राष्ट्रिय प्रत्यारोपण केन्द्रले उपचारमा हेलचेक्र्याइँ नगरोस् : मन्त्री पौडेल

लोकपथ
35
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा क्षेत्रका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने स्थिति तत्काल नरहेको उल्लेख गर्दै उपलब्ध चिकित्सकीय जनशक्तिलाई आवश्यक तालिमहरू प्रदान गरेर स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन् । 

बिहीबार सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पौडेलले प्रत्यारोपणको क्षेत्रमा मात्र नभई अन्य क्षेत्रमा समेत भएका चिकित्सक, नर्स र डाक्टरहरूलाई क्षमता अभिवृद्धि गराएर स्वास्थ्य सेवा क्षेत्र विस्तार गर्न आवश्यक रहेको बताएका हुन् । 

उनले भने, ‘स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउने विकल्प हामीसँग छैन । तत्काल औपचारिक योग्यता पुर्‍याएर जनशक्ति उत्पादन गर्ने स्थिति छैन । उपलब्ध चिकित्सकीय जनशक्ति उत्पादनका लागि थप तालिमहरू दिएर विभिन्न सेवा उपलब्ध गराउने काम सक्ने क्षमता वृद्धि गर्न जरुरी छ । प्रत्यारोपणको क्षेत्रमा मात्र होइन अन्य क्षेत्रमा पनि भएका चिकित्सक, नर्स र डाक्टरहरूलाई क्षमता अभिवृद्धि गराएर स्वास्थ्य सेवा क्षेत्र विस्तार गर्न आवश्यक छ । त्यस कारण मेडिकल काउन्सिलले मानव अंग प्रत्यारोपण केन्द्रलाई फेलोसिप सञ्चालन गर्ने जुन स्वीकृति दिएको छ त्यसका लागि काउन्सिललाई धन्यावाद दिन चाहन्छु ।’

मानव अंग प्रत्यारोपण क्षेत्रको उपयोग गरेर संवेदनशील उपचार क्षेत्रमा हेलचेक्र्याइँ नगर्न उनको आग्रह थियो ।  उनले सम्बन्धित क्षेत्रका विशेषज्ञता हासिल नगरेकाहरूबाट मानव अंग प्रत्यारोपण क्षेत्रमा काम गर्ने स्थिति नरहने भएका कारण फेलोसिपको भरपुर फाइदा चिकित्सक र प्रत्यारोपण केन्द्रले गर्नुपर्ने बताए । 

मानव अंग प्रत्यारोपण केन्द्रकै नेतृत्वमा नयाँ जनशक्ति उत्पादनका लागि सात वटै प्रदेशमा फेलोसिपको व्यवस्था गर्ने सरकारको योजना रहेको उनले बताए । 

उनले भने,‘मानव अंग प्रत्यारोपण केन्द्रले फेलोसिपको उपयोग गरेर संवेदनशील उपचार क्षेत्रमा हेलचेक्र्याइँ गर्नुहुँदैन । विशेषज्ञता हासिल नगरेकाहरूले यस क्षेत्रमा काम गर्ने स्थिति हुँदैन । यस्ता फेलोसिपको माध्यबाट यस क्षेत्रमा थप जनशक्ति उत्पादन हुने, उपलब्ध जनशक्तिले थप दक्षता हासिल गर्ने र मानव अंग प्रत्यारोपण केन्द्रकै नेतृत्वमा यसलाई सात वटै प्रदेशमा विस्तार गर्ने हाम्रो योजना छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?