काभ्रेपलाञ्चोक । बाढीपहिरोले क्षतिग्रस्त धुलिखेल खानेपानीको पुनः निर्माणका लागि धुलिखेल नगरपालिकाले जर्मन सरकारसँग माग गरेको छ । नगरपालिकाले नेपालका लागि जर्मनी राजदूत डा थोमस प्रिन्जसँग भेट गरी उक्त प्रस्ताव गरेको हो ।
करिब तीन दशकअघिदेखि सञ्चालित उक्त खानेपानी आयोजनाको पुनः निर्माण गर्न तीन करोड ५१ लाख लाग्ने अनुमान गरिएको नगरपालिकाले जनाएको छ । भेटका क्रममा राजदूत प्रिन्जले खानेपानी पुनः निर्माणका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको नगरप्रमुख अशोक ब्यान्जुले बताए। उनका अनुसार गत असोज दोस्रो साताको बाढीपहिरोले आयोजना क्षतिग्रस्त बनाउँदा नगरपालिका–३, ४, ५, ६ र ८ को उपभोक्ता एक महिनादेखि खानेपानी विहीन अवस्थामा रहेका छन् ।
उक्त आयोजनाको पाइपमा बढी क्षति भएको तथा धुलिखेलका अन्य दुई खानेपानीमा दुई करोड चार लाख क्षति भएको जनाइएको छ । बाढीपहिरोबाट नगरको १० वडाका अधिकांश निजी आवास, सडक, खेतीयोग्य जमिन, पशुपक्षी तथा केही वडामा मानवीय क्षति पुगेको थियो । उक्त घटनामा दुई जनाले ज्यान गुमाएका थिए एक अझै बेपत्ता अवस्थामा छन् । नगरपालिकाको प्रारम्भिक तथ्याङ्कअनुसार ६४ घर पूर्णरुपमा क्षति तथा पाँच सय ७२ घर आंशिक क्षति भएका छन् ।
यस्तै, सिँचाइ आयोजनामा ५० लाख, आठ किलोमिटर पक्की सडक, ८० किलोमिटर ग्राभेल सडकमा क्षति पुगेको छभने १८ लाख बराबरको पशुधन क्षति भएको थियो । नगरपालिकाले निजी आवासबाहेक ६५ करोड बराबरको क्षति भएको विवरण तयार गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया