रविमाथि अनुसन्धान गर्न कास्की प्रहरीले माग्यो थप २५ दिन

लोकपथ
693
Shares

कास्की । प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने भन्दै अदालत समक्ष जिकिर गरेको छ । जिल्ला सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले उनीमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा थप २५ दिनको म्याद दिनुपर्ने माग गरेको हो ।

रविको पक्षबाट बहस गर्ने अधिवक्ताहरूले भने अनुसन्धान भइसकेकाले छोड्न माग गरेका छन् । रविको पक्षबाट अधिवक्ताहरू सुशील पन्त, नारायण घिमिरे, नारायण कँडेललगायतले बहस गर्दै रिहा गर्न माग गरेका हुन् । पीडितको पक्षबाट भने युवराज पराजुली र सरकारी वकिल कार्यालयकी सविता काफ्लेले बहस गरेका थिए ।

म्याद थप गर्ने या नगर्ने भन्नेबारे पक्ष विपक्षमा बहस सकिइसकेको छ । तर न्यायाधीश पौडेलले आदेश सुनाइसकेका छैनन् । कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेमाथि कास्की प्रहरीले सहकारी ठगीको अभियोगमा अनुसन्धान गरिरहेको छ । आजसहित प्रहरीले तेस्रो पटक म्याद थपका लागि लगेको हो । अदालतले पहिलो पटक ६ र दोस्रो पटक सात दिनका लागि म्याद थप गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?