एनआरएनलाई अध्यक्ष ढकालको आग्रह : विदेशको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउनुहोस्   

लोकपथ
21
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा रहेका नेपालीहरूले आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपालको विकास र समृद्धिमा प्रयोग गर्न आग्रह गरेका छन् ।   

गैर आवासीय नेपाली संघ अमेरिकाद्वारा वासिङ्टनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीका अनगिन्ती सम्भावना रहेको र अहिले लगानीको वातावरण पनि रहेकाले आफ्नो मातृभूमिमा लगानी भित्र्याउन आग्रह गरेका हुन् । 

सो कार्यक्रममा उनले प्रकृतिले नेपाललाई धेरै कुरा दिएको भन्दै त्यसको उपयोग र उपभोग गर्न सक्नुपर्ने बताए । अध्यक्ष ढकालले संकटका बेला सबैलाई आफ्नै जन्मथलो चाहिने प्रसंग उल्लेख गर्दै भने, ‘कोरोना महामारीका बेला हामी सहरमा बसेका गाउँ फर्कियौं, विदेशमा विभिन्न कारणले बसेका नेपालीहरु घर फर्किए । त्यो अवस्थाको स्मरण गर्दा हामी अहिले जहाँ जुन रुपमा भए पनि हाम्रो घर भनेको नेपाल नै रहेछ भन्ने लागेको थियो । त्यसैले पनि म यहाँहरूलाई यो आग्रह गर्दछु कि आफ्नै जन्मस्थानमा केही गर्नुपर्छ ।’  

गैर आवासीय नेपालीहरूले नेपालमा लगानी गर्न चाहेमा महासंघले आवश्यक सबै सहजीकरण गर्ने बताए । उनले  नेपाली लगानीकर्ताहरु पनि सहकार्य गर्न इच्छुक रहेको बताए । अध्यक्ष ढकालले नेपालमा अहिले जलविद्युत, पर्यटन, हस्पिटालिटी, सूचना प्रविधि तथा अन्य पूर्वाधारका क्षेत्रमा लगानीका प्रशस्त सम्भावनाहरू रहेको उल्लेख गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?