काठमाडौं । अक्टोबर २५ अर्थात् कात्तिक ९ गते । कालिकास्थानस्थित अध्यागमन विभागको कार्यालय बाहिर एक मंगोलियन युवती भित्र बाहिर गरिरहेकी थिइन् । साथमा अन्दाजी २ वर्षको बालक लिएर भित्र बाहिर गरिरहेकी ती युवती हताश र उदास देखिन्थिन् ।
सामान्यतः नेपाली युवायुवतीलाई अध्यागमन कार्यालयमा जानुपर्ने काम पर्दैन । तर कुनै युवती बच्चा बोकेर भित्र र बाहिर गरिरहेकी देखेपछि शङ्का लागेर उनलाई सोधियो, ‘केही समस्या थियो कि ?’
उनले आफ्नै लवजमा जवाफ दिइन्, ‘समस्या भएर आएको ।’ सामान्य नेपाली बोले पनि उनको लवजले उनी नेपाली नागरिक होइनन् भन्ने स्पष्ट बुझिन्थ्यो । त्यसपछि तपाईँ नेपाली कि विदेशी भनेर सोधिएको प्रश्नमा उनले जवाफ दिइन्, ‘म इन्डोनेसियाको ।’
त्यसपछि सुरु भयो ती युवतीसँगको कुराकानी ।
उनी थिइन्, इन्डोनेसियाली नागरिक अजरिना तुल मिताम्मिमा । २४ वर्षीय अजरिना कसरी नेपाल आइपुगिन् र अहिले कसरी इन्डोनेसिया फिर्तीको तयारी गरिरहेकी छिन्, उनका धोकेबाज नेपाली प्रेमीले केसम्म गरे र सानो बालकसहित उनी इन्डोनेसिया नै किन फर्कँदै छिन् भन्ने दुःखद कथा उनले सुनाउन थालिन् ।
काम विशेषले यी पङ्क्तिकार अध्यागमन विभाग पुग्दा भेटिएकी यी पात्रले आफ्नो करिब ३ वर्षको दुःख र नेपाल छाड्न खोज्दा भोग्नुपरेको सास्तीबारे बिस्तारमा बताइन् ।
उनको दुःखको कहानी उनकै शब्दबाट ।
– मेरो नाम अजरिना तुल मिताम्मिमा हो । म अहिले २४ वर्षको भएँ । मेरो खास घर इन्डोनेसियाको सुराबाया हो । नेपाल आएको साँढे २ वर्ष भयो । म एक्लै आएको थिएँ र अहिले २ वर्षको छोरा पनि छ । म अहिले मेरै देश फर्कने तयारीमा छु । तर मेरो ओभर स्टेका कारण इन्डोनेसिया फर्किन समस्या भइरहेको छ । मेरो पासपोर्ट पनि अध्यागमन विभागमै छ । त्यही भएर म यहाँ आइरहेको छु ।
– खासमा म इन्डोनेसियादेखि नेपालसम्म कसरी आइपुगेँ भन्ने कुरा म तपाईँलाई सुनाउँछु । म इन्डोनेसियाली नागरिक भए पनि १८ वर्षको उमेरमा सन् २०१८ मा स्टुडेण्ट भिसामा पढ्नका लागि भनी ब्रुनाई पुगेको थिएँ । त्यहाँ पढ्दै पार्ट टाइम काम पनि गर्ने गर्दथेँ । म त्यहाँको एक रेमिटेन्स कम्पनीमा काम गर्ने गर्दथेँ ।
उत्तमले मलाई माया गर्ने कुरा बताए । त्यसपछि हामीले त्यहीँको एक मस्जिदमा गएर मुस्लिम धर्मअनुसार विवाह गर्यौँ ।
– कामकै सिलसिलामा ब्रुनाईको टुटोङ भन्ने स्थानमा सन् २०२० को फेब्रुअरी महिनामा नेपाली नागरिक उत्तम राईसँग भेट भयो । उनी नेपालमा पैसा पठाउनका लागि रेमिटेन्स कम्पनीमा आउने गर्दथे । म पनि त्यहीँ काम गर्ने भएकाले उनीसँग चिनजान भएको थियो । चिनजानपछि हामीबिच माया प्रेम भयो । उत्तमले मलाई माया गर्ने कुरा बताए । त्यसपछि हामीले त्यहीँको एक मस्जिदमा गएर मुस्लिम धर्मअनुसार विवाह गर्यौँ ।
– विवाहपछि हामी त्यहाँ सँगै बस्न थाल्यौँ । त्यति बेला उनले मलाई माया गर्दथे । यहीबिचमा म गर्भवती भएँ । तर ब्रुनाईमा बच्चा जन्माउन समस्या हुने भएपछि हामीबिच सल्लाहमै नेपालमै गएर बच्चा जन्माउने कुरा भयो । ब्रुनाईमा हामी श्रीमान् र श्रीमती भएको कुनै लिखित प्रमाण थिएन, त्यस कारण बच्चा जन्माउन नेपाल नै जाने भनेपछि म ६ महिनाको गर्भ बोकेर इन्डोनेसिया गएँ र त्यहाँ नयाँ पासपोर्ट बनाएर १५ जुन २०२२ मा नेपाल आएँ ।
– म इन्डोनेसियाबाट नेपाल आउने बेलासम्म पनि मेरा प्रेमी उत्तम राई भने ब्रुनाईमै थिए । उनी त्यहाँ कन्स्ट्रक्सन कम्पनीमा काम गर्दथे । उनकै सल्लाहबमोजिम म नेपाल आएको थिएँ । म नेपाल आउँदा करिब ३ लाख नेपाली रुपैयाँ पनि बोकेर आएको थिएँ । उत्तमले म आएको एक महिनाभित्र नेपाल आउने बताएका थिए ।
– उत्तमकै सल्लाहबमोजिम सुरुको एक साता म ठमेलको एक होटेलमा बास बसेँ । होटेलमा प्रतिदिन २ हजार नेपाली रुपैयाँ तिर्नुपर्थ्यो । एक सातापछि म कोठा खोज्दै स्वयम्भू पुगेँ र त्यहाँ एउटा कोठा भाडामा लिएर बस्न थालेँ ।
– होटेलबाट कोठामा सरेपछि मैले कोठामा चाहिने सामानसमेत किनेर लगेँ र आफैँ खाना पकाउने र खाने गर्न थालेँ । म उत्तम नेपाल आइपुग्ने प्रतीक्षामा थिएँ ।
उत्तम सम्पर्कमा नआई सम्पर्कविहीन भएपछि म इन्डोनेसिया नै फर्कन खोजेँ । तर त्यति बेलासम्म मेरो गर्भ ७ महिनाको भइसकेको कारण विमान कम्पनीहरूले टिकट काट्नै मानेनन् ।
– म नेपाल आएको एक महिनासम्म उत्तमसँग नियमित कुराकानी भइरहेको भए पनि त्यसपछि उनी सम्पर्कविहीन हुन थाले । मलाई सबैतिरबाट ब्लक गरियो । उत्तम सम्पर्कमा नआई सम्पर्कविहीन भएपछि म इन्डोनेसिया नै फर्कन खोजेँ । तर त्यति बेलासम्म मेरो गर्भ ७ महिनाको भइसकेको कारण विमान कम्पनीहरूले टिकट काट्नै मानेनन् । ७ महिना पुगिसकेको गर्भ भएको व्यक्तिलाई लैजान नसकिने भन्दै सबैजसो विमान कम्पनीहरूले टिकट दिन मानेनन् । त्यति बेला म नेपालस्थित कन्सुलर विभागमा पनि गएँ । नेपालका लागि अवैतनिक दूत चन्द्र ढकालसँग पनि कुरा गरेँ । तर उनले कुनै सहयोग गरेनन् । उनले न मलाई इन्डोनेसिया फर्काउन सहयोग गरे, न त मेरा प्रेमी उत्तमलाई खोज्न नै सहयोग गरे । म इन्डोनेसिया जान नमिलेपछि यहीँ बस्नुको विकल्प रहेन ।
– १३ सेप्टेम्बर, २०२२ मा छोरा राइडेनको जन्म भयो । ललितपुरको पाटन अस्पतालमा छोराको जन्म भयो । मलाई लागेको थियो, छोरा जन्मिएपछि म सजिलै मेरो देश जान पाउँछु होला । तर त्यसो भएन ।
म छोराको कागजातका लागि भन्दै पुनः कन्सुलरलाई भेट्न गएँ । तर उनले पहिले बाबुको ठेगानामा गएर छोराको जन्म दर्ता गराइ कागजात बनाउनुपर्ने बताएपछि म मेरो प्रेमीको ठेगाना खोज्दै पोखरा पुगेँ ।
– छोरा जन्मिएको एक महिनापछि नै म इन्डोनेसिया फर्कन लागेको थिएँ । फर्किँदा छोरासमेत लिएर जानुपर्ने थियो । तर छोराको कुनै कागजात थिएन । अस्पतालमा जन्म भएको प्रमाण बाहेक अरू केही थिएन । त्यसपछि म छोराको कागजातका लागि भन्दै पुनः कन्सुलरलाई भेट्न गएँ । तर उनले पहिले बाबुको ठेगानामा गएर छोराको जन्म दर्ता गराइ कागजात बनाउनुपर्ने बताए । त्यसपछि म मेरो प्रेमीको ठेगाना खोज्दै पोखरा पुगेँ ।
वडा कार्यालयमा उत्तमको ठेगाना खुलाउन सकिनँ भने उनको नागरिकता नभई जन्म दर्ता गर्न नसकिने बताएपछि म निराश भएर काठमाडौं फर्किएँ ।
– म ब्रुनाईमै हुँदा प्रेमीले आफ्नो घर पोखरा रहेको र बसपार्कबाट ५ किलोमिटरको दूरीमा रहेको बताएका थिए । मसँग प्रेमी उत्तमको कुनै कागजात थिएन । तर पनि म छोराको जन्म दर्ता गराइ पासपोर्ट बनाउन पोखरा गएँ । तर वडा कार्यालयमा उत्तमको ठेगाना खुलाउन सकिनँ भने उनको नागरिकता नभई जन्म दर्ता गर्न नसकिने बताएपछि म निराश भएर काठमाडौं फर्किएँ ।
– काठमाडौं फर्किएपछि फेरि कन्सुलर अफिसमै गएर बच्चाको जन्म दर्ता गराइदिनका लागि आग्रह गरेँ । तर त्यहाँबाट नसकिने जवाफ दिइयो । नेपालमा इन्डोनेसियाको दूतावास पनि नभएकाले म थप समस्यामा पर्दै गएँ ।
– म इन्डोनेसियाबाट नेपाल आउँदा ल्याएको तीन लाख रुपैयाँ पनि छोराको जन्म, यहाँको खाना तथा बस्नका लागि खर्च भयो । अब मैले दैनिक खानसमेत नपाउने अवस्था भएपछि मैले स्वयम्भूमै घरको सरसफाइ गर्ने काम सुरु गरेँ । तर मलाई एकदमै थोरै तलब दिइन्थ्यो, जुन तलबले मलाई खानसमेत पुग्दैन थियो । तैपनि मसँग काम गर्नुको विकल्प थिएन ।
धोकेबाज प्रेमीको ठेगाना खोज्ने पनि प्रयास गरेकै हो । मलाई त्यस्तो धोकेबाज प्रेमीसँग बस्नु त थिएन, तर पनि कागजात बन्न सक्यो भने बच्चालाई लिएर इन्डोनेसिया फर्किन पाउँछु भन्ने थियो ।
– यहीबिचमा धोकेबाज प्रेमीको ठेगाना खोज्ने पनि प्रयास गरेकै हो । मलाई त्यस्तो धोकेबाज प्रेमीसँग बस्नु त थिएन, तर पनि कागजात बन्न सक्यो भने बच्चालाई लिएर इन्डोनेसिया फर्किन पाउँछु भन्ने थियो । त्यही आसमा उत्तमको ठेगाना खोजे पनि पाउन सकिनँ । मैले छोराको कागजात बनाउने लडाइँ भने लडिरहेँ । यसका लागि बङ्गलादेशमा रहेको इन्डोनेसियाली दूतावासमा पनि सम्पर्क गरेँ । तर पनि प्रक्रिया त्यति सहज भएन ।
– खासमा म इन्डोनेसियाबाट नेपाल आउनुको कारण पनि इन्डोनेसियामा बच्चा जन्माउन नपाउने भएकैले हो । विवाहको आधिकारिकता नभएसम्म त्यहाँ बच्चा जन्माउन मिल्दैनथ्यो र हाम्रो आधिकारिक कागज थिएन । त्यही भएर नेपाल आएकी म झन् बढी समस्यामा परेँ ।
म अहिले बौद्धको एक सामान्य रेस्टुरेन्टमा काम गरिरहेकी छु र मलाई तीन पटकको खाना दिएर दैनिक १५० रुपैयाँ दिइएको छ ।
– मैले बच्चा जन्मिएपछि निरन्तर काम गरिरहेँ र अहिले पनि बौद्धमा काम गरिरहेकी छु । म अहिले बौद्धको एक सामान्य रेस्टुरेन्टमा काम गरिरहेकी छु र मलाई तीन पटकको खाना दिएर दैनिक १५० रुपैयाँ दिइएको छ । विदेशी नागरिकलाई खाना दिएर काम दिएकैमा म खुसी छु ।
– मैले मेरो बच्चाको पासपोर्ट बनाउन प्रयास गरिरहेकै समयमा गत अगस्ट महिनामा बङ्गलादेशस्थित इन्डोनेसियाली दूतावासका कर्मचारी नेपाल आएका थिए । अगस्ट १७ मा दूतावासका कर्मचारीलाई होटेल हिमालयमा गएर भेट गरे पनि उनले नेपालबाट पासपोर्ट बनाउन नसकिने तर आफूले सक्दो प्रयास गर्ने बताए । त्यसपछि ती कर्मचारीसँग निरन्तर सम्पर्कमा रहेँ ।
– गत सेप्टेम्बर ७ मा नेपालसमेत हेर्ने बङ्गलादेशका लागि इन्डोनेसियाली राजदूत काठमाडौं आए । होटेल हिमालयमा एक कार्यक्रममा राजदूत आएको थाहा पाएपछि म त्यहीँ पुगे । त्यहाँ पुगेर राजदूतलाई भेटेर आफ्नो सबै पीडा सुनाएँ । राजदूतले भोलि (सेप्टेम्बर ८) को बिहान ब्रेकफास्टको समयमा भेट्न भने ।
– म भोलिपल्ट बिहानै राजदूतलाई भेट्न होटेलमा पुगेँ र आफ्नो सबै पीडा सुनाएँ । राजदूतले आफूले सक्दो सहयोग गर्ने तर पासपोर्ट बनाउन सकिने कि नसकिने भन्ने कुरा पछि नै थाहा हुने बताए । यद्यपि मेरो २ वर्षीय छोरा राइडेनको फोटो भने खिचेर लगे ।
– पछि ढाकास्थित इन्डोनेसियाली दूतावासले सशर्त बच्चाको पासपोर्ट बनाइदिने भयो । सर्त के भने मेरो नामबाट छोराको पासपोर्ट बनाएर कुरियर गरी पठाइदिने तर नेपालबाट उद्धारको काम गर्न नसक्ने र बाँकी सबै प्रक्रिया आफैले पूरा गर्नुपर्ने । मसँग अरू कुनै विकल्प थिएन । पासपोर्ट भए म जसरी पनि जान सक्छु भन्ने थियो । मैले हुन्छ भनेपछि पासपोर्ट बनाउने प्रक्रिया सुरु भयो ।
– गत सेप्टेम्बर १६ मा छोराको पनि पासपोर्ट बनेर आयो । त्यसपछि म इन्डोनेसिया जाने भन्दै टिकट काट्न खोजेँ । तर मेरो भिसाको अवधि सकिइसकेको र म ओभर स्टे भएको कारण मैले टिकट काट्न पाइनँ । त्यसपछि मलाई अध्यागमन विभागमा गएर पहिले क्लिरेन्स लिनुपर्ने भनियो । त्यसपछि म नेपालको अध्यागमन विभाग गएँ ।
१० हजार पनि नभएको व्यक्तिले कसरी १० लाख रुपैयाँ तिर्ने ? कहाँबाट ल्याएर तिर्ने ? सुरुमा गोर्खालीसँग विवाह गरेको भन्दा मेरो परिवारले सपोर्ट गरेको थियो । तर अहिले मेरो प्रेमी धोकेबाज रहेछ भनेपछि परिवारले पनि कुनै सपोर्ट गरेको छैन ।
– तर अध्यागमन कार्यालयले नेपालको कानुनअनुसार करिब १० लाख रुपैयाँ ओभर स्टेवापतको जरिवाना गरेपछि मात्रै डिपोर्ट गर्ने जवाफ दियो । तर १० हजार पनि नभएको व्यक्तिले कसरी १० लाख रुपैयाँ तिर्ने ? कहाँबाट ल्याएर तिर्ने ? सुरुमा गोर्खालीसँग विवाह गरेको भन्दा मेरो परिवारले सपोर्ट गरेको थियो । तर अहिले मेरो प्रेमी धोकेबाज रहेछ भनेपछि परिवारले पनि कुनै सपोर्ट गरेको छैन । इन्डोनेसियामा मेरो परिवार पनि गाउँको हो र गरिब परिवार हो ।
दैनिक १५० रुपैयाँ कमाउने गरेको मैले कसरी १० लाख रुपैयाँ ल्याऊँ ? इन्डोनेसिया फर्कने टिकट कसरी काटौँ ?
– अब दैनिक १५० रुपैयाँ कमाउने गरेको मैले कसरी १० लाख रुपैयाँ ल्याऊँ ? इन्डोनेसिया फर्कने टिकट कसरी काटौँ ? इन्डोनेसियामै रहेको एक जना साथीलाई भनेर पछि कमाएर तिर्ने गरी टिकट काटिदिन त भनेको छु । तर नेपालको अध्यागमनमा तिर्न मसँग रकम छैन ।
– मेरो सानो बच्चा भएको कारण मानवीयताका नाताले जेलमा नराखेको हो भन्छन् । तर मैले जानीजानी कुनै अपराध गरेको छैन । यो सबै परिस्थितिले गर्दा भएको हो । म सुरुमै इन्डोनेसिया फर्कन खोज्दा ७ महिनाको गर्भवती भएको कारण जान मिलेन, बच्चा जन्मिए लगत्तै जान खोज्दा बच्चाको कागजात नभएकाले जान मिलेन । अहिले सबै प्रक्रिया पूरा गर्दा २ वर्षको ओभर स्टे भयो । त्यसबापत जरिवाना तिर्ने पैसा मसँग छैन ।
त्यो धोकेबाज प्रेमीको बारेमा थप केही खोज्नु छैन, तर मेरो सन्तानको भविष्यका लागि मैले अझै धेरै संघर्ष गर्नु नै छ । बस, मलाई नेपालबाट मेरै देश फर्कने व्यवस्था मिलाइदिन सबैसँग आग्रह गर्दछु ।
– म इन्डोनेसिया फर्कन चाहन्छु । मलाई त्यो धोकेबाज प्रेमीको बारेमा थप केही खोज्नु छैन । तर मेरो सन्तानको भविष्यका लागि मैले अझै धेरै सङ्घर्ष गर्नु नै छ । बस, मलाई नेपालबाट मेरै देश फर्कने व्यवस्था मिलाइदिन सबैसँग आग्रह गर्दछु ।
कालिकास्थानको अध्यागमन विभाग नजिकैको एक क्याफेमा करिब एक घण्टा कुराकानी गर्दा उनी बेलाबेलामा भक्कानिइन् । यद्यपि काखमा खेलिरहेको छोराले देख्ला भनेर हो कि किन हो, उनले आँसु भने खसालिनन् ।
आफूलाई जेलमै नहालिए पनि आफू बन्धक बनेको भन्दै नेपालबाट इन्डोनेसिया फर्कन सहयोगका लागि उनले आग्रह गरिन् ।
प्रेमी उत्तम राईलाई खोजेर भेट्टाएमा के गर्नुहुन्छ भन्ने पत्रकारको प्रश्नमा अजरिनाले धोकेबाज प्रेमीको थप खोजी नगर्ने र उनको कारण भागेको पीडामा थप पीडा नखेप्ने बताइन् । उनले भनिन्, ‘म अब उनको खोजीमा लाग्दिन । मलाई लाग्छ उसले विवाह गरिसकेको थियो र मलाई झुट बोलेको थियो । मलाई माया गर्थ्यो भने त्यस्तो दुःखमा ऊ भागेर हिँड्दैन थियो । अब त्यस्तो धोकेबाजको खोजी गर्नुको कुनै अर्थ छैन । म उसको खोजी गर्दिन ।’
(युवतीको आग्रहमा उनको तस्बिर ब्लर गरिएको छ ।)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया