शेष घलेपत्नी जमुनाको ३३ लाखको ब्राश्लेट वकिलले उठाएपछि …

सिसिटिभीमा देखिएपछि फिर्ता भयो ३३ लाखको हिराको ब्रासलेट

लोकपथ
2.4k
Shares

काठमाडौं । बिहीबार बेलुका करिब ५ बजेको समयमा प्रहरी प्रमुख आइजिपी बसन्त कुँवरको फोन अपराध महाशाखाका प्रमुखलाई आउँछ । व्यापारी शेष घलेकी श्रीमती जमुना घलेको लाखौँको ब्रासलेट जिल्ला अदालतबाट हराएको कारण तत्काल खोजी गर्न निर्देशन आउँछ ।

आइजिपीको निर्देशन लगत्तै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय (अपराध महाशाखा)को प्रहरी काठमाडौं जिल्ला अदालत पुगेर सोधी खोजी गर्छ । तर त्यति बेलासम्म अदालतमा त्यस विषयको जानकारी नै थिएन । एक्कासि अपराध महाशाखाको प्रहरी पुगेपछि मात्रै अदालतलाई त्यस विषयमा जानकारी भएको थियो ।

अस्ट्रेलियामा बस्ने नेपाली अर्बपति शेष घलेकी पत्नी जमुना घलेको २७ हजार अमेरिकी डलर अर्थात् ३३ लाख नेपाली रुपैयाँको ह्वाइट गोल्डमा हिरा जडित ब्रासलेट हराएको उजुरी पाए लगत्तै खटिएको प्रहरीले काठमाडौं जिल्ला अदालतमा पुगेर सिसिटिभी फुटेज केलाउन थाल्यो ।

सिसिटिभी फुटेज हेर्दै गर्दा अपराह्न ३ बजेर ४७ मिनेट जाँदा एक कालो कोट लगाएका व्यक्तिले परिसरको एक कुनाबाट केही वस्तु टिपेर खल्तीमा हालेको देखियो । प्रहरीले फरक फरक एंगलबाट हेर्दा उक्त वस्तु जमुना घलेकै हो भन्ने पुष्टि गर्‍यो ।

सिसिटिभी फुटेजमा देखिएको दृश्य अनुसार अदालत परिसरभित्र बढार्ने (झाडु लगाउने) समयमा झाडु लगाउँदै गर्दा भुईँमा भेटिएको उक्त ब्रासलेट पनि फोहोर भन्ने ठानेर एक कुनासम्म बढार्दै लगिएको पाइएको छ । उक्त दृश्य देखेका करिब ४५ वर्षका कानुन व्यवसायीले त्यही कुनाबाट उक्त ब्रासलेट टिपेर आफ्नो खल्तीमा हाल्छन् । त्यसपछि एक अर्का कानुन व्यवसायीसँग केही समय कुराकानी गरेर उनी निस्कन्छन् ।

बिहीबार साँझ सिसिटिभीमा उक्त दृश्य देखिएको भए पनि ती कानुन व्यवसायी को हुन् भन्ने कुरा यकिन हुन सकेन । कार्यालय समय पनि सकिएकाले त्यस सम्बन्धमा त्यस दिन थप छानबिन भएन ।

शुक्रवार बिहान कार्यालय खुले लगत्तै अदालत र प्रहरी प्रशासनले ती कानुन व्यवसायीलाई पहिचान गर्न सकेन । त्यसपछि काठमाडौं जिल्ला अदालत बारको सहयोग लिएर खोजी गर्दा ती कानुन व्यवसायी अमृत केसी भएको खुल्यो ।

कानुन व्यवसायीको पहिचान खुले लगत्तै प्रहरीले तत्कालै कानुन व्यवसायीलाई अदालतमा बोलाएर सोधपुछ गर्‍यो । कानुन व्यवसायी केसीले आफूले उक्त सामान टिपेको स्वीकार गर्दै आफैसँग सुरक्षित रहेको बताए ।

ब्रासलेट भेटिएपछि किन प्रहरी वा अदालतलाई खबर नगरी आफैँले लगेको भन्ने जवाफमा कानुन व्यवसायी वकिलले आफ्नो कुनै गलत मनसाय नरहेको बताए । आफूले राम्रो देखेकाले झोलाको चेन होला भन्ने सोचेर लगेको र लैजाने बेलामा पनि कसैको हो कि भनेर नजिक भएकाहरूलाई सोधेको जवाफ दिए ।

प्रहरीले तत्कालै उक्त सामान फिर्ता ल्याउन भनेपछि केसीले उक्त सामान ल्याएर काठमाडौं जिल्ला अदालतमा बुझाए । त्यसपछि प्रहरीले सामान भेट्टाउने कानुन व्यवसायी केसी तथा ब्रासलेटको धनी जमुना गुरुङ घलेलाई कागज गराएर उक्त सामान बिहीबार नै फिर्ता गरेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?