काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले र कांग्रेस भ्रष्टाचारमा लिप्त भएकै कारण जनता आजित भएको बताएका छन् ।
मंगलबार किर्तिपुरमा उपनिर्वाचन प्रचार प्रसार कार्यालयको उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले आफैँ सरकारमा रहँदा नागरिकलाई शरणार्थी बनाएर बेच्ने, अदालतले दोषी ठहर गरेका व्यक्तिहरूबाटै अर्बौको चन्दा लिने क्रियाकलापका कारण कांग्रेस र एमाले प्रति जनतामा असन्तुष्टि बढ्दै गएको बताएका हुन् ।
उनले भने, ‘सरकारहरूको कुरा गर्ने हो भने आफू सरकारमा बस्ने आफ्नै नागरिकहरूलाई भुटानी शरणार्थी बनाएर बेच्ने काम भइरहेको छ । आफैँ सरकारको नेतृत्व गर्ने अनि अदालतले दोषी ठहर गरेका व्यापारीसँग अर्बौको चन्दा लिने काम गर्दैछ । यो काम उनीहरूले ठिक गरेका हुन् त ? त्यसकाणले यस्ता क्रियाकलापबाट जनता असन्तुष्ट छन् ।’
जनताले कांग्रेस र एमाले जस्ता भ्रष्ट राजनीतिक दलहरूको विकल्प खोजेका छन् भन्ने प्रमाणित गर्नसमेत आउँदो उपनिर्वाचनमा हराउन आवश्यक रहेको लिङ्देनको भनाइ छ । स्थानीय तहहरूमा राप्रापाले कम ठाउँमा मात्र जिते पनि राम्रो नतिजा आएको उनको दाबी छ ।
‘अब जनता यीनिहरुको विकल्पको खोजीमा छन् भन्ने कुरा प्रमाणित गर्नको लागि भए पनि आउने उपनिर्वाचनमा कांग्रेस एमाले जस्ता पार्टीहरूलाई हराउनुपर्छ । ५३ वटै स्थानीय तहहरूमा कांग्रेस, एमाले र माओवादीले जितेको कुनै स्थानीय तहको तपाईँले उदाहरण पाउनु भएको छ जहाँ भ्रष्टाचार भएको छैन, सुशासन भएको छ भन्ने पाउनु भएको छ । स्थानीय तहहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टीले असाध्यै कम ठाउँमा चुनाव जितेको थियो । त्यसमा मेरो गृह गाउँपालिका पनि एक हो । मेरो गाउँपालिकालाई झापाको कर्णाली भनेर भन्ने गरिन्थ्यो तर आज त्यहाँ यति विकास भएको छ कि कालोपत्रे सडक नभएको आज कुनै वडा छैन । त्यसैले उपनिर्वाचनमा हामी सबै क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्छौँ,’ उनको भनाइ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया