अन्ततः प्रदेश मन्त्री बन्ने तिमिल्सेनाको सपना साकार, नवनियुक्त तीन जना मन्त्रीले लिए शपथ

लोकपथ
119
Shares

काठमाडौं । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसबाट प्रमुख सचेतक रहेका बर्दियाका जन्मजय तिमिल्सेना अन्ततः मन्त्री बन्न सफल भएका छन् ।

पहिलोपटक मन्त्रिपरिषद् गठन गर्दा नै तिमिल्सेनाको नेतृत्वमा सरकारमा जाने तयारी थियो । तर, पार्टीभित्रको द्वन्द्वका कारण अन्तिम समयमा मन्त्रीको सूचीबाट उनको नाम हटाइएको थियो । शपथ ग्रहण गर्न प्रदेश प्रमुखको कार्यालय पुगेका आफ्नो नाम मन्त्रीको सूचीबाट हटाइएपछि उनी असन्तुष्ट रहँदै आएका थिए ।

तिमिल्सेनालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । बुधबार मन्त्रीमा नियुक्त उनीसहित तीनै जनाले आज बिहान पद तथा गोपनियताको शपथ लिएका छन् । तीनैजनाले प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरबाट शपथ लिएका हुन् ।

मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार नेपाली कांग्रेसका तर्फबाट पश्चिम नवलपरासीका देवकरण कलवारलाई वन तथा वातावरण र बर्दियाका तिमिल्सेनालाई सामाजिक विकास तथा जनता समाजवादी पार्टीबाट बाँकेका आदेशकुमार अग्रवाललाई आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त गरेका थिए ।

काग्रेसभित्रको असन्तुष्टिकै कारण लामो समयसम्म मन्त्रिपरिषदले पूर्णता पाउन सकेको थिएन । १२ मन्त्रालय रहेको लुम्बिनीमा तीनजना नयाँ मन्त्री थपिएसंगै मन्त्रिमण्डल ११ सदस्यीय बनेको छ । युवा तथा खेलकुद मन्त्रालय मुख्यमन्त्री आचार्यले नै सम्हालेका छन् । मन्त्रीमण्डलमा एमालेबाट मुख्यमन्त्रीसहित ५ जना र कांग्रेसबाट पनि ५ जना मन्त्री पुगेका छन् ।

शपथ ग्रहण समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्य, सत्ता साझेदार दल नेपाली कांग्रेस दल नेता तथा पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रतिपक्ष दलका नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री जोखबहादुर महरा, सभामुख तुलाराम घर्तीलगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?