काठमाडौं । बिना जरिवाना र रोकावट आफ्नो मुलुक फिर्तीको माग गर्दै सर्वोच्च अदालत पुगेकी इन्डोनेसियाली युवती अजरिनाको रिटमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको छ । कारण देखाऊ आदेश जारी गर्दै सर्वोच्चले उक्तरिटलाई अग्राधिकार समेत प्रदान गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले अजरिनाको रिटमा विपक्षी अध्यागमन विभाग र गृह मन्त्रालयका नाममा कारण देखाऊ आदेश जारी गर्दै १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो । साथै उक्त मुद्दा छिटो निरूपण गर्नुपर्ने प्रकृतिको रहेको भन्दै रिटलाई अग्राधिकार समेत दिने निर्णय भएको छ ।
आफूले नेपाली युवकसँग विवाह गरी सन्तान जन्माउनका लागि नेपाल आउँदा परिबन्दमा परेर आफू ओभर स्टे बस्नुपरेको जिकिर गर्दै गलत मनसायका साथ ओभर स्टे नभएकाले आफूमाथि लगाइएको करिब १० लाख जरिवाना मिनाहा गर्न माग गर्दै उनी सर्वोच्च अदालत पुगेकी थिइन् । सोमबार दर्ता भएको रिटको प्रारम्भिक सुनुवाइ मङ्गलवार एक न्यायाधीशको इजलासमा भएको थियो ।
यसअघि आफ्नो मुलुक इन्डोनेसिया जाने भन्दै अध्यागमन विभागमा क्लिरेन्सका लागि पुगेकी अजरिना तथा उनको नाबालक सन्तानको पासपोर्ट अध्यागमन विभागले नियन्त्रणमा लिएको थियो । साथै ओभर स्टे बापतको करिब १० लाख रुपैयाँ जरिवाना तिरेपछि मात्रै नेपालबाट डिपोर्ट गरिदिने भनी विभागले उनको पासपोर्ट नियन्त्रणमा लिएको छ। तर आफूसँग जरिवानाबापत तिर्ने रकम नभएको भन्दै आफू बाध्यतामा नेपाल बस्नुपरेको कारणसहित उक्त जरिवाना खारेजीको माग गर्दै उनी सर्वोच्च अदालत पुगेकी थिइन् ।
अजरिनाको रिटमा अधिवक्ताद्वय मनिषकुमार श्रेष्ठ र बासु खड्काले निःशुल्क कानुनी सहायता तथा बहस पैरवी गरिरहेका छन् ।
भएको के थियो ?
ब्रुनाईमा अध्ययन तथा कामका लागि पुगेकी इन्डोनेसियाली युवतीको सन् २०२० मा नेपाली नागरिक उत्तम राईसँग चिनजान भएको थियो । अजरिना ब्रुनाईको एक रेमिटेन्स कम्पनीमा काम गर्दै गर्दा त्यहाँ आउने नेपाली नागरिक उत्तम राईसँग चिनजान भई प्रेममा रहेपछि उनीहरू लिभिङ टुगेदर हुँदै सन् २०२१ को अन्त्यतिर त्यहाँको एक मस्जिदमा गई मुस्लिम धर्म अनुसार विवाहसमेत गरेका थिए ।
विवाह लगत्तै गर्भवती बनेकी अजरिनालाई सन्तान जन्माउनका लागि भन्दै उत्तमले सन् २०२२ को जुनमा नेपाल पठाएका थिए । आफू एक महिनापछि छुट्टी मिलाएर नेपाल आउने भन्दै ६ महिनाको गर्भसहित उत्तमले अजरिनालाई नेपाल पठाएका थिए ।
नेपाल आएपछि सुरुको एक साता ठमेलकै एक होटेलमा बसेकी अजरिना त्यसपछि उत्तमकै सल्लाह बमोजिम स्वयम्भूमा डेरा लिएर बसेकी थिइन् ।
तर एक महिनापछि आउँछु भनेका उत्तम बिस्तारै अजरिनासँग टाढा हुन थाले । अजरिनालाई मोबाइल, ह्वाट्सएप, फेसबुक लगायत सबैतिरबाट ब्लक गरी सम्पर्कविहीन भए ।
उत्तम सम्पर्कविहीन भएपछि अजरिना इन्डोनेसिया फर्कन खोजे पनि ७ महिनाको गर्भ भएको कारण कुनै पनि विमान कम्पनीले टिकट काट्न मानेनन् । आफ्नो देश फर्कन नपाएपछि अजरिना नेपालमै सन्तान जन्माएर आफ्नो देश फर्कने गरी तयारी गरिन् ।
सन् २०२२ को सेप्टेम्बर १३ मा अजरिनाले छोरा जन्माइन् । त्यसको एक महिनापछि अजरिना इन्डोनेसिया फर्कन लागेको भए पनि बच्चाको कागजात नभएको कारण फर्कन पाइनन् । त्यसपछि नेपालस्थित इन्डोनेसियाको कन्सुलर चन्द्रप्रसाद ढकाल लगायतलाई भेट गरे पनि छोराको कागजात बनाउन सकिनन् । त्यसपछि उनी उत्तम राईको ठेगाना खोज्दै पोखरा पुगिन् । तर त्यहाँ पनि उनलाई कसैले वास्ता गरेनन् र उत्तमको नागरिकता नभएको कारण न उत्तमको नामबाट बच्चाको पासपोर्ट बनाउन पाइन्, न उत्तमको परिवारसँग नै भेट हुन सक्यो । त्यसपछि उनी निराश भएर काठमाडौं फर्किइन् र बच्चाको पासपोर्ट बनाउन हर सम्भव प्रयास गरिन् ।
नेपालमा इन्डोनेसियाको दूतावास समेत नभएको कारण उनले बच्चाको पासपोर्ट बनाउन पाइनन् । आफू पनि ओभर स्टे भइसकेको कारण लुकेर हिँड्नुपर्ने अवस्था आयो ।
केही समयअगाडि बङ्गलादेशस्थित इन्डोनेसियाली राजदूत नेपाल आएको समयमा आफ्नो सबै पीडा सुनाएपछि राजदूतले आमाकै नामबाट बच्चाको पासपोर्ट बनाई बङ्गलादेशबाट कुरियर गरी नेपाल पठाइदिए ।
त्यसपछि इन्डोनेसिया फर्कन पाउने भएँ भनी खुसी हुँदै टिकट काट्न गएकी उनलाई विमान कम्पनीले टिकट नै दिएनन् । नेपालमा साँढे २ वर्षको ओभर स्टे भइसकेको भन्दै उनलाई पहिले अध्यागमन विभागबाट क्लिन चिट लिएर आउन भनियो । त्यसपछि उनी अध्यागमन विभाग पुग्दा उनलाई करिब १० लाख जरिवाना तिरेपछि मात्रै डिपोर्ट गर्न सकिने भनियो । कानुन अनुसार जरिवाना नतिरी डिपोर्ट गर्न नमिल्ने र छाड्नसमेत नमिल्ने भए पनि सानो बच्चा भएको भन्दै अध्यागमनका कर्मचारीले उनलाई थुनामा नराखी जरिवाना तिर्न निर्देशन दिए ।
तर दैनिक १५० रुपैयाँमा बौद्धको एक खाजा घरमा काम गर्ने अजरिनासँग १० हजार पनि रकम नभएको उनले लोकपथसँग बताएकी छिन् । अध्यागमन विभागले १० लाख रुपैयाँ जरिवाना तिर्न भनेपछि उनी आफ्नो मुलुक फर्कनै नसक्ने अवस्थामा पुगेकाले अदालतको सहारा लिन खोजेकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया