काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अगामी निर्वाचनमा तयारीबिना सत्ता साझेदार दल नेकपा एमालेजस्तो संगठित संस्थासँग भिडेर जान कठिन हुने बताएका छन् ।
शनिबार काठमाडौंको पेप्सीकोलामा कांग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले एक्लाएक्लै चुनाव लड्ने रणनीति पार्टीले लिएको उल्लेख गर्दै यसका लागि आवश्यक तयारीमा लाग्न जरुरी रहेको बताए । राजनीतिक दलहरुमा समेत आफ्नो मान्छेलाई टिकट बाड्ने प्रचलन रहेको कारण समस्या भइरहेको बताए ।
उनले भने, ‘अब उम्मेदवारी दिँदा कसले जित्नसक्छ भनेर उम्मेदवार खोज्नुपर्ने हुन्छ । टिकट बाँड्ने बेलामा आफ्नो मान्छेलाई टिकट बाँड्ने चलन नै छ । यसले हामीलाई बिगारिरहेको छ । अहिले सबै पार्टीहरू एक्लाएक्लै चुनाव लड्ने भनिरहेका छन् । हामीले त झन् भनिनै रहेका छौँ यो राजनीतिक दलहरूको रणनीतिक चाल हो । एक्लाएक्लै लड्ने हो भने हामीले तयारी त गर्नुपर्यो नि । तयारी गरेर अगाडि बढ्नुपर्छ भन्ने मेरो भनाई हो ।’
त्यस्तै, उनले एमाले र कांग्रेस प्रमुख प्रतिस्पर्धी दल भए पनि राजनीतिक स्थिरताका लागि मिलेर सरकार चलाउनुपरेको बताए । सहमति अनुसार सुरुवाती दुई वर्ष सरकारको नेतृत्व ओलीले गर्ने र आगामी निर्वाचन कांग्रेस सभापति शेर बहादुर देउवा नेतृत्वको सरकारले गर्ने जिकिर गरे ।
‘उहाँहरुबिचको सहमति अनुसार दुई वर्ष केपी ओलीजी प्रधानमन्त्री हुनुहुन्छ । त्यसपछि शेरबहादुरजीले चुनाव गराएर जाने कुरा छ । कांग्रेसको चाहना पनि त्यही हो । तर, हामीहरूको प्रतिस्पर्धी एमाले हो, सहकार्य पनि एमालेसँगै गर्नुपरेको छ । हामीलाई अप्ठ्यारो त्यहाँ परेको छ । सरकारमा बसेकाहरूले सहकार्य गरुन् त बाहिर हामीहरू छौँ । हामीहरूले प्रतिस्पर्धीको रोल पनि खेल्नुपर्छ । होइन भने एमालेजस्तो संगठित संस्थासँग भिडेर जान गाह्रो हुन्छ । यस्तो कुरा हामीले नेतृत्वलाई बुझाउनुपर्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया