महोत्तरीको आँप बगैंचामा जलाएर हत्या गरिएकी महिलाको शव भेटियो, सनाखत हुन बाँकी

लोकपथ
84
Shares

काठमाडौं । महोत्तरीको पिपरामा अनुहार जलाएर हत्या गरेको अवस्थामा एक युवतीको शव फेला परेको छ । भारतसँग सीमा जोडिएको पिपरा गाउँपालिका–७, दनौलीमा करिब २५ वर्षीया युवतीको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी सन्तुलाल जैसवालका अनुसार कालो लेहँगा र हल्का पहेँलो रङको कुर्था लगाएकी युवतीको शव आँप बगैँचाको आलीमा भेटिएको हो ।

शव भेटिएको ठाउँ स्थानीय अशोक ठाकुरको आँप बगैँचामा हो । डीएसपी जैसवालले भने, ‘अनुहारमाथि सल राखेर जलाइएको छ । तर, शरीरको अन्य भागमा भने कुनै चोटपटक देखिएको छैन । अनुहार पनि पूरै जलेको छैन । हामीले पोस्टमार्टमका लागि शव प्रादेशिक अस्पताल जलेश्वरमा राखेका छौँ ।’ सोमबार दिउँसै शव फेला परेको भएपनि मंगलबार बिहानसम्म पनि सनाखत हुन नसकेको बताए ।

आफूहरु घटनाको सुक्ष्म अनुसन्धानमा जुटेका पनि उनले बताए । घटनास्थल भारतीय सीमा क्षेत्रबाट झण्डै पाँच किलोमिटर दूरीमा पर्छ । युवतीको हत्या भएको आशंका प्रहरीले गरेको छ । तर, घटनामा संलग्न भएको आरोपमा प्रहरीले अहिलेसम्म कसैलाई पनि पक्राउ गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?