पोखरामा रास्वपा कार्यकर्तामाथि अश्रुग्यास प्रहार

लोकपथ
476
Shares

पोखरा । सभापति रवि लामिछाने पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका रास्वपा कार्यकर्तामाथि प्रहरीले पोखरामा अश्रुग्यास प्रहार गरेको छ । रास्वपाका नेता कार्यकर्ताले रत्नचोक हुँदै वाई चोकमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।

लामिछानेविरुद्ध अनुसन्धान चलिरहँदा समर्थकहरूले भने प्रतिशोधपूर्ण तबरले फसाउन खोजिएको दाबी गर्दै पोखरामा प्रदर्शन गरिरहेका छन् । पोखरास्थित जिरो किलोमा भेला भएर रास्वपाका नेता कार्यकर्तासहितका समर्थकले लामिछानेको पक्षमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरूले लामिछानेको रिहाइको माग गर्दै प्रतिशोधपूर्ण राजनीति नगर्न सरकारसँग माग गरेका छन् ।

सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछाने, छविलाल जोशीसहित चार जनालाई केहीबेर अघि जिल्ला अदालत लगिएको थियो । कास्की प्रहरीले उनीहरुसहित लीला पछाईं र रामबहादुर खनाललाई म्याद थप लागि जिल्ला अदालत कास्की लगेको हो ।

लामिछानेसहित चारै जनाको अनुसन्धानका लागि प्रहरीले अदालतबाट पाएको म्याद कात्तिक १४ गते नै सकिएको थियो । तर तिहार बिदाका कारण उनीहरुलाई आज मात्र अदालतमा पेस गर्न लागिएको हो ।

यस्तै, सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति लामिछानेको अभियोजन कास्की अदालतमा प्रस्तुत गर्न समय लाग्ने भएको छ ।

जोशी असोज ६ देखि हिरासतमा छन् भने लामिछानेलाई कात्तिक २ मा रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरेर कास्की ल्याइएको थियो । लामिछानेलाई सुरुमा ६ दिन र त्यसपछि ७ दिन अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

अनुसन्धान नसकिएकाले मंगलबार अदालतसमक्ष थप म्याद माग्ने प्रहरी र सरकारी वकिल कार्यालयको तयारी छ । प्रमाणहरू जुट्दै जाँदा थप अनुसन्धान गर्नुपर्ने भएकाले चार जनाकै म्याद थपका लागि आग्रह गरिने जिल्ला सरकारी वकिल कार्यालयकी न्यायाधिवक्ता कमला काफ्ले बताइन् । ‘म्याद थप गर्न हामीसँग प्रशस्त आधार र कारणहरू छन्,’ उनले भनिन्, ‘प्रहरीको अनुसन्धान प्रतिवेदन पनि आइसकेको छैन । अभियोजन यति छिट्टै लैजान सम्भव छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?