फालेलुङ विस्फोटमा परी मृत्यु भएका परिवारलाई पाँच लाख दिने सरकारको निर्णय

लोकपथ
105
Shares

काठमाडौं । सरकारले पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका वडा नं ५ मा भएको विस्फोटमा परी मृत्यु भएका दिप्सन साँवा र प्रिन्सा साँवाको एकाघरको परिवारलाई प्रतिपरिवार बिलबमोजिम बढीमा पाँच लाखका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा यही कार्तिक ८ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्तासमेत रहनुभएका पृथ्वीसुब्बा गुरुङले सो आर्थिक सहायता दिने निर्णय गरेको जानकारी दिए ।

त्यस्तै मन्त्रिपरिषद्ले बबई सिँचाइ आयोजनाका लागि बर्दिया जिल्ला, गुलरिया नगरपालिकामा करिब ६५ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । बैठकले विसं २०८१ कात्तिक २१ देखि २७ सम्म मेक्सिकोमा दुईपक्षीय र बहुपक्षीय बैठकहरूमा सहभागी हुन कृषि तथा पशुपन्छी विकासमन्त्रीलाई स्वीकृति प्रदान गर्ने गरेको छ ।

मन्त्रिपरिषद्ले स्लोभानियासमेतका विभिन्न ११ स्थापनका अवैतनिक वाणिज्यदूत÷ महावाणिज्यदूतहरूको पदावधि एक अवधि चार वर्षका लागि थप गर्ने निर्णय गरेको छ । विसं २०८१ मङ्सिर २५ देखि २७ सम्म फिलिपिन्सको मनिलामा आयोजना हुने एसियास्तरको १६ औँ क्षेत्रीय वातावरणीय दिगो यातायात मञ्चमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

त्यस्तै यही कार्तिक १३ देखि १५ सम्म कतारमा आयोजना हुने ‘फेम्ली एन्ड कन्टेम्पोररी मेगाट्रेन्ड’ विषयक सम्मेलनमा माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय बैठकले गरेको छ ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गत ठूलो खोला जलविद्युत् आयोजनाको २२० केभी प्रसारण लाइन आयोजना निर्माणका लागि म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिकामा रहेको राष्ट्रिय वनको कूल ६ दशमलव ०६ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?