राप्ती लोकमार्ग स्तरवृद्धि गर्न ध्यानाकर्षण

लोकपथ
14
Shares

दाङ ।  दाङको राप्ती लोकमार्ग अन्तर्गत तुलसीपुर बजार क्षेत्रमा सडक मापदण्डको विषयलाई लिएर स्थानीय बासिन्दाले तुलसीपुर उपमहानगरपालिका समक्ष पुनः ध्यानाकर्षण गराएका छन् ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्कालाई बुझाइएको ध्यानाकर्षण पत्रमा उनीहरूले सडकका लागि १५ मिटर वा २५ मिटर छाड्नुपर्ने विषयले अन्यौल सिर्जना गरेको राप्ती राजमार्ग सरोकार मञ्चका अध्यक्ष नवराज लामिछानेले बताएका छन्  । 

उनका अनुसार सोही सडक वीरेन्द्र चोकदेखि टरिगाउँ एयरपोर्टसम्मका सडक दायाँबायाँ तर्फका बासिन्दा मारमा परिरहेका छन् । अहिले सडकको दायाँबायाँ १५ मिटर छाडेको भए पनि त्यसमा सडक पनि नबनेको र खाल्डाखुल्डीले मानवीय क्षति पुगिरहेको भन्दै यसमा सरकारले ध्यान दिनुपर्ने पत्रमा उल्लेख छ । 

अहिले फेरि २५ मिटर सडक र ६ मिटर फुटपाथका लागि छोड्नुपर्ने कुरा उठिरहेको भन्दै यसले झनै अन्यौल थपेको लामिछानेको भनाइ छ ।  यसमा अन्यौल हुँदा घर भाडामा लगाउन नसकेको, घरजग्गा बिक्रीमा समस्या हुने गरेको, बैंक ऋणसमेत पाउन नसेकेको, घरको नक्सा पाससमेत रोकिएको अवस्था रहेको उनको भनाइ छ । 

सडकमा स्तरोन्नति समयानुकूल हुनुपर्ने, कालोपत्रेको दायाँबायाँ नाला निर्माण हुनुपर्ने, १५ मिटरभित्रका खाल्डा पुर्नुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ । सो पत्रमा तुलसीपुर उपमहानगरपालिका–५ र ६ का सातवटा टोल विकास संस्थाका दुई सय ९४ जनाले संयुक्तरुपमा हस्ताक्षर गरेका छन् । यदि सडक विस्तार गर्नुपर्ने अवस्था आएमा नक्सा पास गरेर बनेका घरलाई मुआब्जा दिनुपर्ने समेत संघर्ष समितिको भनाइ थियो ।  

त्यस अवसरमा सडक डिभिजन कार्यालय दाङका प्रमुख दीपेन्द्रबहादुर विष्टले देशभरका राष्ट्रिय राजमार्गमा २५ मिटर सडकका लागि ६ मिटर फुटपाथका लागि छोड्नुपर्ने मापदण्ड रहेको बताए ।  उनले लोकमार्गका खाल्डाखुल्डी पुर्ने काम भने विगतमा पनि भएकाले त्यसलाई निरन्तरता दिने बताए।

तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले राप्ती लोकमार्ग संघीय सरकारको कार्यक्षेत्रभित्र पर्ने भएकाले आफूहरूले समन्वयको भूमिका खेल्ने बताए । नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्र प्रमुख शिवनारायण गोशलीले सडकको स्तरोन्नति हुँदा विद्युतका संरचना हटाउने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?