दमौलीमा डेंगु नियन्त्रण गर्न घरदैलो अभियान सुरु

लोकपथ
28
Shares

काठमाडौं । डेंगु संक्रमण बढ्दै गएपछि नियन्त्रणका लागि चेतना जगाउन सदरमुकाम दमौलीमा आजदेखि घरदैलो अभियान सुरु गरिएको छ । 

चिसो मौसम बढ्दै जाँदा पनि डेंगु संक्रमण  नघटेपछि व्यास नगरपालिका स्वास्थ्य शाखाले बजार क्षेत्रमा घरदैलो अभियान सुरु गरेको हो । 

डेंगु नियन्त्रणका लागि अपनाउनुपर्ने उपायका बारेमा नगरवासीलाई जानकारी गराउने उद्देश्यसहित घरदैलो अभियान सुरु गरिएको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए । उनले भने, ‘तनहुँमा सबैभन्दा बढी व्यास नगरपालिकामा डेंगु सक्रमित छन् । नियन्त्रण गर्न घरदैलो अभियान सुरु गरिएको हो ।’

प्रमुख सोतीका अनुसार डेंगु नियन्त्रणका लागि लामखुट्टेको वासस्थान खोजौँ र नष्ट गरौँ अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गरिनेछ ।  उनले भने, ‘लामखुट्टेको वासस्थान खोजेर र नष्ट गर्न सक्यौँ भने यसको नियन्त्रण गर्न सकिन्छ । लामखुट्टेले वासस्थान बनाउन सक्ने सम्भावित ठाउँको पहिचान गरी त्यस्ता ठाउँको नष्ट गछौँ ।’

दमौली बजारमा डेंगु संक्रमित थपिने क्रम बढ्दो अवस्थामा रहेकाले चेतना जगाउन अभियान सञ्चालन गर्न आवश्यक भएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले बताए । जिल्लाभर चार हजार सात सय ११ डेंगु संक्रमित रहेकामा व्यास नगरपालिकामा मात्रै एक हजार सात सय १५ छन् । यस्तै शुक्ल गण्डकी नगरपालिकामा आठ सय २०, भिमाद नगरपालिकामा ८३, भानु नगरपालिकामा ४४, म्याग्दे गाउँपालिकामा ४५, बन्दीपुर गाउँपालिकामा एक सय ८६, आँबुखैरेनी गाउँपालिकामा एक हजार ६ सय ९८, ऋषिङ गाउँपालिकामा चार, घिरिङ गाउँपालिकामा ६, देवघाट गाउँपालिकामा ८० र अन्य जिल्ला घर भएका ३० जनामा डेंगु संक्रमण भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?