‘नो हर्न’ अभियान प्लेकार्ड मार्फत सचेतना जगाउँदै ट्राफिक प्रहरी

लोकपथ
21
Shares

काठमाडौं । केही दिन यता काठमाडौंका चोक चोकमा ‘नो हर्न’ लेखिएका ‘प्लेकार्ड’ सहित ट्राफिक प्रहरी सवारी चालकको नजिकै गएर अनावश्यक हर्नको प्रयोग नगर्न अनुरोध गरिरहेको छ ।

पछिल्लो समय ट्राफिक प्रहरीले थप सक्रिय भएर सवारी साधनबाट हुने ध्वनि प्रदूषण कम गर्न ‘नो हर्न’ अभियानलाई कडाइ गर्दै कारबाहीको साथै सचेतना जगाउने काम गर्दै आएको हो ।

काठमाडौं उपत्यकामा २०७४ वैशाख १ गतेदेखि ‘हर्न निषेधित क्षेत्र’ घोषणा गरेको थियो । ‘नो हन’ लाई अभियानकै रुपमा संचालन गर्दै जनचेतनामुलक गोष्ठी, कार्यक्रम, सचेतनामूलक पर्चा पम्प्लेट वितरण, नो हर्न स्टिकर टाँस्ने लगायत व्यापक प्रचार पसार गरी हर्नको अनावश्यक प्रयोगमा कमी ल्याएको थियो ।

सुरुआती दिनमा ‘नो हर्न’ अभियान प्रभावकारी भए पनि क्रमशः हर्नको प्रयोगमा केही वृद्धि भए पश्चात अहिले ट्राफिक प्रहरीले कडाइका साथ कारबाहीसमेत गर्दै आएको छ ।

सवारी तथा यातायात व्यबस्था ऐन २०४९ ले समेत ध्वनि संकेत दिन निषेध गरेको स्थानमा ध्वनि संकेत दिएमा वा बजाएमा ट्राफिक नियम उल्लंघन हुने स्पष्ट व्यवस्था छ । कानुनी व्यवस्था हुँदा हुँदै पनि कतिपय चालकहरुले लापरबाही गरी वा ध्वनि प्रदुषणको असर बारेमा चेतनाको अभावले आम नागरिक वर्षौँदेखि सवारी साधनहरुले उत्पन्न गर्ने कर्कश ध्वनि प्रदूषणको सिकार हुनुपरेको छ ।

अनावश्यक हर्न बजाएर उत्पन्न हुने ध्वनि प्रदुषणलाई कम गर्न कडाइका साथ प्रस्तुत हुँदै आएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले जानकारी दिए ।

काठमाडौं उपत्यकामा गुड्ने करिब १५ लाख सवारी साधनहरूबाट निस्किने धुवाँ सँगै ध्वनिको प्रदुषणको कारण जनस्वास्थ्यमा ठुलो असर गरेको छ जसको प्रत्यक्ष मारमा स्वयंम ट्राफिक प्रहरी रहने गरेको डिआजी बोहराले प्रस्ट्याए ।

कारबाही सँगै हामीले चोक चोकमा प्ले कार्ड देखाएर चालकहरुलाई थप सचेत गराउने प्रयत्न भइरहेको छ यसले अनावश्यक हर्न बजाउने प्रवृत्तिमा कमी आउने र ध्वनि प्रदूषण नियन्त्रणमा आउने हाम्रो अपेक्षा छ, यसलाई थप कडाई गरिने प्रमुख बोहराले थप उल्लेख गरे ।

गत आ.व.०८०र८१ मा अनावश्यक रुपमा हर्नको प्रयोग गर्ने १०१२३ सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ भने यस वर्ष मात्र १३ हजार तीन सवारी साधनलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

यही कार्तिक १ गतेदेखि ट्राफिक प्रहरीले हर्न निषेधलाई थप कडाई गर्दै चोक जक्सनमा नो हर्न प्ले कार्ड सहित सचेतना अभिवृद्धि गर्ने कार्य गर्दै आएको छ ।

त्यस यता ९६६ जना अनावश्यक हर्नको प्रयोग गरेको कसुरमा कारबाही गरेको छ ।

सामान्यत मानिसको सामान्य सुन्ने क्षमता २६ डेसिबलसम्म हुने र सुन्नका लागी ६० डेसिबलसम्मको ध्वनि स्वीकार योग्य हुन्छ भने ७० डेसिबलको ध्वनि स्वास्थ्यको लागी हानिकारक मानिन्छ ।

ध्वनि प्रदूषणले श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयाघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा कमी आउने लगायत असर गर्ने गर्दछ । जथाभाबी रुपमा साइलेन्सरलाई मोडिफाई गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठुलो आवाज निकाल्ने मोटरसाइकलहरु र प्रेसर हर्न बजाउने सवारी साधनले बढी ध्वनि प्रदूषण गर्ने गरेको छ ।

जथाभाबी हर्न बजाउँदा पैदलयात्री विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला, अशक्त बिरामीहरूको जनस्वास्थ्यमा बढी असर गर्ने विषयलाईसमेत ध्यान दिँदै नियमित निगरानी र कारबाही गरिँदै आएको ट्राफिक प्रहरीका प्रवक्ता डिएसपी रबिन कार्कीले बताए ।

पछिल्लो समय ट्राफिक प्रहरी नभएको स्थानमा पुनस् हर्न बजाउने संख्या बढ्दै गए पछि ट्राफिक प्रहरीले कारबाही अभियानलाई समेत बढोत्तरी गरेको छ । यसको साथै हामीले मुख्य चोकहरुमा ‘नो हर्न’ चिन्ह अंकित प्ले कार्ड सहित थप

ट्राफिक प्रहरी खटाएर सचेतना जगाउने काम पनि सँग सँगै लागेका छौ, यसले अनावश्यक हर्न बजाउने प्रवृत्तिमा केही हदसम्म नियन्त्रण हुने प्रवक्ता कार्कीले  विश्वास व्यक्त गरे ।

दुर्घटना हुने जोखिम वा खतरा भएमा वा सडकको एक भागबाट अर्को भाग नदेखिने घुम्ती मोडहरू भएको स्थानहरुमा अति आवश्यक परेको खण्डमा मात्र हर्नको प्रयोग गर्न हुन ट्राफिक प्रहरीले अनुरोध गरेको छ । यस्ता जोखिमयुक्त मोडहरुमा पनि विपरीत तर्फबाट आउँदै गरेका सवारी साधनलाई संकेत गर्ने गरी छोटो हर्न मात्रै प्रयोग गर्न ट्राफिक प्रहरीको सुझाव छ ।

हर्न कम बजाउने संस्कारको विकास गर्दै सभ्य र अनुशासित सडक बनाउन हामी सबै जिम्मेवार हुनु पर्छ । जथाभाबी हर्न बजाउन जरुरी छैन भन्ने सन्देश प्रवाह गर्न चालकहरुले धैर्य भई अनावश्यक हर्न नबजाई कन यात्रा गर्न र नो हर्न अभियानलाई सफल बनाउन ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?