाउन ओलीले प्रचण्डलाई चर्को दबाब दिएको पनि माओवादी नेताहरू बताउँछन् । तर ओलीको यो दबाब प्रचण्डले स्वीकार गरेनन् ।
उपनिर्वाचन जितेर संसद्मा पुगेपछि पनि लामिछानेले आफूलाई गृहमन्त्री बनाउन प्रचण्डसँग आग्रह गरेका थिए । तर प्रचण्डले नमानेपछि लामिछाने सरकारमा फर्कन नसकेको माओवादी नेताहरू बताउँछन् । तर समीकरण फेरिएर पुनः एमाले र माओवादीको सरकार बनेपछि भने लामिछाने दोस्रो पटक गृहमन्त्री बन्न सफल भए ।

तर, स्वार्थ बाझिने गृह मन्त्रालय सम्हालेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय छानबिन समिति र लामिछानेको राजीनामा माग गर्दै लामो समय संसद् अवरुद्ध गर्‍यो । त्यस बेला पनि सत्ता साझेदार दलका नेता ओलीले छानबिन समिति बनाउन नहुने अडान लिएका थिए । ओली मात्रै नभई सिङ्गो एमाले पङ्क्ति नै लामो समयसम्म छानबिन समिति बनाउन नहुने अडानमा थियो ।

आफूलाई भेट्न आएका विपक्षी गठबन्धनका नेताहरूसँग सोमबार पनि ओलीले त्यस बेला आफूले लिएको अडान सम्झिएका थिए । ‘त्यो बेला मैले छानबिन समिति नै नबनाऊँ भनेको हो, रविजी आफैँ तयार भएपछि हामी पछि हट्यौँ, अहिले छानबिन समितिको प्रतिवेदनका आधारमा उहाँ पक्राउ पर्नुभएको हो,’ ओलीले भनेका थिए ।

‘आज म मरेँ, मेरो दाहसंस्कार गरियो, होइन ? म मरेकोमा मलामी फर्कँदै होलान् किरिया चाहिँ को–को बसे ? म पनि किरिया बस्न जानुपर्ने हो कि ? सरकार मर्‍यो भनेर कस्तो संस्कार प्रदर्शन गर्न खोजिएको हो ?’ ओलीको प्रश्नमा माधव नेपालले जवाफ फर्काए, ‘राजनीतिमा यस्तो संस्कारको सुरुवातकर्ता तपाईँ नै त हो नि !’

विपक्षी दलका नेताहरूसँग पक्राउ पर्नुअघि लामिछानेको ‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो’ भन्ने भनाइप्रति भने ओलीले आक्रोश पोखेका थिए । ‘आज म मरेँ, मेरो दाहसंस्कार गरियो, होइन ? म मरेकोमा मलामी फर्कँदै (प्रतिपक्षीहरू) होलान् किरिया चाहिँ को–को बसे ? म पनि किरिया बस्न जानुपर्ने हो कि ! सरकार मर्‍यो भनेर कस्तो संस्कार प्रदर्शन गर्न खोजिएको हो ?’ ओलीले प्रश्न पनि गरेका थिए । जवाफमा ‘राजनीतिमा यस्तो संस्कारको सुरुवातकर्ता तपाईँ नै त हो नि !’ भनेर माधव नेपालले जवाफ फर्काएका थिए ।

एमाले नेता सूर्य थापा पनि छानबिन समितिको माग भइरहँदा ओलीले लामिछानेलाई नै साथ दिएको बताउँछन् । ‘व्यक्ति केन्द्रित छानबिन समिति आवश्यक छैन भनेर निरन्तर अडान लिने नेता केपी शर्मा ओली हुनहुन्थ्यो, लामिछाने र प्रचण्ड तयार भएपछि ओली एक्लै नअडिनुभएको हो,’ थापा भन्छन् ।

‘रविजीको तयारी गिरिबन्धु टी स्टेटको अनुसन्धान अघि बढाउने भन्ने थियो, यही कुरा थाहा पाएर ओलीजी र रविजीको सम्बन्ध बिग्रिएको हो,’ बुर्लाकोटीले भने ।

तर, राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी एमाले–माओवादी गठबन्धन सरकार ढल्नुअघि नै ओली र लामिछानेको सम्बन्धमा चिसोपना आएको दाबी गर्छन् । ‘खास गरी भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि रविजीको तयारी गिरिबन्धु टी स्टेटको अनुसन्धान अघि बढाउने भन्ने थियो, यही कुरा थाहा पाएर ओलीजी र रविजीको सम्बन्ध बिग्रिएको हो,’ उनले भने ।

कांग्रेस र एमालेबिच सत्ता सञ्चालनको सहमति भएपछि र प्रचण्ड सरकारले विश्वासको मत पाउनुअघि र विश्वासको मत लिने दिन पनि रास्वपाले यो विषयलाई उचालेको थियो ।

‘कांग्रेसले जसरी पनि रविजीलाई थुन्न चाहेको थियो, अहिलेको समीकरण बनेपछि नेपाली कांग्रेसका नेताहरूको आशय पनि त्यही देखिन्थ्यो, ओलीले सत्ता साझेदार दलको कुरा सुनेर बिना आधार पक्राउ गर्न आदेश दिएका कारण पनि रविजीले प्रधानमन्त्रीमाथि प्रश्न उठाउनुभएको हो,’ बुर्लाकोटीले भने ।

माओवादी सचिव देवेन्द्र पौडेल आफूलाई चाहिँदा सबै कुरा थाहा हुँदाहुँदै पनि जोगाउँदै हिँड्ने अरूलाई पर्दा फाल्दिने संस्कार केपी ओलीमा भएको बताउँछन् । ‘अरू विषय पनि होलान्, धेरै पटक उहाँहरूबिच छलफल, कुराकानी भएको त सार्वजनिक नै हो । त्यस कारण अरू पनि केही न केही विषय भएर पूर्वाग्रह साँध्न खोजेको देखिन्छ,’ पौडेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?