सृष्टि बनिन् मिस पोखरा

लोकपथ
903
Shares

पोखरा । मिस पोखराको ११ औं संस्करणको ताज सृष्टि खड्काले पहिरेकी छन् । पोखरा काजीपोखरी निवासी खड्का मिस पोखरा–२०२४ घोषित हुँदै स्कुटर र नगद ५० हजार पुरस्कार जितेकी छन् ।

मिस नेपालमा समेत प्रतिनिधित्वको अवसर पाएकी उनले विभिन्न गिफ्ट ह्याम्परसमेत हात पारिन् । मिस पोखरा खड्कालाई सन् २०१८ की मिस पोखरा सारा बजिमयले क्राउन पहिर्‍याइदिएकी थिइन् ।

यस्तै, रेखा गैरे फस्ट रनर अप र जेसिका विश्वकर्मा घिमिरे सेकेण्ड रनर अप भइन् । उनीहरुले ताजसहित क्रमशः ३० हजार र २० हजार साथमा विभिन्न गिफ्ट ह्याप्पर प्राप्त गरे । रेखाले वेष्ट इन्टेलेक्टको समेत उपाधि जित्दा जेसिकाले वेष्ट ड्रेस तथा क्वाटवाक अवार्ड जितिन् ।

स्थापनाको स्वर्ण वर्ष मनाइरहेको पोखरा जेसीजले इभेन्ट फर युको व्यवस्थापनमा ६ वर्षपछि मिस पोखरालाई निरन्तरता दिएको हो । त्यसका लागि तीन चरणको अडिसन लिइएको थियो । देशभरबाट छानिएका प्रतिस्पर्धी उत्कृष्टलाई एक महिनासम्म विभिन्न तालिमपछि शनिबार पोखरा सभागृहमा १६ जनालाई ग्राण्ड फिनालेमा उतारिएको थियो ।

परिचय राउण्डदेखि नै दर्शकको मन जितेकी सृष्टिले महत्वपूर्ण सवटाइटलसमेत आफ्नै पोल्टामा पारेकी छन् । उनले भ्यूओर च्वाइस, पपुलारिटी र पर्सनालिटीको अवार्ड जितिन् । उत्कृष्ट ५ भित्र पर्न सफललाई मुख्य निर्णायक सुवर्ण क्षत्रीले २ मिनेटको समय दिएर ‘युवा नेता र वृद्ध नेता (अनुभवी) मध्ये तपाईंले कसलाई चुन्नुहुन्छ ? र, किन ?’ भनी प्रश्न सोधेका थिए ।

५ भित्र परेका ईशा पराजुली र सिम्रन श्रेष्ठसमेतले लिखित जवाफ दिएका थिए । सबैजसो युवा नेता मन पर्छ भन्दै काठमाडौंका मेयर बालेन शाहको उदाहरण दिएका थिए । तीमध्ये सृष्टिको उत्तरले भने निर्णायकको मन जितेको होे । अन्य निर्णायकमा पूर्व सांसद एवं वरिष्ठ सौन्दर्यकर्मी मीना गुरुङ, अभिनेता सरोज खनाल, अभिनेत्री एलिजा गौतम, ला ग्राण्डीका प्रिन्सिपल किरण केसी, शेषराज भट्टराई, डा.रामजी शर्मा थिए ।

कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री बिन्दुकुमार थापाले क्षमता प्रस्फुटनमा यस प्रकारको कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

पोखरा जेसिज अध्यक्ष देवराज शर्माले युवा नारीको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्न यो व्युटी पेजेन्टलाई निरन्तरता दिइएको बताए । कार्यक्रममा मिस नेपाल–२०२४ आश्माकुमारी केसी, नेपाल जेसिजका कार्यकारिणी उपाध्यक्ष राजाराम गौतम, पोखरा जेसीजका कार्यकारिणी उपाध्यक्ष एवं मूल कार्यक्रम संयोजक श्रीकृष्ण सुनार, इभेन्ट फर युका अध्यक्ष विशाल गुरुङलगायत बोलेका थिए । कार्यक्रममा मिस नेपाल आयोजक हिडन टेजरका डाइरेक्टर प्रमोद कंशाकारको पनि उपस्थिति थियो ।

कार्यक्रम सञ्चालन पोखरा जेसीज महासचिव तिलकप्रसाद लामिछाने र उरुषा जोशीले गरेका थिए । कार्यक्रम हेर्न दर्शकको खचाखच उपस्थिति थियो । पहिलोपल्ट सन् १९९५ मा मिस पोखरा भएकोमा पछिल्लो समय २०१८ मा आएर रोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?