प्रचण्डलाई बाबुरामको प्रश्न : पूर्व माओवादीहरु एक ठाउँमा आएर जनयुद्ध गर्ने कि भोजभतेर ?

लोकपथ
273
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईले अब पूर्व माओवादी घटक एक ठाउँमा आउनुको औचित्य नरहेको स्पष्ट पारेका छन् ।

केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब पूर्व माओवादीहरु एक ठाउँमा आउने जिकिर गरेका थिए । प्रचण्डको उक्त भनाइलाई लक्षित गर्दै पूर्व सहकर्मी समेत रहेका डा. भट्टराईले पूर्व माओवादीहरु एक ठाउँमा आउनुपर्ने कुराको औचित्यबारे प्रश्न उठाएका छन् ।

‘प्रचण्ड निकट केही साथीहरूले फेरि एक पटक हामीलाई समेत जोडेर ‘पूर्व माओवादीहरू’ एक ठाउँमा आउनुपर्ने कुरा गर्न थालेका छन् । अनि भर्खरै सत्ताको खेलबाट बाहिर फालिएका प्रचण्डले ‘सुशाशन’को मुद्दा उठाएर आन्दोलन गर्ने धम्की दिइरहेछन् । यसवारे केही प्रष्ट्याउनु जरूरी भएको छ । पहिलो कुरा, सबै पूर्व माओवादीहरू किन एक ठाउँमा जम्मा हुने ? अर्को जनयुद्ध गर्न? या भोजभतेर गर्न ? या फेरि एक पटक प्रचण्डलाई संसदीय सत्तारोहण गराउन ? यसको वैचारिक–राजनीतिक औचित्य र आधार के हो ?,’ बाबुरामले सामाजिक सञ्जालमा लेख्दै भनेका छन् ।

त्यस्तै उनले ०७२ को संविधान जारी भएपछि नै माओवादी जनयुद्धले कमीकमजोरी स्वीकार गर्दै आफ्नो कार्यभार पूरा गरिसकेको दाबी गरेका छन् । साथै विश्व औधोगिक क्रान्तिको चरणमा रहेका कारण नेपाल पनि पहिलो औधोगिक क्रान्तिको चरणमा रहेको बताए ।

यसैगरी पछिल्लो कार्यकालमा प्रचण्डले केही फाइलहरु अघि बढाएका कारण आफू भित्री र बाहिरी शक्तिहरुको तारो बनिरहेको प्रचार गर्दै हिँडेको भन्दै त्यसको औचित्य नरहेको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?