व्यवसायमा रमाएका ट्रम्प, परिवारबाटै ‘स्वतन्त्रता’ सिकेकी ह्यारिस

लोकपथ
413
Shares

काठमाडौं । महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिकाको राष्ट्रपति निर्वाचनको ले विश्वको ध्यान खिचेको छ । एकपटक राष्ट्रपति भइसकेका डोनाल्ड ट्रम्प र बहालवाला उपराष्ट्रपति कमला ह्यारिस चुनावी मैदानमा छन् ।

आ–आफ्नै विशेषता रहेका डेमोक्र्याटिक र रिपब्लिकन उम्मेदवार ह्यारिस-ट्रम्पको जीवनका विभिन्न आयामबारे विश्वभर चर्चा चुलिएको छ ।

विश्वको शक्ति राष्ट्र अमेरिका सचेत नागरिकहरुको बासस्थानका रुपमा चिनिन्छ। त्यही सचेत नागरिकको बासस्थान रहेको अमेरिकामा भइरहेको निर्वाचनबारे धेरै कुरा बाहिरिए पनि खास यहाँ को थिए ट्रम्प ? र को थिइन् ह्यारिस ? यसबारे चर्चा गर्न खोजिएको छ ।

अमेरिकाको पहिलो महिला उपराष्ट्रपति बनेर विश्वसामु परिचित बनेकी ह्यारिसको आमा भारतीय मुल र पिता जमाइका मुलका नागरिक हुन् । ह्यारिसकी आमा श्यामला गोपालान क्यान्सर अनुसन्धानकर्ता र नागरिक अधिकार अभियानकर्ता थिइन् । ह्यारिस ५ वर्षको रहँदा उनका बुबाआमाबीच सम्बन्धविच्छेद भएपछि उनलाई आमाले नै हुर्काइन् । उनकी आमा भारतीय मुलकी र हिन्दूसमेत रहेका कारण विश्वभरका हिन्दूहरुको समेत ह्यारिसप्रति सद्भाव देखिन्छ ।

पहिलो : बाँयाबाट कमलासहित बहिनी र आमा, दोस्रो : आमा र बुबा

ह्यारिसको जन्म सन् १९६४ अक्टोबर २० मा अमेरिकाको क्यालिफोर्नियास्थित ओक्लन्डमा भएको थियो । ओक्लन्डको अस्वेत समुदायमा हुर्किएकी ह्यारिसमा सानैदेखि रंगभेदविरुद्ध निस्किने आवाजले प्रभावित बनाउँदै लगेको देखिन्छ । विश्वकै सर्वोत्कृष्ट हार्वर्ड विश्वविद्यालयमा अध्ययन गर्ने अवसर पाएकी उनी दक्षिण अफ्रिकाको रङ्गभेदविरुद्धको संघर्ष र अमेरिकामा जातीय सम्बन्ध जस्ता राजनीतिक मुद्दाहरूमा संलग्न भइन् । अधिकारका कुरामा संघर्ष गर्ने प्रेरणा पाएकी ह्यारिसले आफ्नो आमाबाटै परिणाममुखी काम गर्ने प्रेरणा पाएको पटकपटक दोहोर्याएकी छिन् । विश्वभर दन्किएको नागरिक अधिकारका आन्दोलनहरू, भियतनाम युद्ध र मतदान अधिकारका विषयहरु उर्लिएका बेला हुर्किएकी ह्यारिसमा त्यसबेलाको परिवेशले पनि थप बलियो बनाउँदै लग्यो । भारतको स्वतन्त्रताका लागि लडेको उनको मावली हुँदै अमेरिका पुगेर स्वतन्त्रता र न्यायका लागि आवाज उठाउने उनकी आमा श्यामला नै ह्यारिसमा न्यायका लागि विद्रोह भर्ने मुख्य औजार बन्यो ।

उनी सन् २०१० मा क्यालिफोर्नियाको पहिलो महिला महान्यायाधिवक्ता बनिन् । सन् २०१६ मा अमेरिकाको सिनेटर चुनिएर संसद् प्रवेश गरेकी उनमा संयुक्त राज्य अमेरिका हाक्ने आँट त्यहीँबाट पलाएको चर्चा गरिन्छ ।

सन १९४० को दशकमा भारतीय स्वतन्त्रता संग्राममा सामेल मावली हजुरबुबार पुस्ता, सन् १९७५ ताकाको भियतनाम र आलोस युद्धको असर र नागरिक स्वतन्तताको आवाज उठाएकी आमा श्यामला र सन् २००४ मा मार्टिन लुथर किङ्ग जुनियर स्वतन्त्रता मार्चमा सक्रिय सहभागिता जनाएकी ह्यारिस । रगतमै रोपिएको स्वतन्त्रताको आन्दोलनको बिजारोपण नै ह्यारिसले राष्ट्रपतिसम्मको यात्रा तय गर्ने मुख्य आँटको रुपमा लिने गरिन्छ ।

कलेजदेखि विश्वविद्यालयसम्म विभिन्न मुद्दाहरुमा हुने बहसले ह्यारिसलाई राजनीतिप्रतिको लगाव र आफ्ना मुद्दाबारे खरो बहस गर्ने बनाउँदै लग्यो । सन् २०१४ मा उनले कानुन व्यवसायी डग एमअफसँग दोस्रो श्रीमतीका रुपमा विवाह गरिन् । त्यसअघि नै २ सन्तानको रेखदेख गरिरहेका डग एमअफसँग विवाह र सौतेनी आमा बन्दाको विभिन्न प्रसंगबारे ह्यारिसले सन् २०१९ मा नै आर्टिकल लेखेकी थिइन् । त्यहाँ उनले ती दुई सन्तानले आफूलाई एमअफसँग विवाह गर्न प्रेरित गरेको र आमाको अभावमा बच्चाहरुलाई दिएको न्यानो बात्सल्यबारे बताएकी छिन् ।

ह्यारिसको जीवन केलाउने हो भने संघर्षसँग जुध्दै धेरै स्थानमा पहिलो बन्ने अवसर पाएकी छिन् । युनिभर्सिटी अफ क्यार्लिफोर्निया, ह्यास्टिङ्सबाट कानुनको अध्ययन पूरा गरेर उनी वकिल बनेकी थिइन् । उनले क्यालिफोर्नियाका विभिन्न जिल्ला सरकारी वकिलका कार्यालयहरूमा काम गरिन् । त्यसो त उनी सन् २०१० मा क्यालिफोर्नियाको पहिलो महिला महान्यायाधिवक्ता बनिन् । सन् २०१६ मा अमेरिकाको सिनेटर चुनिएर संसद् प्रवेश गरेकी उनमा संयुक्त राज्य अमेरिका हाक्ने आँट त्यहीँबाट पलाएको चर्चा गरिन्छ ।

उनी सन् २०२० कै राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा थिइन् । त्यो बेला पनि उनी राष्ट्रपतिको उम्मेदवार बन्ने अभियानमा संलग्न भइन् । सधैँ ह्यारिसको प्रशंसा गर्ने वर्तमान राष्ट्रपति जो बाइडेनले उनलाई ‘बुद्धिमान, कठोर, अनुभवी र प्रमाणित योद्धा’ को रुपमा चित्रण गर्ने गरेका छन् ।

डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवारका लागि मनोनीत भए पनि अन्तिममा बाइडेनले ह्यारिसलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएर चुनाव जित्ने मुख्य रणनीतिकार बनाउन सफल भए ।

बाइडेन–ह्यारिसको केमेस्ट्री मिलेकै कारण नै राष्ट्रपतिमा ट्रम्प र उपराष्ट्रपतिमा रिपब्लिकका माइक पेन्स पराजित हुन पुगे । त्यसबेला अश्वेत महिला रहेका कारण पनि त्यस फ्याक्टरले उनलाई सन् २०२० मा पहिलो महिला उपराष्ट्रपति बनाउन सफल बनायो ।

यता तेस्रोपटक राष्ट्रपतिको उम्मेदवार बनेका ट्रम्प सधैँ चर्चामा रहन्छन् । भडकाउपूर्ण अभिव्यक्ति दिने ट्रम्प जो अहिले उनै ह्यारिससँग प्रतिस्पर्धा गरिरहेका छन् । सन् १९४६ जुन १४ मा अमेरिकाका न्यूयोर्कस्थित किन्समा जन्मिएका ट्रम्प ठुला अर्बपति व्यवसायी हुन् । व्यवसायमा रमाइरहेका ट्रम्प सन् २०१६ मा एकाएक राष्ट्रपति निर्वाचित भएर विश्वलाई चकित बनाए ।

अमेरिकाको धनाढ्य व्यक्तिको सूचीमा अट्ने टम्प राष्ट्रपति हुनुअघि उनको परिचय रियल स्टेट व्यवसायी (जग्गा जमिनसम्बन्धी काम गर्ने) टेलिभिजन व्यक्तित्व, लेखक र राजनीतिज्ञका रुपमा स्थापित थियो । कलेज पढ्दैदेखि उनी आफ्ना पिताले सञ्चालन गर्दै आएका रियल स्टेट व्यवसायमा संलग्न भएका थिए । उनले सन् १९७३ देखि परिवारको व्यवसायको जिम्मा लिएका थिए ।
ट्रम्पका बुबा फ्रेड ट्रम्प जर्मन आप्रवासीका छोरा थिए र उनकी आमा मेरी एनी म्याक्लियोड ट्रम्प स्कटल्याण्डमा जन्मिएकी थिइन् ।

बुबासँग डोनाल्ड ट्रम्प

बेलाबेला विवादमा आइरहने ट्रम्पको भाषण उत्तेजक हुन्छ । तर तपाईंलाई सुन्दा अचम्म लाग्ला ट्रम्प अहिलेसम्म पनि धुमपान र मध्यपानबाट भने टाढा छन् ।

अत्यधिक मदिरा सेवनका कारण दाजु फ्रेड ट्रम्प जुनयरको ४३ वर्षको उमेरमै निधन भएपछि ट्रम्पले मदिरा र चुरोटबाट जीवनभर आफूलाई टाढा राखे ।

ट्रम्पका बुबा त्यसबेला नै न्यूयोर्कका घरजग्गा कारोबारका शक्तिशाली उद्योगपति भए पनि ट्रम्पले आफ्नो पिताको कम्पनीमा तल्लो तहमा समेत काम गरे । विद्यालयमा खराब व्यवहारका कारण ट्रम्पलाई १३ वर्षकै उमेरमा सैनिक विद्यालयमा पठाइएको थियो । उनले आफ्नो शैक्षिक अवस्था र शरीरको हड्डीको समस्याका कारण भियतनाम युद्दमा सहभागी हुन पाएनन् ।

सन् १९५९ सैनिक विद्यालय भर्ना भएर ५ वर्ष बिताएपछि आफूमा सैन्य प्रशिक्षणसँगै नेतृत्व क्षमतामा सुधार्न मद्दत मिलेको ट्रम्पले बताउने गरेका छन् । ट्रम्पका ३ श्रीमती छन् । ट्रम्पकी आफ्नी पहिलो श्रीमती इभानासँगका तीन सन्तान डोनल्ड जुनियर, इभान्का र एरिक छन् । त्यस्तै उनको दोस्रो श्रीमती मार्ला म्यापल्सले छोरी टिफनीलाई जन्म दिएकी छन् भने सन् २००५ मा उनले आफ्नो तेस्रो पत्नीका रूपमा मेलानियासँग विवाह गरे, जोसँग उनका एक छोरा ब्यारोन छन् ।

परिवारको साथ डोनाल्ड ट्रम्प

आफ्नो बुबालाई प्रेरणाको स्रोत मान्ने ट्रम्पले आफ्ना जेठा दाजुले पाइलट पढ्ने इच्छा गरेपछि व्यवसायमा ट्रम्पको इन्ट्री हुन पुग्यो । सानैदेखि व्यवसायप्रति लगाव राख्ने ट्रम्पले आफ्नो पिताको कम्पनीमा काम गर्नुअघि पितासँग १० लाख डलर ऋण लिएर घरजग्गाको काम थालिसकेका थिए । ट्रम्पले सन् १९७१ मा बुवाको कम्पनी आफ्नो मातहतमा लिएर ‘ट्रम्प अर्गनाइजेसन’ को नाम दिनुअघि आफ्ना पिताको न्यूयोर्कस्थित थुप्रै आवासीय परियोजनाहरुलाई व्यवस्थित गर्न मद्दत गरे ।

व्यवसायमा रमाइरहेका ट्रम्पको राजनीतिक इतिहास छोटो भएको चर्चा भइरहेको छ । तर बीबीसीका अनुसार ट्रम्पले सन् १९८७ मा नै राष्ट्रपतिको दौडमा उत्रिने इच्छा देखाएका थिए ।

उनी सन् २००० मा उनले रिफर्म पार्टीको उम्मेदवारको रुपमा चुनावी दौडमा प्रवेश पनि गरेका थिए । त्यस्तै ट्रम्प सन् २००८ मा उनी ‘बर्थर’ आन्दोलनका लागि सक्रिय सदस्य थिए । उक्त आन्दोलनले बाराक ओबामा अमेरिकामै जन्मिएका हुन् या होइनन् भन्ने ठुलो प्रश्न उठाएको थियो । तर पछि त्यो गलत सावित भयो । ट्रम्पले पछि चुनावी प्रचारप्रसारका क्रममा उक्त कुरा आफूले उठाएको स्वीकार गरे पनि माफी भने मागेनन् ।

र प्राइमरी इलेक्सनमा समेत कडा टक्करकाबीच जित हासिल गरेका ट्रम्पको हिलारी क्लिन्टनलाई हराएको जितले विश्वलाई चकित तुल्याएको थियो ।

विभिन्न राजनीतिक नेताहरुसँग उठबस रहेका कारण उनको थोरबहुत चर्चा हुने गरेकोमा उनले सन् २०१५ को जुन महिनामा आफू ह्वाइट हाउसको दौडमा रहेको खुलासा गरे । रिपब्लिक पार्टीको तर्फबाट उनी अघि सर्दै उनी राष्ट्रपतिको उम्मेदवार भएसँगै विश्वको ध्यान खिचिएको थियो ।

सन् २००५ ताका उनले महिलाहरुबारे व्यक्त गरेका भद्दा टिप्पणीदेखि उनकै पार्टीका सदस्यहरुले उनी ह्वाइट हाउसका लागि उचित नहुनेसम्मका प्रतिक्रियाहरु दिएका कारण उनी विवादित बनिरहे । तर प्राइमरी इलेक्सनमा समेत कडा टक्करकाबीच जित हासिल गरेका ट्रम्पको हिलारी क्लिन्टनलाई हराएको जितले विश्वलाई चकित तुल्याएको थियो । उनले सोही बेला पनि आफ्नो जितले राजनीतिक संस्थापनलाई धक्का दिने दाबी गर्ने गर्दथे ।

पहिलो प्रयासमै अमेरिकाको राष्ट्रपति बनेका उनको दोस्रो प्रयास भने सफल हुन सकेन । तेस्रोपटक उम्मेदवार बनेका ट्रम्पले अब हारको इतिहास दोहोर्याउलान् वा जितको, त्यो सबैको चासोको विषय बनेको छ ।

विभिन्न एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?