बेनीमा सात जना सडकापेक्षीको उद्धार

लोकपथ
56
Shares

काठमाडौं । मानव सेवा आश्रमको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा अभियान टोलीले बेनी बजारबाट सात जना सडकआश्रित मानवको उद्धार गरेको छ । गत असोज २६ गते बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका गायिका आनी छोइङ डोल्माको नेतृत्वमा रहेको अभियान टोली मंगलबार बेनीमा आएको थियो । 

टोलीले बेनी बजारबाट सात जना सडकआश्रित मानवको उद्धार गरेर बागलुङ स्थित मानव सेवा आश्रममा लगेका सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले बताए । टोलीलाई बेनी नगरपालिकाको कार्यालयमा नगर प्रमुख सुरत केसी र उपप्रमुख ज्योति लामिछानेले स्वागत गरेका थिए । 

झापाको मेची पुलबाट सुरु भएको अभियान मार्फत बेनीका सात सहित एक सय ६९ जना सडकआश्रित मानवको उद्धार भएको मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए । सडकपेटी र सार्वजनिकस्थलमा कष्टपूर्ण जीवन बिताइरहेका सडक आश्रित सहयोगापेक्षीहरूको उद्धारका लागि मानव सेवा आश्रमले हरेक वर्ष मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा गर्दै आएको छ । 

मानवसेवा आश्रमको सात वटा प्रदेशका १९ जिल्लामा २५ वटा सेवा केन्द्र सञ्चालनमा छन् । उद्धार यात्राको खर्च आनीछोइङ डोल्मा फाउन्डेसनले सौजन्य गरेको छ । आश्रमले आगामी वर्ष अर्थात् २०८२ सालभित्र नेपाललाई सडकपेटी र सार्वजनिकस्थलहरुमा कष्टपूर्ण जीवनयापन गर्न नपर्ने मानिसहरूको देश निर्माण गर्ने सङ्कल्प गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?