तिहार नजिकिएसँगै जुवाडेको बिगबिगी, ३२ जना पक्राउ

लोकपथ
112
Shares

काठमाडौं । देशको विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ३२ जनालाई पक्राउ गरेको छ ।

तिहार नजिकिएसँगै जुवातास खेल्नेहरुको संख्या समेत बढेपछि प्रहरीले निगरानी बढाएको छ ।

काठमाडौंको कीर्तिपुर नगरपालिका–८ पांगा शालिक बस्ने राम कृष्ण महर्जनको घरमा जुवातास खेलिरहेको अवस्थामा राम कृष्ण समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९९ हजार ९ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

त्यस्तै ललितपुर, ललितपुर महानगरपालिका–२६ सुनाकोठी मलिफाँट बस्ने ५० वर्षीया अमृता राईको घरमा जुवातास खेलिरहेको अवस्थामा अमृता समेत ७ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३० हजार ९ सय २० रूपैयाँ र ९ बुक तास सहित पक्राउ गरेको हो ।

झापा, मेचिनगर नगरपालिका–१० स्थित डेरा गरी बस्ने सोही नगरपालिका–८ घर भएका ३९ वर्षीय यम बहादुर ठकुरीको कोठामा जुवातास खेलिरहेको अवस्थामा यम बहादुर समेत १२ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार ३ सय ९४ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

त्यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका(१ थकालीपुर बस्ने ३३ वर्षीय तारा शर्माको घरमा जुवातास खेलिरहेको अवस्थामा तारा समेत ८ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २७ हजार ५ सय ५० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

उनीहरुलाई सम्बन्धित प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?