घटना नम्बर १ : रानीबारीको मदिरा पसलमा चोरी
२०८० साल फागुन ७ गते । काठमाडौं महानगरपालिका वडा नम्बर ३, रानीबारीमा देवकोटा इन्टरप्राइजेजका नाममा सञ्चालित मदिरा पसलमा अन्दाजी ३० वर्षका एक युवा अपरान्ह ४ बजेतिरको समयमा आइपुग्छन् । आफ्नो खाजा घर रहेको भन्दै पसलका लागि भनी करिब ५ हजार ५ सय रुपैयाँ पर्ने ७५० मिलिलिटरको दुईवटा जी एण्ड जी ह्वीस्की, तीन हजार रुपैयाँ पर्ने सूर्य चुरोटको एक पेटी र २ हजार ३३३ रुपैयाँ पर्ने शिखर चुरोट एक पेटी गरी कुल करिब ११ हजार रुपैयाँको सामान अर्डर गर्छन् । पसलमा रहेका युवकसँग सामान लिइसकेपछि पसलेलाई भुल भुलैयामा पारेर पसले पसलको अर्को कुनामा रहेका बखत सबै सामान लिएर युवक फरार हुन्छन् ।
गत वर्षको फागुनको घटनामा संलग्न व्यक्ति को थिए भन्ने पत्ता लगाउन सकिएन । प्रहरीमा खबर गरेको भएपनि सानो रकमको घटना भएकाले प्रहरीले पनि अपराधी खोज्नतिर खासै ध्यान दिएन । त्यो घटना त्यसै सेलायो ।
घटना नम्बर २ : बसुन्धराको मदिरा पसलमा चोरी
फागुनमा रानीबारीको मदिरा पसलबाट चोरी भएको जस्तै घटना भयो, गत जेठमा पनि ।
काठमाडौं महानगरपालिका वडा नम्बर ३ बसुन्धरामा रहेको लक्ष्मी कोल्ड स्टोरमा २०८१ जेठको २१ गते त्यस्तै प्रकृतिको चोरी भयो । अपरान्ह १ बजेको समयमा सञ्चालिका लक्ष्मी थापा पसलमा बसिरहेकी थिइन् । सोही समयमा अन्दाजी ३० वर्ष उमेरका एक युवक पसलका लागि सामान खरिद गर्ने भन्दै धमाधम अर्डर दिन थाले ।
ती युवकले करिब ३ हजार ५ सय रुपैयाँ पर्ने गोरखा एण्ड गन ह्वीस्की एक थान, तीन हजार ५ सय रुपैयाँ नै पर्ने ब्ल्याक चिम्नी ह्वीस्की एक थान, २ हजार १ सय रुपैयाँ पर्ने एक थान ८८४८ भोड्का, २ हजार १ सय रुपैयाँ नै पर्ने एक थान खुकुरी रम, ३ हजार रुपैयाँ पर्ने एक पेटी सूर्य चुरोट मगाए । ती सबै सामान ल्याएर अगाडि राखेपछि फेरि अर्को मदिरासमेत अर्डर गरे । सञ्चालिका लक्ष्मी अर्को मदिरा लिन भित्र जाने बित्तिकै युवक सबै सामान लिएर फरार भए । अर्थात् उक्त मदिरा र चुरोट लिएर युवक भागे । लक्ष्मीको पसलबाट पनि युवकले १४ हजार २ सय रुपैयाँ बराबरको सामान चोरेर भागे । ती युवक सामान चोरेर भाग्दा पसलको नजिकै एक स्कुटर रोकिइ राखेको थियो । ती युवक सोही स्कुटर चढेर फरार भए । यद्यपि उक्त स्कुटरको नम्बर कसैलाई पनि थाहा भएन ।
उक्त घटनाको जानकारी पनि प्रहरीलाई गराइयो । तर, १४ हजार रुपैयाँको चोरीमा प्रहरीले खासै मिहिनेत गरेन ।
घटना नम्बर ३ : बसुन्धराको मदिरा पसलमा चोरी
२०८१ भदौको ४ गते प्रहरीलाई खबर आयो कि बसुन्धराको अर्को मदिरा पसलमा पनि पहिलेको जस्तै गरी चोरी भयो । बसुन्धरामा रहेको भैरव लिक्वर स्टेशनमा गत भदौको ४ गते बिहान ११ बजे नै चोरी भएको खबर प्रहरीलाई आयो ।
विजय पौडेलले सञ्चालन गरेको पसलमा पनि पहिलेकै घटना जस्तै गरी अन्दाजी ३० वर्षका एक युवक पसलका लागि सामान किन्न भन्दै आइपुगे । ती युवकले २ हजार ७ सय रुपैयाँ पर्ने वल्ड दरबार एक थान, ३ हजार ५ सय रुपैयाँ पर्ने ब्ल्याक चिम्नी ह्वीस्की दुई थान, २ हजार १ सय रुपैयाँ पर्ने ८८४८ भोड्का दुई थान तथा विभिन्न कम्पनीका करिब २० हजार मूल्य बराबरका चुरोटहरु गरी कुल ३३ हजार ९ सय रुपैयाँका सामान अर्डर गरे । पसलमा रहेकी विजयकी पत्नी प्रभा कुमारी बमले सबै सामान झिकेर झोलामा राखी बिल बनाउनतिर लागिन् । सोही समयमा ती युवकले अर्को एउटा मदिरा पनि अर्डर गरे । बिल बनाउन लागेकी सञ्चालिका अर्को मदिरा झिक्न भनेर पसलको अर्को कुनामा पुगेकी समयमा ती युवक झोलामा राखिएको सबै सामान बोकेर पसल नजिकै रोकेर राखेको स्कुटरमा चढेर भागे । नम्बरसमेत अस्पष्ट भएको कारण सञ्चालिकाले न स्कुटरको नम्बर पत्ता लगाउन सकिन्, न युवकलाई ठम्याउन नै सकिन् । उक्त चोरीमा पनि प्रहरीले खासै सफलता पाउन सकेन ।
घटना नम्बर ४ : पहिले चोरेकै पसलमा दोस्रोपटक चोरी
२०८१ असोज १३ गते दिउँसो अन्दाजी २ बजेर २४ मिनेटको समयमा गत वर्षको फागुन ७ गते चोरी भएको रानीबारीको देवकोटा इन्टरप्राइजेजकै पसलमा उस्तै प्रकृतिको चोरी भयो । पहिले उक्त पसलमा चोरी हुँदा पसलमा पुरुष थिए भने अहिले महिला थिइन् । यद्यपि आज पसलमा हुने महिला सञ्चालिका थिइन् भने पहिले चोरी हुँदा उनका छोरा पसलमा थिए । चोरीको प्रकृति, चोरको उमेर र हुलियाबारे सामान्य जानकारी रहेको कारण महिला पहिले नै सचेत हुँदै सामान तयार गर्दै थिइन् ।
पहिले र अन्य पसलमा जस्तै गरी सो दिन पनि करिब ३० वर्षका एक युवक मदिरा र चुरोट किन्न आएका थिए, आफ्नो पसलका लागि भन्दै । गत असोज १३ गते अन्दाजी २ः२४ को समयमा युवक पसलमा आएर आफ्नो खाजाघरका लागि धमाधम सामान अर्डर गर्न थाले ।
ती युवकले सञ्चालिका रेखा कुमारी बस्नेतसँग ९ हजार ४७८ रुपैयाँको डबल ब्ल्याक ह्वीस्की एक थान, ६ हजार २८० रुपैयाँको रेड लेवल ह्वीस्की एक थान, ३ हजार २ सय ८६ रुपैयाँ पर्ने ७५० एमएलको ब्ल्याक चिम्नी दुई थान गरी कुल २२ हजार २७९ रुपैयाँको सामान अर्डर गरे । त्यसपछि रेखालाई सामानको बिल बनाउन भनी रेखा बिल बनाउन थालेको समयमा ती युवक झोलामा राखिएको सबै सामान बोकेर पसलको नजिकै रोकेर राखिएको स्कुटरमा चढेर भागे । पहिले पनि सोही पसलमा सामान चोरी भएको र हुलियासमेत उस्तै भएको कारण शंका लागेर पहिले नै सचेत बनेकी रेखाले युवक भाग्नेबित्तिकै चोर चोर भनी चिच्याउन थालिन् ।
चोरी गरी दुई युवाहरु भागेपछि स्थानीयले ती चोरहरुको पिछा गर्न थाले । त्यसपछि स्थानीय एक युवा आफै मोटरसाइकल चलाएर ती चोरहरुको पिछा गर्न थाले । स्कुटरले स्पिड बढाएसँगै पिछा गरेका मोटरसाइकलले पनि स्पिड बढाएर पिछा ग¥यो । यसरी भागदौड चल्दै गर्दा टोखा नगरपालिका ९ मा पर्ने धापासी हाइटमा पुगेपछि स्कुटर लड्यो । स्कुटर लडेसँगै स्थानीय मानिसहरु आएर एक युवकलाई भने पक्राउ गरे । स्कुटर चलाएर भाग्दै गरेका अर्का युवक भने स्कुटर लडेलगत्तै त्यहाँबाट भागे ।
पक्राउ परेका व्यक्ति थिए, भक्तपुर जिल्ला साविकको नङखेल गाविस ७ तथा हालको सूर्य विनायक नगरपालिका ७ स्थायी ठेगाना भएका ३० वर्षीय सुरज खत्री, जो यतिबेला महालक्ष्मी नगरपालिका ७ लुभुमा बस्दै आएका थिए । स्थानीयले पक्राउ गरी कुटपीट गर्न थालेलगत्तै प्रहरीको टोली घटनास्थलमा आइपुग्यो । सुरज खत्रीले नै स्कुटर चालक रहेका अर्का चोर नुवाकोटको साविक खानीगाउँ गाविस वडा नम्बर ९ तथा हालको लिखु गाउँपालिका २ स्थायी ठेगाना भएका ३० वर्षीय रञ्जित लामा रहेको बताए ।
प्रहरीले पक्राउ गरेपछि प्रहरीमा दिएको बयानमा सुरज खत्रीले यसअघि पनि पटकपटक चोरी गर्ने गरेको र चोरी गर्दा सँधै जसो एउटै विधि प्रयोग गरेको र सबैजसो चोरीमा साथी रञ्जित लामाको समेत संलग्नता रहेको बयान दिएका छन् ।
दोस्रोपटक एउटै पसलमा चोरी गर्न गई पक्राउ परेपछि सुरज खत्रीले प्रहरीलाई दिएको बयान यस्तो छ :
‘मिति २०८१।०६।१३ गते अन्दाजी १०ः०० बजेको समयमा काठमाडौं जिल्ला मनमैजुस्थित मेरो ससुराली घर गएर फर्किने क्रममा काठमाडौं जिल्ला टोखा नगरपालिका वडा नम्बर ४ स्थित साथी रञ्जित लामासँग भेछ भयो । निजले खाजा खान जाऊँ भनेपछि मैले हुन्छ भनी का.म.पा. वडा नम्बर २६ सामाखुसीस्थित एक खाजाघरमा खाजा खान गएका थियौँ । निज साथी रञ्जित लामाले आफ्नो साथमा अन्दाजी ८ वर्षको छोरालाई पनि लिएर आएको थियो । निज साथी रञ्जित लामासँग मिलेर पहिलेदेखि विभिन्न ठाउँमा चोरी गर्दै आएका थियौँ, उक्त दिन पनि दशैं आयो खर्च छैन जाऊँ चोर्न भनेपछि मैले पनि हुन्छ भनेको हुँ । निज रञ्जित लामाले साथमा ल्याएको छोरालाई घर छोडेर आउँछु तिमी यहीँ बस्दै गर्नु भनेपछि म उक्त खाजा खाने ठाउँमा बसिरहेँ । निज रञ्जित लामाले छोरालाई घर छोडेर आएपछि निजले मलाई निजको बा.प्र.०२–०३२ प ७६५६ नम्बरको स्कुटरमा पछाडी राखेर का.जि.का.म.पा. वडा नम्बर ३ रानीबारीस्थित देवकोटा ब्रदर्स इन्टरप्राइजेज अगाडी रोकेर म स्कुटरमा बस्छु तिमी रक्सी लिएर आउ भनेपछि म उक्त पसलमा गई मेरो होटल पसल छ वल्र्ड दरवार ब्ल्याक चिम्नी दुईवटा, एक लिटरको रेड लेवल एक वटा, एउटा एक लिटरको डबल ब्ल्याक रक्सी दिनु भनेपछि उक्त पसलमा भएकी जाहेरवाला रेखा कुमारी बस्नेतले मलाई रक्सी झोलामा हालेर दिएपछि मेरो साथी त्यहाँ स्कुटरमा बसेको छ सामान राखेर पैसा ल्याइदिन्छु भनी झुक्याई उक्त स्कुटर पछाडी बसी निज साथी रञ्जित लामाले स्कुटर चलाई सामान लिई भागेका हौँ । हामी भागेपछि जाहेरवालाले चोर–चोर भनी चिच्याएपछि हाम्रो पछाडी एकिन नम्बर थाहा नभएको मोटरसाइकल हामीलाई रोक्न पछि–पछि आइरहेको थियो, हामी भाग्ने क्रममा का.जि. टोखा नगरपालिका ९ धापासी हाइटमा हामी स्कुटरबाट लडेपछि स्थानीय मानिस आई पक्रने डरले निज साथी रन्जित लामा स्कुटर छोडी भागेको थियो ।
स्कुटरले मलाई थिची म भाग्न नसकेपछि स्थानीय तथा प्रहरी टोली आएर चोरी गरी ल्याएको वल्र्ड दरवार ब्ल्याक चिम्नी दुईवटा, एक लिटरको रेड लेवल एक वटा, एउटा एक लिटरको डबल ब्ल्याक रक्सी र निज रञ्जित लामाको स्कुटरको डिकी भित्र पाइलट चुरोट ४ बट्टा, शिखर आइस लेखिएको चुरोट ४ बट्टा, सूर्य चुरोट लेखिएको २ बट्टा र ना ६४प ३७०३ लेखिएको नम्बर प्लेट थान–२ सामान सहित मलाई पक्राउ गरी ल्याएको हो ।’
यसरी दिउँसै मदिरा पसलहरुबाट मदिरा तथा चुरोट चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरु सुरज खत्री र रञ्जित लामा रहेको र स्कुटरको नम्बर प्लेट फेरिफेरि चोरी गर्न हिँड्ने गरेको पोल खुल्यो । माथि उल्लेख गरिएका चार स्थानको चोरी पनि आफूहरुले नै गरेको सुरजले बयान दिएपछि यतिबेला जिल्ला प्रहरी परिसर काठमाडौंले सुरज खत्री र रञ्जित लामाविरुद्ध काठमाडौं जिल्ला अदालतमा चोरीको कसुरमा मुद्दा दायर गरेको छ । प्रहरीले सुरज खत्री र रञ्जित लामाविरुद्ध तीन वर्षको कैद सजाय, ३० हजार रुपैयाँ जरिवाना र बिगो बराबरको रकम पीडितहरुलाई भराउन समेत मागदाबी लिई गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया