खेलाडी पुरिएको घटना छानबिनका लागि पहल गर्ने प्रचण्डको प्रतिबद्धता

लोकपथ
147
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मकवानपुरको सिस्नेरीमा छ जना बाल खेलाडीहरू पुरिएको घटनाको निष्पक्ष छानबिनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

असोज १२ गते पहिरोमा पुरिएर ज्यान गुमाएका मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३, सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयका बाल फुटबल खेलाडीका अभिभावकसँगको भेटमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

‘देशका लागि योगदान गर्ने सपनासहित खेल प्रशिक्षणमा रहेका छ जना बाल खेलाडीको निधनले राष्ट्रलाई अपुरणीय क्षति भएको छ’,अध्यक्ष प्रचण्डले भने, ‘पीडित परिवारहरूको माग र घटनाक्रम हेर्दा यसमा एन्फा र सम्बन्धित विद्यालयको चरम लापरबाही देखिन्छ, खोलानजिक रहेको असुरक्षित ठाउँमा यति महत्त्वपूर्ण प्रशिक्षण केन्द्र किन राखियो भन्नेदेखि सिस्नेरी बजारमा कुनै मानवीय क्षति नहुँदा पनि यी बाल खेलाडीहरूको कसरी क्षति हुन गयो भन्ने विषयमा उच्चस्तरीय छानबिन गर्न आवश्यक छ । म यसका लागि प्रतिपक्षी दलहरूको तर्फबाट पहल गर्नेछु ।’

राजधानीमा छतमा बसेर गुहार माग्दासमेत उद्धार गर्न नसक्ने अवस्थाले पछिल्लो बाढीपहिरोको घटनामा सरकार निकै कमजोर देखिएको उल्लेख गर्दै उनले यिनै विषयहरू समेटेर प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको, राष्ट्रपतिको ध्यानाकर्षण गराइएको, आफ्नो पार्टीले खबरदारी सभा आयोजना गरेको र आवश्यक परे संसद्को विशेष अधिवेशन बोलाएर भए पनि सडक र सदनबाट जनताका आवाजलाई प्रभावकारीरुपमा सरकारसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

घटनाको निष्पक्षमा छानबिन गरी दोषका आधार कारबाही, मृतक खेलाडीहरूलाई अमर बनाउने गरी एउटा कोष स्थापना गरेर एकेडेमी वा कुनै स्मरणयोग्य संरचना र उनीहरूकै नामबाट नियमति प्रशिक्षण खेलकुद आयोजना, एन्फा परिसरमा मृतक खेलाडीहरूको प्रतिमा स्थापना र परिवारलाई उचित राहतका लागि आवश्यक पहल गर्ने उनले बताए । 

अध्यक्ष प्रचण्डले संवेदनशील विषय भएकाले सबै दल र सरोकारवालाहरू गम्भीर हुनुपर्ने उल्लेख गर्दै पीडित पक्षलाई पनि सबैसँग भेट गरेर घटनाको यथार्थ जानकारी गराउन आग्रह गरे ।

पीडित परिवारका तर्फबाट ललितबहादुर घलान, भक्तबहादुर बलम्पाकी, कमला रेग्मी, टीकाराम आचार्य, हेमबहादुर योञ्जन र दिपा बानियाँले अध्यक्ष प्रचण्डलाई संयुक्तरुपमा ध्यानाकर्षणपत्र बुझाएका थिए ।

सो क्रममा पीडित परिवारले विद्यालय व्यवस्थापन र एन्फाको चरम लापरबाहीका कारण घटना भएको भन्दै उच्चस्तरीय छानबिन गरेर दोषीमाथि कारबाही गर्न माग गरेका थिए । 

दुई दिनदेखि इन्द्रसरोवरको ड्याम खोल्ने सूचना आइरहेको बेला बाल खेलाडीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण नगरिएको, अभिभावकले लैजान खोज्दा पनि लैजान नदिएको, पूर्व सतर्कता अपनाएर सिङ्गो सिस्नेरी बजारका बासिन्दा सुरक्षित हुने बेलामा आफ्ना छोराहरूलाई सुरक्षित गर्नतिर नलागेको, विपतको बेलामा पनि परीक्षाका नाममा बालकहरुलाई नछाडिएको, घटनाको ३० घण्टासम्म परिवारलाई सूचना नदिएको, गलत व्यहोराको जाहेरी तयार गरिएको, शव हस्तान्तरणमा पनि सास्ती दिएर छ दिनपछि मात्रै अन्त्येष्टि गर्न बाध्य बनाएको जस्ता कारणले यो घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्ने र दोषीमाथि कारबाही हुनुपर्ने पीडित परिवारले माग गरेका छन् ।

आफूहरूलाई राहतभन्दा पनि न्याय चाहिएको र त्यसका लागि घटनाको निष्पक्ष छानबिन गरेर आगामी दिनमा यस्ता घटना हुन नदिने वातावरण बनाउन राज्य गम्भीर हुनुपर्ने भन्दै पीडितहरूले आफ्ना सन्तानलाई अमर बनाउने गरी उनीहरूको स्मृतिमा खेल क्षेत्रमा देखिने संरचना र संस्था निर्माण गरिनुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?