भाइमसलाको भाउ छोइनसक्नु, उज्यालोको चाडमा भएन बिजुली बत्तीको व्यापार

लोकपथ
98
Shares

काठमाडाैं । नेपालीहरुको दसैंपछिको अर्को ठूलो चाड तिहार घर आँगनमा आइसकेको छ । तिहारको रमझमसँगै बजारमा भिडभाड पनि बढेको छ । चाडबाडको मौका छोपेर बजार भाउ छोइनसक्नु गरी आकाशिएको छ । चाडबाडको मौका छोपेर बजार भाउ बढाउने र उपभोक्ताको ढाड सेक्ने प्रवृत्तिले नेपाली उपभोक्ता हरेक वर्ष मारमा पर्ने गरेको यथार्थ हामीमाझ छर्लङ्ग छ ।

तिहार भन्ने बित्तिकै झिलिमिली बत्ती, फूलमाला, भाइमसला, लुगाफाटोको व्यापार अत्यधिक हुन्छ । यही मौका छोपेर व्यापारीले पनि यस्ता सामग्रीको भाउ ह्वात्तै बढाउने गर्छन् । विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि भाइमसला, फूलमाला, लत्ता कपडाको भाउ बढेको छ भने विद्युतीय सामग्रीको भाउ भने यथावत् छ ।

छोइनसक्नु भाइमसला
तिहारले छपक्कै छोपेसँगै बजारमा भाइमसलाको भाउ पनि छोइनसक्नु गरी बढेको छ । विगतको तुलनामा यो वर्ष मसलाजन्य सामग्रीमा १० देखि ३० प्रतिशतसम्म बजार भाउ बढेको व्यापारी बताउँछन् । भाइमसलामा प्रयोग गरिने काजु, बदाम, पिस्ता, किसमिस, ओखर, नरिवल, छोकडा जस्ता ड्राइ फ्रुट्सको मूल्य विगतको तुलनामा १० देखि ३० प्रतिशतसम्म बढेको हो ।
भाइमसलामा अत्यधिक प्रयोग गरिने ड्राइ फ्रुट्सको राजा काजुको मूल्य २५ प्रतिशतले बढेको छ । त्यसैगरी बदाममा २० प्रतिशतले मूल्य बढेको छ भने अन्यमा १० प्रतिशतले ।

बजारमा हाल काजुको प्रतिकेजी मूल्य २ हजार २ सय रुपैयाँ पुगेको छ । १ हजार ७ सय रुपैयाँमा पाइने काजुको मूल्य तिहारको मुखमा वृद्धि भएको हो । यस्तै, बदामको मूल्य १ हजार ७ सय रुपैयाँ प्रतिकेजी र पिस्ताको मूल्य २ हजार २ सय रुपैयाँ पुगेको छ । भाइमसलामा प्रयोग गरिने अन्जिरको प्रतिकेजी मूल्य २ हजार २ सय रुपैयाँ पुगेको छ । दाना ओखरको प्रतिकेजी मूल्य ६ सय पुगेको छ । किसमिसको मूल्य पनि बढेको छ । किसमिसको प्रतिकेजी मूल्य ६ सय ५० रुपैयाँ पुगेको छ । नरिवल ७ सय रुपैयाँ पुगेको छ ।

भाइमसलामा प्रयोग गरिने ल्वाङ, सुकमेलको भाउ पनि बढेको छ । ल्वाङको प्रतिकेजी मूल्य २ हजार २ सय पुगेको छ भने सुकमेलको प्रतिकेजी मूल्य ३ हजार ५ सयभन्दा बढीमा बिक्री भइरहेको छ । यद्यपी, बजार भाउ व्यापारी, व्यापार स्थल र प्रोडक्टको गुणस्तरअनुसार फरक फरक पाइएको छ ।

नेपालमा यस्ता मसलाजन्य सामग्री भारतलगायत तेस्रो मुलुकहरु चीन, थाइल्याण्ड, कतार, अमेरिकालगायतका देशबाट आयात हुने गरेको छ । भन्सार विभागको यस आर्थिक वर्षको पहिलो तीन महिना अर्थात् असोज मसान्तसम्मको तथ्यांक हेर्दा नेपालमा १ अर्ब २० करोड रुपैयाँभन्दा बढीको भाइमसलाजन्य सामग्रीको आयात भएको छ ।

उज्यालोको चाड तिहारमा भएन बिजुली बत्तीको व्यापार
तिहार भन्नेबित्तिकै हाम्रो मानसपटलमा आउने दृष्य हो झिलिमिली बत्ती । तिहारमा विद्युतीय सामग्रीको व्यापार फस्टाउनु पर्ने हो तर यो वर्ष विगतका वर्षहरुको तुलनामा विद्युतीय सामग्रीको व्यापार फस्टाउन नसकेको व्यवसायीहरूको गुनासो छ ।
लोडसेडिङको समस्या समाधान भएसँगै र नेपालका ग्रामीण भेगमा बिजुलीको पहुँच पुगेसँगै बिजुली बत्तीको आयात ह्वात्तै बढेको थियो भने तिहारको समयमा यसको व्यापार उच्च हुने गरेको थियो । तर, यो वर्ष त्यसो नभएको व्यापारीहरु बताउँछन् ।

विगतमा मैनबत्ती, माटाको पाला र तेलको प्रयोग गरेर बत्ती बालिने चलन धेरै भए पनि नेपालमा बिजुलीको पहुँच बढेसँगै विद्युतीय बत्तीको प्रचलन बढेको छ । विद्युतीय व्यवसायी महासंघका अनुसार विगतका वर्षमा ६० करोड रुपैयाँभन्दा बढीको व्यापार हुने गरेकोमा यस वर्ष ३० करोडसम्मको मात्रै विद्युतीय सामान बिक्री हुने अनुमान छ ।

नेपाली बजारमा विद्युतीय सामग्री चीन र भारतबाट आयात हुने गरेका छन् । गत वर्ष करिब ४ अर्बबराबरका विद्युतीय सामग्री र मैनबत्तीलगायत आयात भए पनि यो वर्षको तीन महिनामा २५ करोडसम्मको मात्रै विद्युतीय सामग्री र मैनबत्तीलगायत सामग्री आयात भएको भन्सार विभागको पछिल्लो तथ्याङ्कमा उल्लेख छ ।

नेपालमा उत्पादित फूल अन्तर्राष्ट्रिय बजारमा निर्यात
तिहार फूलको पनि चाड हो । तिहारमा सयपत्री, मखमली र गोदावरी फूलको व्यापार ह्वात्तै बढ्छ । तिहारमा सर्वाधिक बिक्री हुने सयपत्री, मखमली र गोदावरी फूलको उत्पादन स्वदेशमै हुने भए पनि करोर्डौ रुपैयाँको फूल भारतबाट आयात हुने गरेको छ । जसका कारण स्वदेशी उत्पादनले राम्रो बजार नपाउने गरेको गुनासो हरेक वर्ष आउने गर्छ ।

फूलको आयात भए पनि नेपालमा उत्पादित फूल अन्तर्राष्ट्रिय बजारमा पनि पुग्ने गरेको छ । गतवर्ष जस्तै यस वर्ष पनि करोडौंको फूलमाला विदेश निर्यात भएको छ । नेपालमा उत्पादित सयपत्री, मखमली र गोदावरी फूल अमेरिका, अष्ट्रेलिया, जापान, क्यानडालगायतका देशमा पुग्ने गरेका छन् । यसले नेपाली फूल उत्पादक किसान र व्यवसायीलाई राम्रो प्रतिफल मिल्ने गरेको छ । लक्ष्मीपूजा र भाइटीकाको दिन अत्यधिक प्रयोगमा आउने फूलको व्यापार यसवर्ष विगतको भन्दा राम्रो हुने अपेक्षा किसानको छ ।

यस वर्षको तिहारमा सयपत्री, मखमली, गोदावरीलगायतका फूलको ४५ लाखभन्दा बढी माला खपत हुने अनुमान फ्लोरिकल्चर एसोसिएसन नेपालको छ । एसोसियसनले ३२ करोड रुपैयाँबराबरको सयपत्री फूलको मात्रै माला खपत हुने अनुमान गरेको छ । गत वर्षको तिहारमा २२ करोड ७५ लाख रुपैयाँबराबरको सयपत्री फूलको माला बिक्री भएकोमा यस वर्ष ३२ करोड रुपैयाँको ४० लाख माला बिक्री हुने अनुमान एसोसिएसनले गरेको हो ।

यसैगरी, भाइटीकाका लागि निकै महत्वपूर्ण मानिने मखमली फूलको मालाको व्यापार पनि उच्च हुने गर्दछ । गत वर्ष ३ लाख ३५ हजार वटा मखमली फूलका माला खपत भएको बजारमा यो वर्ष ३ लाख २५ हजारभन्दा बढी मखमली फूलका माला बिक्री हुने अनुमान एसोसिएसनको छ ।

तिहारमा गोदावरी फूलको महत्व पनि उत्तिकै छ । गोदावरी फूलको माला अन्यको तुलनामा महंगो हुने भएकाले यसको उत्पादन र खपत दुवै कम हुने गर्दछ । गोदावरी फूलको २० हजार हाराहारीमा माला खपत हुने अनुमान एसोसिएसनको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?