पोखरा । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछाने छविलाल जोशीसहित चार जनालाई केहीबेर अघि जिल्ला अदालत लगिएको छ । कास्की प्रहरीले उनीहरुसहित लीला पछाईं र रामबहादुर खनाललाई म्याद थप लागि जिल्ला अदालत कास्की लगेको हो ।
लामिछानेसहित चारै जनाको अनुसन्धानका लागि प्रहरीले अदालतबाट पाएको म्याद कार्तिक १४ गते नै सकिएको थियो । तर तिहार बिदाका कारण उनीहरुलाई आज मात्र अदालतमा पेस गर्न लागिएको हो ।
यस्तै, सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति लामिछानेको अभियोजन कास्की अदालतमा प्रस्तुत गर्न समय लाग्ने भएको छ ।
जोशी असोज ६ देखि हिरासतमा छन् भने लामिछानेलाई कार्तिक २ मा रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरेर कास्की ल्याइएको थियो । लामिछानेलाई सुरुमा ६ दिन र त्यसपछि ७ दिन अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।
अनुसन्धान नसकिएकाले मंगलबार अदालतसमक्ष थप म्याद माग्ने प्रहरी र सरकारी वकिल कार्यालयको तयारी छ । प्रमाणहरू जुट्दै जाँदा थप अनुसन्धान गर्नुपर्ने भएकाले चार जनाकै म्याद थपका लागि आग्रह गरिने जिल्ला सरकारी वकिल कार्यालयकी न्यायाधिवक्ता कमला काफ्ले बताइन् । ‘म्याद थप गर्न हामीसँग प्रशस्त आधार र कारणहरू छन्,’ उनले भनिन्, ‘प्रहरीको अनुसन्धान प्रतिवेदन पनि आइसकेको छैन । अभियोजन यति छिट्टै लैजान सम्भव छैन ।’
पछिल्लोपल्ट कार्तिक ९ मा पक्राउ परेका नेचर हर्ब्सका सञ्चालक खनालको बयान चलिरहेको छ । लामिछानेको प्रारम्भिक बयान सकिए पनि मगाइएका कागजात र प्रमाण जुट्दै जाँदा थप बयान लिन सक्ने कानुनी बाटो खुला नै रहेको काफ्लेले बताइन् ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा ९० दिन हिरासतमा राखेर अनुसन्धान गर्न मिल्छ । उक्त कसुरमा असोज ६ मा जोशी पहिलोपल्ट पक्राउ परेकाले म्याद मिलान गर्दा हालसम्म झन्डै डेढ महिना भएको छ । यसअघि प्रहरीले २५ दिन म्याद थपको माग गरेकोमा अदालतले ७ दिन थप गरेको थियो । मंगलबार पनि २५ दिन म्याद थपको माग गर्ने जिल्ला सरकारी वकिल कार्यालयको तयारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया