रवि लामिछाने र छविलाल जोशीलाई म्याद थपका लागि जिल्ला अदालत लगियो

लोकपथ
280
Shares

काठमाडौं । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछाने र  पूर्व डीआईजी छविलाल जोशीलाई जिल्ला अदालत पोखरामा उपस्थित गराइएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछाने र जोशी दुबैको बयान नसकिएकाले आज बिहीबार पुनः जिल्ला अदालत लगिएको हो ।

यही कात्तिक २ गते काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीबाट पक्राउ परेका लामिछानेलाई कास्की जिल्ला अदालतले कात्तिक ४ गते को मितिमा ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । पक्राउ परेको दिन कात्तिक २ गते (शुक्रबार) बाटै गणना गर्नेगरी न्यायाधीश नवराज दाहालको इजलासले उनलाई हिरातमा राखेर अनुसन्धान गर्न ६ दिनको समय दिएको थियो ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमै पक्राउ परेका रविका व्यावसायिक साझेदार छविलाल जोशी बन्जाडेलाई भने यसअघि पनि पटक पटक म्याद थप भइसकेको छ ।

सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा असोज १३ मा पक्राउ परेकी लिला पछाईंलाईसमेत प्रहरीले आज म्याद थपका लागि कास्की अदालत लैजाने तयारी गरेको छ ।

रवि पक्राउको विरोधमा रास्वपाका समर्थकहरूले पोखरामा प्रदर्शन जारी राखेका छन् । दिनहुँजसो रविका समर्थक र प्रहरीबीच पाखरामा घम्साघम्सी पर्दै आएको छ । अहिले पनि पोखराको सडकमा रविका समर्थक र प्रहरीको बाक्लो उपस्थिति छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?