लामखुट्टेमा हात्तीपाइलेको संंकम्रण पत्ता लगाउन अनुसन्धान

लोकपथ
35
Shares

कञ्चनपुर ।  लामखुट्टेमा हात्तीपाइलेको सङ्क्रमण पत्ता लगाउनका लागि अनुसन्धानको कार्य अगाडि बढाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आर्थिक सहयोगमा अनुसन्धानको कार्य भइरहेको छ । 

सुदूरपश्चिम प्रदेशको कैलाली र लुम्बिनी प्रदेशको बाँकेमा हात्तीपाइले रोग सार्ने क्युलेक्स लामखुट्टे संकलनको कार्य पूरा भई प्रयोगशालमा परीक्षणको कार्य भइरहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले बताए । कैलालीमा १० र बाँकेमा १० गरी २० जनाको प्राविधिक टोलीले ६० वडाबाट क्युलेक्स क्विनकिफेसिएटस नामक हात्तीपाइले सार्ने १८ हजार नौ सय ६९ लामखुट्टे संकलनको कार्य गरेको अधिकृत जोशीले बताए । उनका अनुसार कैलालीमा ‘लाइट ट्र्याप’को माध्यमबाट तीन हजार ९७ र ‘माउथ एस्पिरेटर’को माध्यमबाट छ हजार सात सय नौ लामखुट्टे संकलन भएका छन् ।

यसैगरी, बाँकेबाट लाइट ट्र्यापको माध्यमबाट एक हजार ६ सय ९९ र माउथ एस्पिरेटरको माध्यमबाट सात हजार चार सय ६४ लामखुट्टे संकलन भएका छन् । गत भदौ ४ देखि असोज १० गतेसम्म प्राविधिक टोलीले लामखुट्टे संकलनको कार्य गरेका हुन् । ‘लामखुट्टे संकलनको कार्य पूरा भई प्रयोगशालामा पिसिआर प्रविधिबाट परीक्षण भइरहेको छ, ’उनले भने, ‘परीक्षणको नतिजाका आधारमा हात्तीपाइले निवारणका लागि आगामी योजना तयार गरिनेछ, लामखुट्टेको सङ्क्रमण दर पनि पत्ता लाग्छ ।’ मानिसमा मात्र सङ्क्रमण कम भएर रोग निवारणको लक्ष्य हासिल नहुने भएकाले रोग प्रभावित जिल्लामा रोग सार्ने लामखुट्टेमा सङ्क्रमण शून्य दशमलव शून्य २५ प्रतिशतभन्दा कम हुनुपर्ने उनको भनाइ रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?