बहुविवाहले निम्त्याएको महोत्तरी घटना : जेठीसँग मिलेर कान्छी श्रीमतीको हत्या

लोकपथ
154
Shares

महोत्तरी । जिल्लाको पिपरा नगरपालिका–७ दनौलीस्थित आँपको बगैँचामा महिलाको हत्या गरी फरार रहेका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा महोत्तरी मटिहानी–५ का राकेश नायक र निजकै श्रीमती वर्ष २५ की रीना देवी महरा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीको टोलीले उनीहरुलाई भारतीय सीमा नजिकबाट पक्राउ गरेको हो ।

मृतक लक्ष्मीनिया देवी भने धनुषा गणेशमान चारनाथ नगरपालिका वडा नं ७ गोदार बस्ने रामनाथ मण्डलको श्रीमती थिइन् ।

पक्राउ परेका राकेश र रीना विगत ५ वर्षदेखि भारतका विभिन्न स्थानमा ज्यालामजदुरी गर्दै आइरहेका थिए ।

उनीहरु गत साउनमा नेपालमा आई केही समय पछि भैरहवामा आफ्नो भाइलाई लिई पुनः ज्याला मजदुरी गर्न जान्छन् । त्यस्तै भदौको अन्तिम तिर राकेशले आफ्ना भाइलाई म भाउजु लिएर आउछु भनी जनकपुर आई मृतक लक्ष्मीनीया देवीलाई भैरहवा नै लिएर जान्छन् ।

राकेशले भैरहवाबाट गत कार्तिक १ गते आफ्नो भाइलाई भाउजु लिएर घर पठाउछन् भने राकेश स्वयम कार्तिक ३ गते पिपरास्थित आफ्नो घरमा आउछन् ।

घरमा रहेकी जेठी श्रीमती यानेकी रीनाले कान्छी श्रीमती ल्याएको भन्दै राकेशसँग वादविवाद गर्न थाल्छिन् । यता मृतक लक्ष्मीनीयाले समेत प्रहरी केश गर्दिन्छु, मलाई अंश दिनु पर्छ भन्दा पारीवारिक कलह बढ्न जान्छ ।

यही क्रममा गत कार्तिक ११ गते राती एउटै कोठामा ३ जनाको वादविवाद चलिरहदा १२ गते बिहान २ बजेको समयमा मृतक लक्ष्मीनीया घरबाट निस्किन्छिन् । त्यसको पछाडी राकेश निस्कन्छन र उनीहरु दुवैलाई पछ्याउदै राकेशको जेठी श्रीमती रीनादेवी निस्किन्छिन् ।

घरबाट बाहिर निस्केर अशोक ठाकुरको आँपको बगैँचामा आइपुगेका राकेश र मृतक लक्ष्मीनियाबीच कुटाकुट हुन थाल्छ ।

यही क्रममा राकेश र निजको श्रीमतीले मृतकले लगाएको सलले घाँटी कसी हत्या गरी शवलाई आँपको बगैँचाको छेउमा रहेको कुलोको डीलमा लगी मृतकको ब्यागमा रहेको सारी निकाली मृतकको अनुहारमा राखी आगो लगाई जलाउछन् ।

घटनापछि उनीहरु भागेर सर्लाही, महोत्तरी र भारतीय सीमा नजिक पुग्छन् । भारतीय सीमा नजिकबाट पक्राउ परेका उनीहरुले बयानका क्रममा घटनाबारे बताउँछन् । अहिले उनीहरुमाथि थप अनुसन्धान भइ कर्तव्य ज्यानको मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?