मेडिसिटी अस्पतालविरुद्ध कानुनी लडाइमा होमिएको रिमाल परिवार

उपचारमा गम्भीर लापरबाही भएको भन्दै पाँच करोड क्षतिपूर्ति माग

लोकपथ
133
Shares

काठमाडौं । प्रताप रिमालले मेडिसिटी अस्पतालको चरम लापरबाहीको कारण आफ्नो ६२ वर्षीय बुबा ज्ञानप्रसाद रिमालको मृत्यु भएको भन्दै सो अस्पताल र उपचारमा लापरबाही गर्ने चिकित्सकलाई कारबाहीको माग गरेका छन् । 

बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै रिमालले अस्पतालले उपचारको क्रममा गरेका लापरबाही र गल्तीको पनि फेहरिस्त सुनाएका थिए । अस्पताल र चिकित्सकले उपचारमा भएको गम्भीर लापरबाही र गल्ती ढाकछोपको लागि गम्भीर झुट बोलेको पनि उनले स्पष्ट पारे । 

पत्रकार सम्मेलनमा उनले भने, ‘खासमा मेरो बुबा मिर्गौला रोगको बिरामी हुनुहुन्थ्यो । विगत डेढ महिनादेखि हेमाडायलाइसिस गराइ राख्नु भएको थियो । हप्तामा तीन दिन डायलाइसिस गराइरहनु भएको मेरो बुबा भदौ ३१ गते साँझ एक्कासी घरमा बसिरहँदा रिँगटा लाग्ने र स्वास फेर्न गाह्रो भएको महसुस भएपछि हामीले उहाँलाई मेडिसिटी अस्पतालको इमर्जेन्सीमा पुर्यायौँ। तर, पछि युरिया लेभल एकदमै धेरै (२०७) भएर गाह्रो भएको रहेछ भन्ने कुरा भयो । संयोग, सोही दिन उहाँको डायलाइसिस गर्ने दिन पनि थियो ।

डायलाइसिस गर्दागर्दै उहाँलाई असहज भएपछि आईसीयूमा राखेर मनिटरिङ गर्नुपर्छ भने र बुबालाई अस्पतालमै राखियो ।त्यसपछि, दोस्रो दिन बुबाको ईसीजी गर्यो । ईसीजी केही चेन्जेज देखिएको भन्दै एन्जियोग्राम गरियो । एन्जियोग्राम पनि सक्सेस भयो र एक दिन मोनिटरको लागि आईसीयूमै राख्ने भनियो । मेडिसिटी अस्पतालमा आईसीयूमा राख्दा बिरामी कुरुवा बस्न नपाउने रहेछ । त्यसैले, हामीलाई पनि घर जान आग्रह गरियो । हामी बाध्यतावश घर फर्कियौँ ।’ 

आफूहरु घर फर्किएकै दिन बुबालाई राति गाह्रो भएको उनको भनाइ छ । उनले अघि भने, ‘एन्जिओग्राम गरिएको ठाउँ सुन्निने र पानीको फोकाजस्तो देखिएछ । बुबालाई खप्नै नसक्ने गरी पीडा भएछ । बुबाले परिवारलाई बोलाइदेउ, मलाई गाह्रो भयो भन्दा पनि अस्पतालले हामीलाई रातभर कुनै खबर गरेन । त्यति मात्रै होइन, त्यसको सही उपचार पनि गरेनछ र रातभर दुखाइ कम गर्ने फेन्टायल मात्र खुवाएर राखेछ ।

जुन कुरा नर्सिङ नोटमा स्पष्ट लेखिएको छ । भोलिपल्ट हामी अस्पताल पुग्दा बुबाको अवस्था नाजुक भइसकेको थियो । र, बुबाको हातको अपरेशन गर्नुपर्ने अवस्थामा पुगिसकेको थियो । अपरेशन नै अन्तिम विकल्प भएपछि हामीले केही गर्न सकेनौँ । जब बुबाको अपरेशन गरियो, त्यसपछि बुबाको स्वास्थ्यमा सुधार हुन सकेन र अन्ततः हामीले बुबालाई असोज ४ गते सदाका लागि बिदा गर्नुपर्‍यो ।’ 

उनले उपचारमा लापरबाही गर्ने अस्पतालविरुद्ध आफूहरूले कानुनी उपचार खोजेको पनि जानकारी दिए । उनले भने, ‘आईसीयूमा रहेको बिरामीलाई लापरबाही गर्ने र आफ्नो गल्ती ढाकछोप गर्न झुट बोल्ने अस्पतालविरुद्ध हामी अहिले अदालती प्रक्रियामा गएका छौँ । ललितपुर जिल्ला अदालत र नेपाल मेडिकल काउन्सिलमा उपचारमा संलग्न डाक्टरहरुलाई कारबाही गरी पीडित पक्षलाई पाँच करोड रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने भन्दै मुद्दा दर्ता गराएका छौँ ।’ 

उनले यस विषयमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलसमक्ष पनि ध्यानाकर्षण पत्र बुझाइएको जानकारी दिए । उनले मेडिसिटी अस्पताल मेडिकल माफियाहरुको जालोमा फसेको आफूहरूले महसुस गरेको दाबी गरे । यो घटना दबाउनका लागि मेडिसिटी लागिपरेको पनि उनको दाबी छ । उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘घटना साम्य पार्नकै लागि उनीहरूले बुबाको उपचारको क्रममा भएको आठ लाख रुपैयाँ पनि फिर्ता गरिसकेका छन् । तर, अस्पतालले गरेको गल्ती र गल्ती ढाकछोप गर्न हामीमाथि बोलेको धावाविरुद्ध हामी जस्तोसुकै परिस्थितिमा पनि लडाइ लड्ने अठोट लिएका छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?