धमाधम लाभांश घोषणा गर्दै बैंक तथा वित्तीय संस्था, लाभांशमा देखियो आर्थिक मन्दीको असर

लोकपथ
161
Shares

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले धमाधम लाभांश घोषण गर्न थालेका छन् । हालसम्म घोषणा गरेका बैंक तथा वित्तीय संस्थाहरुको अवस्था हेर्दा आर्थिक मन्दीको असर बैंक तथा वित्तीय संस्थाहरुमा पनि देखिएको छ ।

विगतका वर्षहरुमा राम्रो लाभांश घोषणा गरेका संस्थाहरुले यो वर्ष उच्च लाभांश भनेकै १५ प्रतिशतसम्म घोषणा गरेका छन् । यसले यी क्षेत्रहरु आर्थिक मन्दीको मारमा परेको प्रष्ट हुन्छ ।

चालु आर्थिक वर्षमा ५ वाणिज्य बैंकहरुले नगद लाभांश घोषणा गरेका छन् । जसमा एभरेष्ट बैंक, प्राइम कमर्सियल, सानिमा, ग्लोबल आईएमई, सिटिजन्स बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका हुन् ।

सबैभन्दा पहिला एभरेष्ट बैंकले लाभांश घोषणा गरेको थियो । यस बैंकले १५.५३ प्रतिशत नगद लाभांश पारित गरिसकेको छ । बैंकको असोज २० गते सम्पन्न ३०औं वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरेको हो । साधारणसभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ११ अर्ब ७६ करोड ७९ लाख ३ हजार रुपैयाँको १० प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद गरी कुल १५.५३ प्रतिशत लाभांश पारित गरेको बैंकले जनाएको छ ।

यस्तै, सिटिजन्स बैंकले ४.२१ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरिसकेको छ । बैंकको आज कार्तिक १२ गते बसेको १८औं वार्षिक साधारणसभाले आर्थिक वर्षको मुनाफाबाट ४.२१ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको हो । बैंकको कार्तिक १२ गते सम्पन्न वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट ४.२१ प्रतिशत बोनस शेयर अर्थात ५६ करोड ८० लाख रुपैयाँ र कर प्रयोजनका लागि ०.२१ प्रतिशत अर्थात २ करोड ९८ लाख रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

प्राइम कमर्सियल बैंकले पनि ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट ९७ करोड १ लाख २५ हजार ७८६ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो ।

ग्लोबल आईएमई बैंकले ५.५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ । बैंकको असोज २१ गते बसेको संचालक समिति बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट ५.५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । बैंकले गत आवको नाफाबाट हाल कायम चुक्तापुँजी ३६ अर्ब १२ करोड ८७ लाख रुपैयाँको ५ं५ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको हो ।
यसैगरी, सानिमा बैंकले पनि ५.२६३२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । यस बैंकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट ५.२६३२ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको हो ।

घोषणा भएको लाभांश केही बैंकको वार्षिक साधारण सभाबाट पारित भइसकेका छन् भने केहीको राष्ट्र बैंकको स्वीकृतिपछि र वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरूलाई वितरण गरिने बैंकहरुले जनाएका छन् ।

यसैगरी, एक विकास बैंक र सातवटा लघुवित्त कम्पनीले पनि लाभांश घोषणा गरेका छन् । विगतका वर्षहरुको तुलनामा न्यून लाभांश घोषणा गरेका बैंक तथा वित्तीय संस्थाहरुमा आर्थिक मन्दीको प्रत्यक्ष प्रभाव देखिएको छ ।

विकास बैंकहरुमा कामना सेवाले लाभांश वितरण गरेको छ । यस बैंकले गत आर्थिक वर्षको नाफाबाट १२ प्रतिशत लाभांश वितरण गरेको जनाएको छ । बैंकको गत असोज ३० गते बसेको १८औँ वार्षिक साधारणसभाबाट गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट उक्त लाभांश पारित भएको हो । बैंकले आफ्ना शेयरधनीलाई ७ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल १२ प्रतिशत लाभांश पारित गरेको हो ।

यस्तै, सातवटा लघुवित्तले पनि आफ्ना शेयरधनीका लागि नगद लाभांश घोषणा गरेका छन् । नगद लाभांश घोषणा गर्नेमा सबैभन्दा धेरै लाभांश आशा लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त र नेशनल लघुवित्तले घोषणा गरेका छन् ।

आशा लघुवित्त वित्तीय संस्थाको १५ प्रतिशत, गुराँस लघुवित्तको १५ प्रतिशत, नेशनल लघुवित्तको १५ प्रतिशत, स्वावलम्बन लघुवित्तको १४.७५, नेशनल लघुवित्तको १४.२५ प्रतिशत, सपोर्ट लघुवित्तको १४.५ प्रतिशत र आरएसडीसी लघुवित्तको १० प्रतिशत नगद लाभांश घोषणा भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?