नेपालमा ‘बन्धक’ इन्डोनेसियाली युवती रिट बोकेर सर्वोच्चमा

अधिवक्ताद्वय मनिष श्रेष्ठ र बासु खड्काले निःशुल्क कानुनी सहायता गर्ने

लोकपथ
854
Shares

काठमाडौं । धोकेबाज नेपाली प्रेमीले अलपत्र पारेकी इन्डोनेसियाली युवती घर फिर्तीका लागि परमादेशको माग गर्दै सर्वोच्च अदालत पुगेकी छिन् । इन्डोनेसियाली युवती अजरिनाले सोमबार सर्वोच्च अदालतमा रिट दर्ता गराएकी हुन् ।

अध्यागमन विभागले पासपोर्ट नियन्त्रणमा लिई जरिवाना तिरेर मात्रै डिपोर्ट गर्ने भनेपछि नेपालमा अघोषित बन्धक बनेकी इन्डोनेसियाली युवती अजरिना तुल मिताम्मिमाले सोमबार रिट निवेदन दर्ता गर्दै सर्वोच्च अदालतको असाधारण अधिकार क्षेत्रको प्रयोग गरी परमादेशको आदेश माग गरेकी छिन् । उनले रिटमा अध्यागमन विभागले तोकेको जरिवाना लगायतका जे जति शुल्क लाग्ने हो, सो सबै शुल्क माफी मिनाहा गरी परिबन्दमा परेको कारण जफत गरिएका पासपोर्ट फिर्ता गरी बच्चा र आमासमेत स्वदेश फिर्तीका लागि परमादेश माग गरेकी हुन् ।

इन्डोनेसियाली युवती अजरिना तुल मिताम्मिमाले सोमबार दर्ता गराएको रिटमा अधिवक्ता द्वय मनिषकुमार श्रेष्ठ र बासु खड्काले निःशुल्क कानुनी सहायता गर्ने प्रतिबद्धता समेत जनाएका छन् । अधिवक्ता श्रेष्ठले यसअघि पनि अध्यागमनको हिरासतमा रहेका विदेशी नागरिकहरूका लागि निःशुल्क कानुनी सहायता गरेका थिए । हिरासतमा रहेका विदेशी नागरिकका रिहाइका लागि पहल गर्दै आएका श्रेष्ठले अजरिनाका लागि पनि निःशुल्क बहस पैरवी र अन्य कानुनी सहायता गर्ने प्रतिबद्धता जनाएका छन् ।सोमबार दर्ता भएको रिटको पेसी मङ्गलवारका लागि तोकिएको छ ।

भएको के थियो ?

ब्रुनाईमा अध्ययन तथा कामका लागि पुगेकी इन्डोनेसियाली युवतीको सन् २०२० मा नेपाली नागरिक उत्तम राईसँग चिनजान भएको थियो । अजरिना ब्रुनाईको एक रेमिटेन्स कम्पनीमा काम गर्दै गर्दा त्यहाँ आउने नेपाली नागरिक उत्तम राईसँग चिनजान भई प्रेममा रहेपछि उनीहरू लिभिङ टुगेदर हुँदै सन् २०२१ को अन्त्यतिर त्यहाँको एक मस्जिदमा गई मुस्लिम धर्म अनुसार विवाहसमेत गरेका थिए ।

विवाह लगत्तै गर्भवती बनेकी अजरिनालाई सन्तान जन्माउनका लागि भन्दै उत्तमले सन् २०२२ को जुनमा नेपाल पठाएका थिए । आफू एक महिनापछि छुट्टी मिलाएर नेपाल आउने भन्दै ६ महिनाको गर्भसहित उत्तमले अजरिनालाई नेपाल पठाएका थिए ।
नेपाल आएपछि सुरुको एक साता ठमेलकै एक होटेलमा बसेकी अजरिना त्यसपछि उत्तमकै सल्लाह बमोजिम स्वयम्भूमा डेरा लिएर बसेकी थिइन् ।

ब्रुनाईमा झाँगिएको प्रेमले नेपालमा साँढे २ वर्ष ‘बन्धक’

तर एक महिनापछि आउँछु भनेका उत्तम बिस्तारै अजरिनासँग टाढा हुन थाले । अजरिनालाई मोबाइल, ह्वाट्सएप, फेसबुक लगायत सबैतिरबाट ब्लक गरी सम्पर्कविहीन भए ।

उत्तम सम्पर्कविहीन भएपछि अजरिना इन्डोनेसिया फर्कन खोजे पनि ७ महिनाको गर्भ भएको कारण कुनै पनि विमान कम्पनीले टिकट काट्न मानेनन् । आफ्नो देश फर्कन नपाएपछि अजरिना नेपालमै सन्तान जन्माएर आफ्नो देश फर्कने गरी तयारी गरिन् ।

सन् २०२२ को सेप्टेम्बर १३ मा अजरिनाले छोरा जन्माइन् । त्यसको एक महिनापछि अजरिना इन्डोनेसिया फर्कन लागेको भए पनि बच्चाको कागजात नभएको कारण फर्कन पाइनन् । त्यसपछि नेपालस्थित इन्डोनेसियाको कन्सुलर चन्द्रप्रसाद ढकाल लगायतलाई भेट गरे पनि छोराको कागजात बनाउन सकिनन् । त्यसपछि उनी उत्तम राईको ठेगाना खोज्दै पोखरा पुगिन् । तर त्यहाँ पनि उनलाई कसैले वास्ता गरेनन् र उत्तमको नागरिकता नभएको कारण न उत्तमको नामबाट बच्चाको पासपोर्ट बनाउन पाइन्, न उत्तमको परिवारसँग नै भेट हुन सक्यो । त्यसपछि उनी निराश भएर काठमाडौं फर्किइन् र बच्चाको पासपोर्ट बनाउन हर सम्भव प्रयास गरिन् ।

नेपालमा इन्डोनेसियाको दूतावास समेत नभएको कारण उनले बच्चाको पासपोर्ट बनाउन पाइनन् । आफू पनि ओभर स्टे भइसकेको कारण लुकेर हिँड्नुपर्ने अवस्था आयो ।

केही समयअगाडि बङ्गलादेशस्थित इन्डोनेसियाली राजदूत नेपाल आएको समयमा आफ्नो सबै पीडा सुनाएपछि राजदूतले आमाकै नामबाट बच्चाको पासपोर्ट बनाई बङ्गलादेशबाट कुरियर गरी नेपाल पठाइदिए ।

त्यसपछि इन्डोनेसिया फर्कन पाउने भएँ भनी खुसी हुँदै टिकट काट्न गएकी उनलाई विमान कम्पनीले टिकट नै दिएनन् । नेपालमा साँढे २ वर्षको ओभर स्टे भइसकेको भन्दै उनलाई पहिले अध्यागमन विभागबाट क्लिन चिट लिएर आउन भनियो । त्यसपछि उनी अध्यागमन विभाग पुग्दा उनलाई करिब १० लाख जरिवाना तिरेपछि मात्रै डिपोर्ट गर्न सकिने भनियो । कानुन अनुसार जरिवाना नतिरी डिपोर्ट गर्न नमिल्ने र छाड्नसमेत नमिल्ने भए पनि सानो बच्चा भएको भन्दै अध्यागमनका कर्मचारीले उनलाई थुनामा नराखी जरिवाना तिर्न निर्देशन दिए ।

तर दैनिक १५० रुपैयाँ लिएर बौद्धको एक खाजा घरमा काम गर्ने अजरिनासँग १० हजार पनि मौज्दात छैन । अध्यागमनले १० लाख रुपैयाँ जरिवाना तिर्न भनेपछि उनी आफ्नो मुलुक फर्कनै नसक्ने अवस्थामा पुगिन् । यहीबिचमा लोकपथ डटकमले अजरिनाले नेपालमा भोगेका पीडा र धोकेबाज प्रेमीको कथा शुक्रवार नै प्रकाशन गरेको थियो ।

लोकपथमा उक्त समाचार पढेपछि अधिवक्ता श्रेष्ठ र खड्काले उनको सम्बन्धमा कानुनी लडाई लडिदिने बताएका थिए । त्यसपछि अधिवक्ताद्वयको सम्पर्कमा पुगेकी अजरिनाका लागि सोमबार सर्वोच्चमा रिट दर्ता भएको हो ।

सुरुमा अधिवक्ताद्वयले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराउने प्रयास गरे पनि थुनामा नरहेको भन्दै फिर्ता गरिदिएपछि सोमबार नै अजरिना आफैँ निवेदक भई परमादेशको माग गरी रिट निवेदन दर्ता गरिएको छ ।

रिटमा उनले आफू परिबन्दमा परी नेपाल छाड्न नपाएको र ओभर स्टे भएको, नेपाली प्रेमीले धोका दिएको तथा सुरुमा गर्भवती भएको कारण फर्कन नमिलेको र पछि बच्चाको कागजात नभएको कारण फर्कन नसकेको भन्दै सबै जरिवाना र कैद मिनाहासहित घर फिर्तीका लागि परमादेशको आदेश माग गरेकी छिन् ।

बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको भए पेसीकै दिन कारण देखाऊ आदेश जारी भई तीन दिनभित्रै जवाफ माग गरी फैसला हुन सक्ने थियो । रिट निवेदनबाट दर्ता भएकाले यसमा केही समय भने अझै लाग्न सक्नेछ । यद्यपि इजलासले पेसीको मिति नै तोकेर अग्राधिकार दिएमा भने यो रिट निवेदन छुट्टै टुङ्गोमा पुग्न सक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?