यी हुन् तिहारमा प्रयोग गरिने अत्यावश्यक सामग्री

लोकपथ
14
Shares

काठमाडौं । उमंग र उत्साह बोकेर आउने सांस्कृतिक पर्व तिहारको भिन्नै महत्त्व छ ।

शरद ऋतुको मौसम भएकाले घर आँगनमा ढकमक्क सयपत्री र मखमली फूल फुलाउने चलन छ । झिलिमिली बत्तीको चाड पनि भएकाले तिहारलाई उज्यालो पर्वका रूपमा मानिन्छ ।

 हिन्दु दर्शन अनुसार यस चाडमा काग, कुकुर, गाई, गोरु र दाजुभाइ तथा दिदीबहिनीको पूजा गरिन्छ । पूजाका क्रममा चाहिने सामाग्रीहरूको किनमेल र व्यापार पनि यसै समयमा चम्किने गर्छ । अन्य पर्वमा प्रयोग गरिने धार्मिक तथा सांस्कृतिक सामाग्रीहरू झैँ तिहारमा पनि अनेकौं सामाग्रीहरूको प्रयोग गर्ने परम्परा छ । ति सामाग्रीहरुले सदैव तिहारको झल्को दिने गर्छ । तिहारमा प्रयोग हुने केही महत्त्वपूर्ण सामाग्रीहरूको बारेमा यहाँ चर्चा गरिएको छ । 

फूल र माला

तिहारका लागि अति आवश्यक सामाग्री मध्ये पर्छ फूल र माला । फूल पनि सयपत्री, गोदावरी र मखमलीको विशेष महत्त्व रहेको पाइन्छ । घर सजाउन देखि पूजा आराधना गर्न यीनै फूलको प्रयोग हुन्छ । लक्ष्मी जल, फूल, तेल र उज्यालोमा बस्ने भएकाले यो बेला फूलमाला र झिलिमिली बत्तीको प्रयोग गरिन्छ । कुकुर, गाई, गोरु साथै दिदीबहिनी तथा दाजुभाइलाई फूलको माला गहिर्‍याउने प्रचलन छ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रंग कहिल्यै उडेर जाँदैन भन्ने मान्यता अनुरूप भाइटिकामा यसको माला लगाउने चलन छ । 

रातो माटो

तिहारमा रातोमाटोको विशेष महत्त्व छ । लक्ष्मीपूजाका दिन रातो माटोको डोरो बनाई घरमा लक्ष्मी भित्राइन्छ । आँगन, तुलसाको मोठ अर्थात् घरको मुलढोका हुँदै भण्डारसम्म रातो माटोको डोरो बनाएर पोत्ने चलन छ । रातो माटोलाई पवित्र मानिने भएकाले भाइटिका वा गोवर्द्धन पूजा गर्ने बेलामा पनि रातो माटोको प्रयोग गर्ने गरिन्छ । 

सप्तरङ्गी वा अविर केसरी

बजारमा सप्तरङ्गी टिका देख्नासाथ तिहारको झल्को पाइन्छ । तिहारका हरेक दिन पूजा आराधना गर्दा अविर केसरीको आवश्यकता पर्छ । भाइटिकाको दिन दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायुको कामना गर्दै निधारमा सप्तरङ्गी टीका लगाउने चलन छ । अष्टचिरिञ्जीवीको पूजा गर्दा पनि अविर केसरी आवश्यक पर्छ । लक्ष्मीपूजा गर्दा पनि अविर केसरी आवश्यक पर्छ । 

भाइ मसला

तिहारको पूर्व सन्ध्यामा बजारमा भाइ मसलाको विक्री अत्यधिक बढ्छ । किनकि तिहारमा भाइ मसला नभई नहुने सामाग्री हो । विभिन्न मसलाहरू राखेर प्याक गरिएको भाइ मसलामा नरिवल, काजु, किसमिस, सुकमेल, ल्वाङ, सुपारी, छोकडा, दालचिनी लगायतका मिश्रित सामाग्रीहरू हुन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाइसकेपछि यस्ता सामाग्री दिने चलन छ । नेवारी समुदायमा म्ह पूजा गर्दा पनि भाइ मसला दिने संस्कार छ ।

चामलको पीठो

तिहारमा सेलरोटी वा मिठाइका परिकार बनाउन चामलको पिठो अनिवार्य मानिन्छ । त्यो भन्दा पनि लक्ष्मीपूजाका दिन चामलको पिठो आवश्यक पर्छ ।घरको मुलोकादेखि पूजा कोठासम्म चामलको पिठोबाट लक्ष्मीकोप्रतिकात्मक पाइला बनाएर झिलिमिली बत्ती बालेर लक्ष्मीको स्वागत गर्न पिठो आवश्यक पर्छ । गोवर्द्धन पूजामा पनि पिठोको प्रयोग हुन्छ । 

तेल र घिउ

तिहार पाँचै दिन आवश्यक पर्ने सामाग्री मध्ये तेल र घिउको उत्तिनै महत्त्व छ । सेलरोटी साथै मिठाइहरू बनाउन तेलको प्रयोग गरिन्छ । दियो बाल्न र भाइटिकाको दिन दाजुभाइको कपालमा लगाउन पनि शुद्ध तोरीको तेल चाहिन्छ । 

मैनबत्ती र धुप

घर आँगनको उज्यालो बनाउन र मिठो सुगन्धका लागि तिहारमा मैनबत्ती र धुप आवश्यक पर्छ । तिहारका प्रत्येक साँझ र बिहान पूजा आराधना गर्दा मैनबत्ती र धुप बाल्ने गरिन्छ । 

कालो भटमास र मासको गेडा

प्रत्येक वर्ष नेपाल संवत्अनुसार कार्तिक शुक्लपक्ष प्रतिपदा तिथिमा म्हःपुजा गर्ने चलन छ । नेवार समुदायले परिवारका सबै सदस्य भेला भएर गरिने यस पूजाका अवसरमा कालो भटमास र मासको गेडाको आवश्यकता पर्दछ । हाँस वा कुखुराको फूल सगुन चढाइ तान्त्रिक विधीबाट गरिने पुजामा अक्षता, लावा, कालो भटमास, मासको गेडा, धान, बेसारले रंगाएको चामलको धूलोको प्रयोग गरिन्छ । 

ओखर र बिमिरो

तिहारको अन्तिम दिन अर्थात् भाइटिकामा अति आवश्यक पर्ने ओखर र विमिरोको विशेष महत्त्व छ । भाइटिका लगाउँदा दिदीबहिनीले दाजुभाइको दुख कष्ट फोडेर फालेको प्रतीकस्वरुप ओखर फुटाउने प्रचलन छ । ओखरले दाजुभाइको कालको बाटो छेक्ने विश्वास गरिन्छ । भाइटीकाकै अवसरमा दियो, कलस, गणेश साथै विमिराको पनि पूजा गर्ने चलन छ । 

दुवो र कटुस

तिहारका अन्य दिन दुवो र कटुसको खासै प्रयोग नआए पनि भाइटीकाका दिन अनिवार्य मानिन्छ । दियो, कलश र गणेशको पूजा गरी यमराजको आह्वान गर्दै दूबोको टीका वा माला र कटुसको प्रयोग गर्ने चलन छ । दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै दुबो लगाइदिने प्रचलन छ । 

गाईको गोबर

तिहारमा घर आँगन पवित्र बनाउन गाईको गोबरले लिपपोत गर्ने प्रचलन छ । हिन्दु संस्कार अनुसार शरीर शुद्धिका लागि आवश्यक पञ्चगव्य गाईकै दूध, दही, घिउ, गहुँत र गोबर मिसाएर बनाइने भएकाले गोबर आवश्यक पर्छ ।

पाला तथा दियो 

तिहारमा घर उज्यालो बनाउन पाला वा दियोको धेरै प्रयोग गरिन्छ । माटोबाट बनेको पालामा तेल राखेर कपासको बात्ती बाल्ने गरिन्छ । लक्ष्मी भित्राउन दियोको धेरै महत्त्व हुन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?