पवित्र तीर्थस्थल कागबेनीमा पितृ तर्पण गर्नेको घुइँचो

लोकपथ
56
Shares

बेनी । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा पितृ तर्पण गर्नेको घुइँचो लागेको छ । यस वर्षको सोह्रश्राद्धमा देशभर बाढी पहिरोले सडक अवरुद्ध भएपछि कागबेनीमा श्राद्ध गरेर पितृ तर्पण गर्न आउन नपाएकाहरु दसैँ लगत्तै आउन थालेका हुन् । कागबेनीस्थित काली गण्डकी नदी किनारको श्राद्ध स्थलमा पितृ तर्पण गर्नका लागि दैनिक सयौँको सङ्ख्यामा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । 

दिवंगत पितृका नाममा श्राद्ध तथा पिण्डदान गर्ने र तर्पण दिनका लागि देशका विभिन्न जिल्लाका साथै भारतबाट धार्मिक तीर्थालु कागबेनी आउने गरेका पुजारी हिमाल सुवेदीले बताए । उनका अनुसार, दैनिक दुई सयभन्दा बढीले दिवंगत आफन्तको सम्झनामा कागबेनीमा श्राद्ध गर्ने र तर्पण दिने गरेका छन् ।

मुक्तिनाथ र दामोदरकुण्डबाट बगेर आउने कालीखोला र मुक्ति गण्डकीको सङ्गम रहेको कागबेनी पितृ तर्पणका लागि महत्त्वपूर्ण तीर्थस्थलका रूपमा मानिन्छ । कागबेनीमा बडादसैँ र चैते दसैँको आँैशीमा हजारौँको सङ्ख्यामा पितृ तर्पण गर्नेहरूको घुइँचो लाग्ने गरेको पुजारी सुवेदीले जानकारी दिनुभयो । यस वर्ष बाढी पहिराका कारण सोह्र श्राद्धको समयमा उल्लेख्य मात्रामा तीर्थयात्री आउन सकेका थिएनन् । 

‘बाढी, पहिरोले सडक मार्ग अस्तव्यस्त बनाएपछि सोह्र श्राद्धमा ठूलो सङ्ख्यामा भक्तजन आउन सकेका थिएनन्, दसैँपछि मौसममा सुधार भएपछि कागबेनीमा तर्पण दिन दिनहुँ भीड लाग्ने गरेको छ, ’पुजारी सुवेदीले भने । दामोदर कुण्डबाट बगेर आएको काली र मुक्तिनाथका एक सय आठ धाराबाट बगेर आएको गण्डकीको संगम भएकाले यहाँ पुगेर पिण्डदान गर्दा सबैभन्दा ठूलो फल मिल्ने कुरा शास्त्रहरूमा उल्लेख छ ।

परापूर्व कालमा काग भुसुण्डे ऋषिले हिमाली तालतलैयामा तपस्या गरी काग खोलामा आएर स्नान गरी पितृहरूका नाममा तर्पण र पिण्ड दिएको हुनाले कागबेनी धाममा पितृ उद्धारका लागि श्राद्ध, तर्पण, पिण्ड आदि दिने चलनको सुरुआत भएको धार्मिक मान्यता छ ।

कागबेनीमा भगवानको दैवी शक्ति प्रकट भएकाले यस स्थानमा आएर पितृको नाममा श्राद्ध ,पिण्ड र तर्पण दिनाले पितृ उद्धार हुने धार्मिक किवंदन्ती रहेको रघुगंगा गाउँपालिका–३ मौवाफाँटबाट पितृ तर्पण गर्न पुग्नीभएका शालिकराम रिजालले बताए । 

विश्वमा शालिग्राम शिला पाइने एक मात्रै नदी काली गण्डकीबाट संकलन भएका शालिग्राम शिलालाई भगवान्का रूपमा भक्तजनले लैजाने गरेका छन् । भक्तजनको आगमन बढेसँगै शालिग्राम शिलासँगै पूजा सामग्रीको बिक्री बढेको स्थानीय देवबहादुर थापाले  बताए । उनका अनुसार, शालिग्राम शिलालाई भक्तजनहरूले विष्णु भगवान्को अवतारका रूपमा मुस्ताङको चिनोका रूपमा लैजाने गर्छन् । 

कागबेनी धाममा श्राद्ध गर्न आउने तीर्थालुहरू यहाँ पितृ उद्धारका कर्म पूरा गरेपछि मात्र मुक्तिनाथ दर्शन गर्न जान्छन् । भक्तजनको सङ्ख्या बढेसँगै कागबेनी क्षेत्रका होटेल भरिभराउ भएका छन् भने व्यापार व्यवसायसमेत चलायमान भएको छ । दसैँ तिहारको बिदाको समयमा मुस्ताङमा दैनिक करिब पाँच हजार पर्यटक भित्रने गरेका छन् । बेनी–जोमसोम सडक मार्ग र अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै मुस्ताङ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकमध्ये अधिकांश कागबेनी र मुक्तिनाथमा पुग्ने गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?