छठका लागि भारतबाट ५० लाखका केरा आयात

लोकपथ
21
Shares

महोत्तरी । जिल्ला सदरमुकाम जलेश्वरमा छठ पर्वमा बिक्री गर्ने उद्देश्यले व्यवसायीले भारतबाट ५० लाख बराबरका केरा भित्र्याएका छन् ।

आज जलेश्वरमा लाग्ने अन्तिम हाटबजारमा  ५० लाखको केरा ल्याइएको व्यवसायी गणेश साहले बताएका छन्  । पहिले पहिले  २०–२५ लाखसम्मको केरा ल्याइने गरिएकामा यस वर्ष  ५० लाखको केरा ल्याइएको अर्का व्यवसायी उतम साहले बताए ।

जलेश्वरमा केरा व्यवसाय गर्दै आएका पाँच–सात जना व्यापारीले सामूहिक रूपमै यसपालि २५ ट्रक केरा मगाएका छन भने उनीहरूले सो ट्रकलाई आपसमा आफूले गरेको लगानीका आधारमा बाँडेर बेच्ने गरेका छन् । विगत वर्षहरूमा १५ देखि २० ट्रकमात्र केरा आउने गरेको जलेश्वरमा यस वर्ष ४० ट्रक केरा भित्रिएको छ ।

ग्रामीण क्षेत्रबाट बसाइँसराइ र आन्तरिक रूपमै पनि जलेश्वरमा दिनानुदिन बढ्दै गरेको जनसङ्ख्यालाई मध्यनजर गर्दै यसपालि स्थानीय केरा व्यापारीले ५० लाखको केरा ल्याएको र सबै बिक्री हुने दाबी गरेका छन् । जलेश्वर बजारमा यसपालि केरा प्रतिघार छ-सात सयदेखि एक हजार, १५ सयसम्म बिक्री भइरहेको छ । 

बजारमा ल्याइएका गोपाल, मालभोग, वंशीभोग र मृचमान प्रजातिका केराहरू छन् । जलेश्वर नगरपालिकाको १२ वडालगायत वरपरका अन्य पालिकाका व्रतालु पनि जलेश्वर बजारमा केरा किन्न बिहानैदेखि बजार आएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?