काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले यही कात्तिक २६ देखि मङ्सिर ७ गतेसम्म अजरबैजानको बाकुमा हुने जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–२९) मा जलवायु वित्तका विषयमा विशेष छलफल हुने बताएका छन् ।
कोप–२९ लाई अर्थपूर्ण बनाउन आज आयोजित ‘राष्ट्रिय जलवायु सम्मेलन’ कार्यक्रममा मन्त्री ठकुरीले कोपमा जलवायु वित्तको एजेन्डालाई महत्वका साथ उठान गरिने उल्लेख गरे । ‘कोपमा सबै देशहरू जलवायु परिवर्तनका कारण निम्तिएका संकट र समस्या समाधान गर्न एकजुट हुनेछन् । जलवायु सङ्कटसँगै समाधानमा नेपालले गरेको उपलब्धिबारे प्रचार गरी थप सहयोग र सहकार्यका माध्यमबाट हाम्रा आवश्यकता पूर्ति गर्नेबारे अघि बढ्ने छौँ, ’उनले भने ।
वित्तीय सहयोगबिना विकसील देशलाई जलवायु परिवर्तनले निम्ताएका चुनौतीसँग लड्न असहज हुने भएकाले वित्तसम्बन्धी विषयमाथि छलफल गरिने मन्त्री ठकुरीले बताए । ‘तापमान वृद्धिलाई एक दशमलव पाँच डिग्रीमा सीमित गर्ने प्रयासमा सबै राष्ट्र एकजुट हुनु जरुरी छ । यसलाई हासिल गर्न विश्वले स्वच्छ तथा दिगो ऊर्जा स्रोत अवलम्बन गरी कार्बन उत्सर्जनमा कमी ल्याउने कार्यलाई प्राथमिकता दिनु आवश्यक छ ।’
जलवायु परिवर्तनका कारण केही समयअघि थामेमा भएको हिमताल विस्फोट र काठमाडौंलगायत क्षेत्रमा आएको बाढीका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराइने मन्त्री ठकुरीले जानकारी दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया