तिहारमा भाइ मसलाको भाउ छोइनसक्नु

व्यापारी भन्छन् 'ग्राहक आउँछन् तर खरिद गर्नै डराउँछन्'

काठमाडौं । दसैँपछिको दोस्रो ठूलाे चाड तिहार हाम्रो घरदैलोमा आइसकेको छ । तिहार भन्ने बित्तिकै हामी भाइमसला सम्झने गर्छौँ । त्यसैले होला तिहारको रमझमसँगै बजारमा जताततै भाइमसला देखिन थालेका छन् । बजारका सडकपेटी देखि सानाठूला सबै पसलहरु हिजो आज भाइमसलाले भरिएका छन् । 

भाइटिकाको दिन दाजुभाइलाई उपहार स्वरूप भाइमसला दिने प्रचलनले गर्दा तिहारमा यसको महत्त्व निकै छ । भाइमसलामा विशेष गरी काजु, बदाम, किसमिस, ओखर, चकलेट, सुपारी, नरिवल, मखना लगायतका मसला पर्ने गर्छन् । दाजुभाइलाई दिइने यी मसलाहरू स्वास्थ्यका लागि पनि निकै उपयोगी र फाइदाजनक मानिन्छ ।

बढ्यो भाइमसलाको मूल्य 

सामान्य बेलामा भन्दा तिहारमा मसलाको व्यापार बढ्ने गर्छ । तर यो वर्ष भने व्यापार त्यति नभएको व्यापारीहरू बताउँछन् । सात पुस्तादेखि यही मसलाको व्यापार गर्दैआएकी ललितपुर मंगलबजारकी माया अमात्यले तिहार सुरु हुँदा नहुँदै एक पटक सामान बेचेर अर्को पटक सामान बेच्ने बेला भइसक्दा पनि यसपटक भने पहिलो पटक ल्याएको सामान नै बिक्री नभइसकेको बताइन् । 

अघिल्लो वर्षको तुलनामा यो वर्षको व्यापारमा कमी आउनुमा भाइ मसलामा भएको मूल्य वृद्धि कारक रहेको अमात्य बताउँछिन् । ‘एक महिना अघिको मसलाको मूल्य र अहिलेको मूल्यमा धेरै फरक भएको अमात्यले बताइन् । दसैँ अगाडि गएको बाढी र पहिरोका कारण काठमाडौं ल्याउँदै गरेको सामान बाटोमै रोकिनुपरेको, कतिपय स्थानमा भण्डारण गरिएको सामान नष्ट भएको र लागत समेत बढी परेको भन्दै व्यापारीले बढी रकम लिने गरेको छ । पहिले प्रतिकेजी ३२५ रुपैयाँ पर्ने सुपारी अहिले थोक व्यापारीले नै प्रतिकेजी ५७० रुपैयाँ लिने गरेकाे उनको भनाइ छ ।

सुस्तायो मंगलबजारको व्यापार

पहिले मंगलबजार ललितपुरको व्यापारिक केन्द्र नै थियो । प्राय जसो मानिस सामान किन्न मंगलबजार नै आउने गर्थे । तर अहिले भने मंगलबजारको व्यापार पनि सिफ्ट भएको अमात्यको भनाई छ । अमात्यका अनुसार अहिले मानिसहरू विभिन्न सुपरमार्केट र गल्लीगल्लीमा खुलेका पसलहरुमा पुगेर त्यहीँ सामान किन्ने गरेका छन् । त्यसका कारण पनि व्यापारिक केन्द्र बनेको मंगलबार बिस्तारै सुक्दै गएको उनले गुनासो गरिन् । 

बाउ बाजेकै पेसा समाल्दै आएका मंगलबजारकै अर्का व्यापारी सरोज महर्जन पनि यो वर्षको व्यापार त्यति चित्त बुझ्दो नरहेको बताउँछन् । महर्जनले लोकपथसँग भने, ‘हरेक चाडबाडमा सामानको मूल्य बढ्दै जाने गरे पनि तिहारमा भने मसलाको भाउ घट्ने नै गरेको थियो । तर यो वर्ष भने भाइ मसलाको मूल्य धेरै बढेको छ, ग्राहकहरू आउन त आउँछन् तर मसलाको मूल्य सोध्दै फर्कन्छन् ।’

प्याकेटदेखि किलोका दरमा मसला बिक्री

बजारमा विभिन्न थरिका भाइ मसलाहरू विभिन्न स्वरूपमा पाइन्छन् । कुनै सामानको तौल अनुसार, कुनै सामानको प्रकारका र कुनै सामानको मूल्य अनुसार । 

तौल अनुसार मसला लैजानेहरूले किलोका दरले लैजाने र आफैले घरमा प्याकिङ गर्ने गर्छन् । यसरी लैजाँदा धेरै चाहिनेलाई अलि सस्तो पर्ने गर्छ । यसरी मसला बनाउँदा आफ्नो इच्छा अनुसार र आवश्यकता अनुसार किन्न र बनाउन सकिन्छ ।

तर यो वर्ष चाहिँ यसरी किलो–किलो मसला लैजाने ग्राहक निकै कम भएको ललितपुर लुभूका रत्नमान स्टोरका सञ्चालक बताउँछन् । उनी भन्छन्, ‘किलो–किलो मसला लैजानेहरूले अहिलेसम्म मसला लगिसकेका हुन्थे, किनभने उँहाहरुले पनि घरमा लगेर बनाउने गर्नुहुन्थ्यो तर यस पटक भने त्यसरी लैजानेको संख्या आधी घटेको छ ।’

मसला किन्दा ग्राहकहरूले मसलाको संख्या र मात्रा हेरेर पनि मसला किन्ने गर्छन् । जस्तै काजु, पेस्ता, ओखर, बदाम जस्ता केही प्रकार मात्र भएको प्याकेट मसलाहरू बजारमा उपलब्ध छन् । बजारमा मात्रा र मसलाका संख्या हेरेर एक सय रुपैयाँदेखि २ हजार पाँच सय रुपैयाँसम्मका प्याकेट मसलाहरू उपलब्ध रहेका छन् । न्यून आय भएका र धेरै भाइ मसला चाहिनेहरूले प्राय  एक सय रुपैयाँको प्याकेट मसला लैजाने गरेको व्यापारीहरू बताउँछन् ।

सस्तो मूल्यका साना र रेडिमेड भाइ मसलाका प्याकेटहरू भाइटिकाको दिनसम्म बिक्री हुने गरेको व्यापारीको भनाई छ । 

भाइ मसलाको बजार भाउ

गत वर्षभन्दा यस वर्ष पनि भाइ मसलामा प्रयोग हुने ड्राइ नट्स लगायतका मसलाहरूको खुद्रा मूल्य बढेको पाइन्छ । केही खुद्रा मसला पसलेका अनुसार यस वर्ष काजु प्रति केजी २ हजार २ सय रुपैयाँ, छोकडा ७ सय रुपैयाँ, बदाम १ हजार ८ सय रुपैयाँ, किसमिस ६ सय रुपैयाँ, पेस्ता २ हजार २ सय रुपैयाँ, ओखर ६ सय रुपैयाँ, नरिवल ६ सय रुपैयाँ, सुकुमेल २ हजार रुपैयाँ, सुपारी ६ सय रुपैयाँ, चक्का मिश्री ४ सय रुपैयाँ, ल्वाङ १ हजार ५ सय रुपैयाँ रहेको छ । यो मूल्य खुद्रा विक्रीको औसत मूल्य हो । त्यस्तै तिहारमा नभई नहुने मखना र अञ्जिरको मूल्य प्रति पाउ ४ सय रुपैयाँमा खुद्रा बिक्री भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?